PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जुत्ता पालिस गर्दै शुरु भएको सांगीतिक यात्रा : इन्डियन आइडल जित्दै पूरा गरे हिन्दुस्तानीले आमाबुबाको सपना



जुत्ता पालिस गर्दै शुरु भएको सांगीतिक यात्रा : इन्डियन आइडल जित्दै पूरा गरे हिन्दुस्तानीले आमाबुबाको सपना
PHOTO : SONY PR

बाटोको एउटा कुनामा बसेर जुत्ता पालिस गर्थे सनी हिन्दुस्तानी। काठको चार पाटे बक्सामा जुत्तामा लगाउने फरकफरक रङका पालिस, ब्रस र सियो धागो बोकेर गल्ली गल्ली चहार्थे। त्यसैबाट भएको आम्दानीले चल्थ्यो परिवार।

सफा गर्नका लागि जुत्ता नहुँदा बस वा ट्रेन स्टेसनमा बसेर गीत गाउथे। गुजारा चलाउनकै खातिर।

आजभन्दा ८ महिनाअघि सनीले खबर सुने- इन्डियन आइडलको अडिसन हुँदैछ, पञ्जावमा।

इन्डियन आइडलको त्यो मञ्च, गाउनेहरुले पाउने अवसर र जित्नेका लागि घोषित पुरस्कारले सनीलाई पनि लोभ्यायो। गायन सम्बन्धी औपचारिक शिक्षा र सिकाइ थिएन। तर गाएको सुनेका साथीहरुले उनलाई रियालिटी शोहरुमा भाग लिन घच्घचाउँथे। रहर थियो तर अभावले गर्दा आत्मविश्वास जाग्नै सकेन। त्यस्ता कार्यक्रमहरुको फारम भर्ने पैसा समेत हुँदैनथ्यो उनीसँग।

बेलुन बेचेर सय, पचास कमाउने आमा सोमा मलिकसँग पैसा माग्ने आँट कहिल्यै गरेनन् सनीले।

एकदिन निकै मिल्ने साथीले उनलाई पैसा सापटी दिने वचन राखेपछि बल्ल निर्णय गरे, इन्डियन आइडलमा अडिसन दिने।  

सोचेका थिएनन् त्यही सापटी र निर्णयले उनलाई ११ औं इन्डियन आइडल बनाउँछ भन्ने। सडकको छेउ कुना खोज्दै अरुको जुत्ता सफा गर्न बस्ने केटो आफ्नो ठाउँ बठिंडा र पञ्जावको शान बन्छ भन्ने अनुमान पनि कमैले गरेका थिए।

जब इन्डिन आइडलमा उनको पहिलो अडिसन प्रसारण भयो तब उनको चर्चा चल्न समय लागेन। उनको गायन र संघर्षको कथा सामाजिक सञ्जालमा भाइरल भने।

त्यसयता इन्डियन आइडलको हरेक भागमा निर्णायकहरुबाट तारिफ पाए, दर्शकबाट भोट अनि उत्तिनै अवसरहरु पनि। हिमेश रेशमियाका लागि दुई गीत, इमरान हास्मी, अमित कुमार स्टुडियो, फिल्‍म पंगा, बप्पी लहरीको लागि एकएक गीत इन्डियन आइडल प्रसारण भइरहँदा नै गाउने मौका पाए।

गत आइतबार इन्डियाको सबैभन्दा ठूलो गायन रियालिटी सो मानिने इन्डियन आइडलको मञ्चमा फाइनलिस्ट बनेर उभिएका थिए रोहित श्याम राउत र सनी हिन्‍दुस्तानी। दर्शकदीर्घामा गुञ्जिरहेको थियो 'सनी सनी'। जब गायक आदित्य नारायण झाले विजेता घोषित गरे तब सनी दुई हात टाउकोमा राख्‍दै थचक्क बसे र भुईंमा पटकपटक ढोगे। ताली र चिच्याहटले माहोलमा रौनक थप्यो। दर्शकदीर्घामा रहेकी सनीकी आमाको गह भरिएको दृश्य पर्दामा देखियो। उनले पनि सायदै सोचेकी थिइन्- आफ्नो छोरा कुनै दिन त्यो मञ्चमा पुग्छ र गाएरै पच्चिस लाख, कार र अवसरहरु जित्छ भन्ने।

सनीका बुबा मनकराम पनि खुब गीत गाउथे। गरिबीले उनलाई पनि मञ्च कहाँ दियो र? परिवार चलाउन जुत्ता सिलाउने र सफा गर्ने काम गर्थे। माइक समाउने सपनालाई ब्रस र पालिस चलाउनु पर्ने बाध्यताले जित्यो सधैं। उनले जिउने संघर्ष गर्नु पर्‍यो गाउनै पाएनन्।

आफ्नो बुबाले गरेको दु:ख र त्यागेको रहर बारे सनीले इन्डियन आइडलकै मञ्चमा चर्चा गरेका छन्।

सनी ७ वर्षको हुँदा बुबा मनकराम र आमा सोमाले उनलाई राजस्थानी मेलामा लगेका थिए। त्यहीँ हो सनीले पहिलो पटक कवाली सुनेको। नुसरत फतेह अलि खानको आवाजले उनलाई यति मुग्ध बनायो कि उनले घर फर्किएपछि उनका गीत खोजी खोजी सुन्न थाले। सुनेर मात्र चित्त बुझेन गाउन पनि थाले। अलि अलि गाउन जानेपछि मन किन थामिन्थ्यो? दुरुस्तै उतार्न कोशिश गरे।

बुबाले जुत्ता सिलाएरै भएपनि स्कूल पठाएका थिए सनीलाई। स्कूलमा साथीहरुको भिडमा उभिएर खुब गाउथे घरमा सिकेको गीत। शिक्षकहरुले प्रशंसा गर्दा खुशी हुन्थे। उनले सपना देख्न थालिसकेका थिए धेरै पढ्ने, सफल गायक बन्ने।

तर, उनी १४ वर्षको हुँदा बुबा मनकरामको निधन भयो। कक्षा ६ मा पढ्दापढ्दै धेरै पढ्ने सपनामा ब्रेक लाग्यो। पितृ शोकले लगाएको घाउँ निको नहुँदै उनी बाध्य भए बुबाले छाडेर गएको पालिस र ब्रसको काठे बाकस बोकेर सडकपेटीमा उत्रन।

गाउने हुटहुटीले भने उनलाई गल्लीदेखि स्टेसनहरुसम्म पच्छ्याइ नै रह्यो। उनी छाक टार्ने मेसो पूरा गर्न गाउथे। कहिल्यै सोचेनन् - त्यही गायकी उनको लागि कुशल रियाज बन्छ भन्ने। जसले उनलाई सफलताको ठूलो मञ्चमा उभ्यायो र सफल घोषित गरायो।

सनीको गायनी मन पराउनेको त कमी छैन। साथै उनको मिहेनत र गायनप्रतिको लगाव धेरैका लागि प्रेरणा बनेको छ। बठिंडाको सानो गल्लीबाट निस्किएर उनले कलाकारहरुको सपनाको नगरीमा बेग्लै पहिचान र स्थान स्थापित गरेका छन्। उनले आफ्नो मात्र होइन स्वर्गीय बुबा, संघर्षशिल आमा र आफूमाथि विश्वास राख्ने साथीहरुको सपना पूरा गरेका छन्।

ती साथी जसले अडिसनको फारम भर्न पैसा सापटी दिए उनलाई खुशी दिएर पैचो तिरे, सायद्।

सनीले फिनालेको मञ्चमा भनेका थिए,'मेरी आमा मलाई खुवाउन छिमेकीसँग चामल माग्थिन्। मलाई निकै नरमाइलो लाग्थ्यो त्यो क्षण। अब त्यो दिन नफर्केनु नै मेरो जित हो।'

कार्यक्रममा अतिथि रहेका अभिनेता आयुष्मान खुरानाले पनि उनको तारिफ गर्दै भनेका थिए,'यति प्रतिभावान छोराकी आमा सायद संसारकै धनी आमा हुन्।'  

उनले विजेतालाई टी-सीरीजको आगामी फिल्ममा गाउने अवसर प्रदान गर्ने बताए। पच्चिस लाखको चेक सोनी इन्टरटेन्मेन्टको तर्फबाट।  टाटाको कार। टि सिरिजको नयाँ फिल्ममा गाउने मौका पनि।

'यो सबैको हकदार मेरी आमा हुन्', सनीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell