PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

समृद्धिको यात्रा : ढुंगा फाल्दा जहाँ खस्छ, त्यही निसाना भनेको होइन, निसाना साँधेर ढुंगा फालेका छौँ - प्रधानमन्त्री ओली



समृद्धिको यात्रा : ढुंगा फाल्दा जहाँ खस्छ, त्यही निसाना भनेको होइन, निसाना साँधेर ढुंगा फालेका छौँ - प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लक्ष्यसहित समृद्धिको यात्रामा अगाडि बढेको बताएका छन्। शनिवार आफ्नो पुस्तक 'भिजन टु एक्सन' सार्वजिनक गर्दै ओलीले यस्तो बताएका हुन्।

'अहिलेसम्म के चल्याथ्यो, ढुंगा टिपेर फाल्यो जहाँ खस्छ त्यही निसाना साँध्या थिएँ भन्दियो। त्यस्तो होइन अहिले हामीले पहिले निसाना साँधेर ढुंगा फालेका छौँ,' ओलीले भने, 'हामीले हाम्रो उद्धेश्य के हो? कहाँ पुग्ने हो? लक्ष्य साँधेर अगाडि बढेका छौँ। समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यसहित काम अगाडि बढाएका छौँ।'

देशको भौगोलिक अवस्थिति नकरात्मक रुपमा चर्चा गर्न नहुने प्रम ओलीले बताए। 'दुई ठूला ढुंगाबीचको सानो तरुल। फैलिन नपाउला। फैलिन आवश्यक पनि छैन। यसैमा समृद्धि हासिल गर्न त पाउँछ नि। दुई ठूला देशबीचको सम्बन्ध सन्तुलन कायम गरेर समृद्ध हासिल गर्न सक्छौँ,' उनले भने, 'संसारको सबै ब्यालेन्स हामीले मिलाउनु पर्‍या छ। दुई ठूला देशबीचको सम्बन्धलाई पनि सन्तुलन मिलाउन पर्‍या छ। हामीले सन्तुलन कायम गर्नु छ। हामीसँग यत्रो मित्रहरु छन्। सहयोगी शुभेच्छुक छन्। दुनियाँमा लगानी कहाँ गरौँ भन्ने लगानीकर्ताहरु छन्। हामीले ती लगानीलाई भित्राउन सकौँ। जसले हामीले उत्पादन गर्न सकौँ। हामीले आयात होइन नियार्तकर्ता बन्न जरुरी छ।'

उनले सरकारको विरोध गर्नेहरुलाई 'परीक्षामा अर्काको कपी च्यातेर अगाडि बढ्ने' को रुपमा व्याख्या गरे। 'सँगै जाँच दिँदा अर्काको कपी च्यातिदिएर अगाडि आउने होइन। अरुको बिगारिदिएर आफू अगाडि बढ्ने होइन्, एक जना विद्वानले टिप्पणी गर्नु भयो। बाटा त नेपालमा बनेकै थिए। त्यही विकास त भएको हो नि?' उनले अगाडि भने, दिनको लगभग छ किलोमिटरको गतिले कालोपत्रो गरिरहेको छ। तुइन विस्थापन भएको छ। उर्जा उत्पादनमा वृद्धि भएको छ। सञ्चितीमा वृद्धि भएको व्यापार सन्तुलन अलिकति भए पनि बढेको छ।'

'हामीसँग विकासका सम्भावनाहरु छन्। अब विकासका सम्भावनाहरु मेट्नै नसकिने गरेका सम्भावनाहरु छन्। प्रकृति अत्यन्त समृद्धि छँदै छ। हामी दीगो विकास भन्छौँ,' प्रधानमन्त्री ओलीले भने, 'त्यसका सम्भावनाहरु सारै राम्रो छ। संकट आउन नपाउने गरी नहल्लिने खालको अर्थतन्त्र। हाम्रो देश अलि सानो छ। तर पनि अलि कति रिसेसनको हावा लाग्यो भने पनि नडग्मगाउने अर्थतन्त्र बनाउनु छ।'

उनले सम्भावना हुँदा हुँदै पनि देश पछि परेको बताए। 'हामीसँग ढुंगा छ माटो छ। काठ छ पराल छ। बाँस छ। खर छ। हामीसँग घर छैन। त्यसैकारण मैले देश गरिब छ। यहाँ कोही भोकै छैन। सरकारले जिम्मा लिन्छ। कोही भोकै नमर्ने,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell