PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लागुऔषध दुर्व्यसनीसँगै बढ्यो सुरक्षा चुनौती



सुमित मिश्र

लागुऔषध दुर्व्यसनीसँगै बढ्यो सुरक्षा चुनौती
Photo: hopkinsmedicine.org

जनकपुरधाम : धनुषामा लागुऔषध दुर्व्यसनीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक र लागुऔषध दुर्व्यसनमा लागेकाहरुको उपचारका लागि स्थापना गरिएको सामुदायिक पुनःस्थापना केन्द्रको तथ्यांक हेर्दा धनुषामा दुर्व्यसनीहरुको संख्या बढेको देखिएको हो।

धनुषा जिल्लाभरीमा मदिरा, गाँजा, भाङ, कोरेक्स र अन्य नशालु ट्याबलेट सेवन गर्ने युवाहरुको संख्या लगभग १० हजार रहेको पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक सन्देश पराजुलीले जानकारी दिए।

यता विगत केही वर्षयता लागुऔषध कारोबारमा संलग्न भएकाहरुलाई पक्राउ गर्ने अभियानलाई जिल्ला प्रहरी कार्यालयले तीव्र बनाएको छ। प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा ५७ जना, २०७२/०७३ मा ३६ र  वर्ष २०७३/०७४ मा ५१ जनालाई पक्राउ गरिएको थियो। त्यसैगरी चालु आर्थिक वर्षको माघ महिनासम्ममा अन्त्यसम्ममा ५७ जना लागुऔषध कारोबारी तथा दुर्व्यसनमा लागेकालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले केही वर्षदेखि लागुऔषधविरुद्ध अभियान तीव्र बनाएपछि मात्रै लागुऔषध कारोबारी तथा दुर्व्यसनमा लागेकाहरुको संख्यामा वृद्धि भएको देखिएपनि यो अवस्था पहिल्यैदेखि नै विकराल रहेको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए। प्रहरी उपरीक्षक बस्नेतले प्रहरीले दुर्व्यसनमा लागेका युवाहरुलाई पक्राउ मात्रै गरेर नभइ उनीहरुको अभिभावकहरुलाई समेत आ–आफ्नो बालबालिकामा निगरानी बढाउन तथा उनीहरुको क्रियाकलापमाथि ध्यान दिन आग्रह गर्दै आएको बताए। उनका अनुसार जिल्लामा दुर्व्यसनीको संख्या बढ्दै जाँदा सुरक्षा चुनौती समेत बढेको छ।

प्रहरी उपरीक्षक बस्नेतले आफूहरुले प्रत्येक हप्ताको शुक्रवारका दिन कुलतमा फसेकाहरुलाई एक स्थानमा भेला गराइ लागुऔषधले शारीरिक, आर्थिक र सामाजिक रुपले पुर्याएको नकारात्मक असरहरुका बारेमा जानकारी दिने गरेको बताए। खुल्ला सीमानाकाका कारण लागुऔषध जस्ता विकृतिमा लाग्न युवाहरुलाई झन् बढी सहयोग पुर्‍याइरहेको प्रहरी उपरीक्षक बस्नेतको भनाइ छ।

यता लागुपदार्थ दुर्व्यसनीहरुको संख्यामा वृद्धि भएपनि सुधार गृहमा उपचार गराउन आउनेहरुको संख्या भने न्यून रहेको देखिन्छ। गृहमा अहिले ३५ जना कुलतमा फसेकाहरु उपचाररत छन्। दुर्व्यसनमा लागेकाहरुले घरभित्र र बाहिर चोरी, कुटपिट, होहल्ला जस्ता नकारात्मक घटनामा उत्रिएपछि मात्रै अभिभावकले सन्तानलाई उपचारका लागि सुधार गृह ल्याउने गरेको पुनःस्थापनाका कार्यक्रम संयोजक पराजुलीले जानकारी दिए।

सुधार गृहले दुर्व्यसनीहरुलाई शुरुको ३ महिनादेखि ६ महिनासम्म अण्डर ट्रिमेन्ट गर्ने गरेको संयोजक पराजुलीले बताए। पराजुलीका अनुसार त्यसपछि उनीहरुलाई विभिन्न किसिमका उत्प्रेरणा जगाउने खालको क्रियाकलाप गराउने, मनोपरामर्श दिने गरिन्छ। उनले कुलतमा फसेकाहरुको पुरानो संगत छुट्टाउनकै लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सुधार गृहमै राख्ने, खानपान गराउने र नयाँ नयाँ साथी बनाउन उत्साहित गरेर कुलतबाट निकाल्न प्रयास गर्दै आएको बताए। सुधार गृहबाट सुधार भई घर गएकाहरुमध्ये पनि पुनः दुर्व्यसनमा लाग्ने गरेको उनले जानकारी दिए।

युवाहरु लागुऔषध जस्ता कुलतमा फस्नुको मुख्य कारण गलत संगत र अभिभावकले सन्तानको क्रियाकलापमाथि ध्यान नदिनु नै रहेको सरोकारवालाहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell