PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गोकुललाई बलिको बोको बनाएको आरोप लगाउँदै गगनले प्रम ओलीलाई भने, 'तपाईंले शासन गर्ने वैधता गुमाइसक्नुभयो'



गोकुललाई बलिको बोको बनाएको आरोप लगाउँदै गगनले प्रम ओलीलाई भने, 'तपाईंले शासन गर्ने वैधता गुमाइसक्नुभयो'

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले सेक्युरिटी प्रेस खरिदबारे भएको घुस प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनुपर्ने माग गरेका छन्। मंगलवारको संसदमा थापाले यस्तो माग गरेका हुन्।

थापाले भने, 'सञ्चारमन्त्री गोकुल बाँस्कोटा र एजेन्ट विजय मिश्रबीचको कुराकानी हामीले फागुन ९ गते सुन्यौ। हामीले सुन्नुअघि नै एकमहिना अघि प्रधानमन्त्रीले सुन्नुभएको दाबी सञ्चारमाध्यममा आएका छन्।'

यसबारेमा संसदमा उभिएर जवाफ दिन माग गर्दै थापाले प्रधानमन्त्रीले संसदको सामना गर्नैपर्ने बताए। 'यसको बारेमा आँखामा आँखा जुधाएर संसदमा उत्तर दिने प्रधानमन्त्रीसँग यो हिम्मत छ कि छैन? प्रधानमन्त्रीसँग नभए संसदसँग हुनैपर्छ,' थापाले भने, 'डाँडाकाँडा डुलेर बस्ने हैन। तालतलैया घुमेर बस्ने हैन। सदनमा उभिनैपर्छ। हाम्रो प्रश्नको सामना गर्नुपर्छ। सदनमा हामी निम्छरो प्रश्न सोध्दैनौ। सभामुखसँग प्रधानमन्त्रीलाई सदनमा रुलिङ गर्न आग्रह गर्छु।' 

थापाले प्रेस खरिद प्रकरणबाहेक अन्य ठेक्कामासमेत सरकार सामेल रहेको आरोप लगाए। 'उहाँका आसेपासेले भन्न थालेका छन् : प्रधानमन्त्रीलाई केही थाहा छैन। प्रधानमन्त्रीको चुलो चलाइदिने, प्रधानमन्त्रीको तुलोमा राख्दा कसैलाई नभ्याउने? भन्ने प्रधानमन्त्रीको कुरा पत्यादिनुपर्ने हामीले,' थापाले भने, 'नागरिकले भन्न थालेका छन् स्याटालाइटदेखि अप्टिकल फाइबर विस्तार र फ्रि इन्टरनेटको सबैको ठेक्कामा सम्माननीय प्रधानमन्त्रीजीलाई सबै कुरा थाह थियो। परिस्थिति नियन्त्रण बाहिर गएपछि गोकुल बास्कोटालाई बलिको बोको बनाइयो भन्दैछन्।'

थापाले प्रधानमन्त्रीजी भ्रष्टाचारको मुख हेर्न बालुवाटारमा एना छ कि छैन भनेर नागरिकले प्रश्न गरेको सन्दर्भसमेत उठाए। उनले अहिले प्रधानमन्त्री ओली यतीवादी भएको आरोपसमेत लगाए। भने, 'तपाईकै नेताहरु कानेखुसी गर्दै भन्छन्, 'हाम्रा प्रधानमन्त्री जी पहिले मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो। बीचमा समाजवादीजस्तो देखिनुभयो। अहिले प्रधानमन्त्री यतीवादीमात्र देखिन थाल्नुभयो भन्छन्।'

प्रधानमन्त्रीले धेरै कुरा थाह पाएर पनि थाह नपाएजस्तै गरी बसेकाले शासन गर्ने वैधतासमेत गुमाईसकेको गगनको दाबी रह्यो। उनले भने, 'तपाईले केही कुरा थाह पाउनुभएको छैन भने यो तपाईको अक्षमता हो। शासन गर्ने वैधता तपाईले गुमाइसक्नुभयो। सम्मननीय प्रधानमन्त्रीज्यु नेपाल कम्युनिस्ट पार्टीको स्वास्थ्यको लागि र सिंगो देश नेपालका लागि तपाईं स्वास्थ्य लाभ गर्न गइदिनुस्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell