PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा शुरू, प्रचण्डले गरे उद्घाटन



सुमित मिश्र

मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा शुरू, प्रचण्डले गरे उद्घाटन

जनकपुरधाम : मिथिलाञ्चलको महाकुम्भ मानिने यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मिथिला माध्यमिकी परिक्रमा आइतवार बिहानदेखि शुरु भएको छ। फागुन औशीदेखि पुर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरी १ सय २० किलो मिटर भूभागको यात्रा गरिन्छ।

आजको दिन धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट झाकी किर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ। र, यहाँबाट जानकीको डोला र जनकपुरका अन्य मठमन्दिरबाट ल्याइएका डोलाहरु समेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिथिलाबिहारी भगवानको डोला उठाउँदै परिक्रमाको उद्घाटन गरेका छन्। हेलिकप्टरबाट प्रचण्ड मिथिलाबिहारी मन्दिर पुगेका थिए। यस्तै उनी चढेर आएको हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो।

मिथिलाञ्चलको वृहत, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ। डोलामा पछिपछि परम्परागत बाजाँगाजा, झाकी किर्तनसहितका मौलिक पहिरनमा लाखौँ नारी-पुरुषहरु सहभागी हुने गर्छन्। लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरुको परिक्रमा गर्ने गरिन्छ।

१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन जनकपुरको अन्तर गृहपरिक्रम गरी मध्य परिक्रमा सम्पन्न हुने गर्दछ।

रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्टबाट मुक्ति एवं नोवाञ्छित फल प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ।

परिक्रममा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी लगायत भारत बिहारको सितामढी, मधुबनी, दरभंगा सहितका स्थानबाट हजारौँ श्रद्धालु भक्तजन तथा साधुसन्तहरु सहभागी हुने गर्दछन्। परिक्रममा प्रायः जसो वृद्धवृद्धाहरुको बढी सहभागिता हुने गरेको छ।

परिक्रमाका क्रममा टायर गाडा, साइकल र टाउकोमा बन्दोबस्तीको समान लिएर प्रत्येक दिन स्थान परिवर्तन गरी बास बस्ने, भुँइ खनेर चूल्हो निर्माण गर्ने, खाना पकाउने, भजन किर्तन लगायतका कार्यहरु गर्ने गरिन्छ। रात्री विश्राम गर्नै पान्ध्रौँ स्थलहरुमा स्थानीयहरुले मेलाको आयोजन गर्ने गर्दछन्।

त्यस्तै परिक्रमामा सहभागी श्रद्धालु भक्तजनहरुलाई स्वागत गर्न दुई दिन अघिदेखि नै तयारी हुने गर्छ। स्थानीयले साँस्कृतिक कार्यक्रमहरुसमेत अयोजना गर्ने गर्दछन् भने पुन्य कमाउन एवं सेवा दिन विभिन्न संघ संस्था तथा व्यक्तिहरुले निःशुल्क भोजन, स्वास्थ्य शिविर र आवासको व्यवस्था गर्ने गर्दछन्।

नेपाल र भारतको सामाजिक सद्भावको सेतुको रुपमा रहेको यो परिक्रमाले धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्वको परिचय दिने गर्छ। त्यस्तै यसले आर्थिक टेवा समेत पुर्‍याउने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell