PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जेठीमाइलीका छोरालाई झुक्याउँदै कान्छीका छोराले १७ रोपनी जमिन पारे आफ्नो पोल्टामा, जालसाजीमा वडाध्यक्ष पनि!



जेठीमाइलीका छोरालाई झुक्याउँदै कान्छीका छोराले १७ रोपनी जमिन पारे आफ्नो पोल्टामा, जालसाजीमा वडाध्यक्ष पनि!

  • फूलमान तामाङ-

चौतारा : मेलम्ची नगरपालिका वडा ६ तलामाराङका सुनबहादुर तामाङले आफ्ना बुवा जबरसिंह तामाङको निधन भएको उल्लेख गर्दै बुवाआमाको जिउनीमा रहेको जग्गा एकलौटी बनाएका छन्।

गत पुस १० गते मालपोत कार्यालयले जबरसिंहको नाममा रहेको जग्गा सुनबहादुरको नाममा नामसारी गरिदिए पछि जिउनी उनको नाममा एकलौटी भएको हो।

जबरसिंहको एकमात्र श्रीमती ठुलीकान्छी भएको र उनको पनि मृत्यु भइसकेको मुचुल्का बनाई सुनबहादुरले मालपोतबाट जग्गा आफ्नो नाममा फुत्काएका थिए।

ठुलीकान्छी सुनबहादुरकी आमा हुन्।

उनै सुनबहादुरविरुद्ध दमईसिंह तामाङले माघ ९ गते जिल्ला अदालत चौतारामा मुद्दा दायर गरेका छन्।

आफू जबरसिंहको जेठी श्रीमती खावा पट्टीको छोरा भएको दाबी गर्दै जिउनीमा सुनबहादुरले जालसाजी गरेको आरोप दमईसिंहको छ।

उक्त मुद्दामा मेलम्ची नगरपालिका ६ का वडाध्यक्ष जितराज थापा पनि प्रतिवादी छन्।

साविक तलामारङ गाविस वडा ३ का दमईसिंहले जालसाजीमा सुनबहादुरसहित मुचुल्कामा हस्ताक्षर गर्नेहरु, वडा सदस्य सुर्यबहादुर तामाङ र वडाध्यक्ष थापा संलग्न रहेको किटानीसहित मुद्दा दायर गरेका छन्।

दमईसिंहका अनुसार जबरसिंहका तीन श्रीमती थिए। दमईसिंह जेठी पट्टीका छोरा हुन्। माइली सेर्की हुन्। उनी पट्टीका छोराको निधन भइसकेको छ। सुनबहादुर कान्छी पट्टीका छोरा हुन्।

उनै सुनबहादुरले पुस १० गते वडा सदस्य सुर्यबहादुरको रोहवरमा मुचुल्का उठाई जबरसिंहको मृत्यु भएको र उनको नजिकको हकदार श्रीमतीको पनि मृत्यु भएपछि नजिकको हकदार आफै भएको दाबी गरी जमिन हत्याएका हुन्।

सुनबहादुरले साबिक तलामाराङ वडा ३ मा रहेको १७,५१,९२,१२६,७०७ र ७२५ कित्ता नम्बरका जग्गा आफ्नो नाममा नामसारी गरे। करिब १७ रोपनी जमिन वडाध्यक्ष थापाकै मिलेमतोमा सुनबहादुरले एकलौटी पारेको दमईसिंहको आरोप छ। खेत र बारीसहित ७ लाख २६ हजार बराबरको जग्गा हडपेको उजुरीमा उल्लेख छ।

मालपोत कार्यालयबाट नामसारी गरेर ल्याएपछिमात्र आफूले थाहा पाएको र मुद्दा दायर गरेको दमईसिंहले बताए।

सुनबहादरलाई स्थानीय सुर्जबहादुर तामाङ, सुकुमान तामाङ, बुद्धिबहादुर तामाङ, कामीदोर्जे तामाङ, म्हेन्दो तामाङ, बागसिङ तामाङ, सुबाइसिङ तामाङलगायत इत्यादिले वडा मुचुल्कामा हस्ताक्षर गरेका छन्।

'माइली आमा पट्टीका नातिहरु नि छन्। मेरो नि छोरा छ। बुवा को जिउनी अंश त सबैले बराबर पाउनु पर्छ नि। ढाँटेर छलेर, पेलेर कीर्ते गरेको र वडाध्यक्षले पनि थाहा भै भै सिफारिस दिएछ,' दमईसिंहले भने।

वडाध्यक्षले घरपरिवारका सबै कुरा थाह भएर पनि कीर्ते काममा साथ दिएको उनको आरोप छ। दमईसिंहले भन्छन्, 'यहाँ कै जनप्रतिनिधि। कसको घरमा कति जहान छ भनेर त थाहा हुन्छ। यसरी सिफारिस दिन त मिलेन नि।'

तामाङले माघ १० गते वडाध्यक्ष थापा लगायतविरुद्ध मुद्दा दर्ता गराएको थियो।

सुनबहादुरसहित विपक्षी सबैलाई अदालतमा उपस्थित हुन अभियोग पत्र पठाइसकेको र ३५ दिनभित्र उपस्थित नभए प्रक्रिया अनुसार कारबाही गर्ने जिल्ला अदालतले जनाएको छ।

यसो भन्छन् वडाध्यक्ष

वडा ६ का अध्यक्ष जितराज थापाले आफूले मुचुल्काको आधारमा सिफारिस गरेको दाबी गरे।

'बुवाआमाको मृत्यु भएको सही नै हो। छुट्टीएर बसेको पनि हो। अनि मुचुल्का पनि आयो। त्यही भएर नै सिफारिस दिएँ,' थापाले भने। त्यसमा वडा सदस्यले मुचुल्कामा हस्ताक्षर गरेको पाइएकाले विश्वासकै आधारमा आफूले सिफारिस दिएको थापाको दाबी छ।

वडासदस्य सुर्यबहादुरले भने सुनबहादुरले जिउनी दिनु पर्ने जमिन नभएको भनी विश्वस्त तुलाएपछि पछि वडा मुचुल्कामा हस्ताक्षर गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell