PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विमानस्थलमा पार्किङ नहुँदा कतार एयरवेजले घाटा बेहोर्नु परेको राजदूतको गुनासो



विमानस्थलमा पार्किङ नहुँदा कतार एयरवेजले घाटा बेहोर्नु परेको राजदूतको गुनासो
फोटो : सभामुखको सचिवालय।

काठमाडौं : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल-हेलले सोमवार शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत युसुफले सभामुख सापकोटालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद पनि ज्ञापन गरे।

सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटबलको सफलताको शुभकामना समेत दिए। उनले विश्वव्यापी रुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्त रुपमा पहलकदमी लिनुपर्ने बताए।

भेटमा राजदूत युसुफले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलको तयारीमा नेपाली श्रमिकले ठूलो योगदान गरिरहेको बताए। उनले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एयरवेजले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै यहाँको एयरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताए।

राजदूत युसुफले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताए। उनले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

‘हामीले नेपालमा क्रिकेट रंगशाला निर्माणमा पनि सहयोग गर्न चाहेका छौं,’ राजदूत युसुफले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell