PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यतीको केक देखेर प्रधानमन्त्रीलाई जन्मघरले नचिनेको मीनेन्द्र रिजालको दाबी, 'प्रधानमन्त्रीज्यू तपाईको सर्वाङ्ग गन्हाउँदैछ'



यतीको केक देखेर प्रधानमन्त्रीलाई जन्मघरले नचिनेको मीनेन्द्र रिजालको दाबी, 'प्रधानमन्त्रीज्यू तपाईको सर्वाङ्ग गन्हाउँदैछ'
फोटो : रासस

काठमाडौं : नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले जन्मदिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझाम गरेकोमा आपत्ति जनाएका छन्।

आजको सांसदमा कांग्रेस नेता रिजालले यतीको केक देख्दा प्रधानमन्त्रीलाई जन्मघरले समेत नचिनेको दाबी गरे।

'जन्मदिनको दिन प्रधानमन्त्रीको पुरानो घर देखियो। आफ्नै आँगनको केटोले कीर्तिमान राजनीतिक यात्रा गर्‍यो होला भन्ने भयो होला घरलाई,' रिजालले भने, 'तर चारपाँच हेलिकप्टर लगेर जाँदा घरलाई लाग्यो होला महाराज सवारी भयो होला। त्यो घरको आत्माले चिनेन होला।'

रिजालले केक लगेर यतीको हेलिकप्टर पुग्दा घरले अपमानित महसुस गरेको बताए। भने, 'तपाईले एक निमेष घर अगाडि उभिएर आफ्नो अन्तरमनलाई सोध्नुभयो। प्रधानमन्त्रीज्यू? तपाई कुन लोकमा हुनुहुन्छ? जनता कुन लोकमा हुनुहुन्छ? यती होल्डिङको पैसा र हेलिकप्टर पुर्‍याएको केक देख्दा त्यो घरले अपमानित महसुस गर्‍यो होला। घरले सम्झ्यो होला। अझ नराम्रोसँग अपमानित भएँ। मेरो केटोलाई स्वागत गर्न बसेको थिएँ।'

उनले प्रधानमन्त्री ओलीलाई मदन भण्डारीको आत्मालाई शान्ति दिने बाटोमा लाग्न सुझाए। रिजालले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने प्रधानमन्त्रीका मन्त्रीले घुस प्रकरणमा मुछिनु लाजमर्जो भएको बताए।

'राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी। अहिले थरीथरीका श्रीपेच लगाएका कमरेड मित्रहरु देख्दा के भन्दै होलान मदन भण्डारी?'  

उनले न्यारोबडी वाइडबडी जाहाजमा अख्तियारले दोषी टुंग्याएर कार्बाही गर्न माग पनि गरे। रिजालले प्रधानमन्त्रीको जन्मदिनमा उन्माद देखिएको बताए।

सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै रिजालले प्रधानमन्त्रीको सर्वाङ्ग गन्हाउन थालेको बताए। उनले भने, 'प्रधानमन्त्रीजी शंकाको सुविधा दिन थाल्नुभयो। काँधमा सवारले पो तुर्क्याएको रहेछ। प्रधानमन्त्रीले होइन। तर प्रधानमन्त्रीज्यू सर्वाङ्ग तपाईको गन्हाउँदैछ। संसदमा आउनुस्। विश्वस्त तुल्याउनुस् भ्रष्टाचार हुँदैन भनेर।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell