![यी तिनै हुन् जो ज्यूँदो छन् कुकुरका लागि](https://pahilopost.com/assets/upload/contentthumb/PRA12802.jpg)
जब साँझ पर्छ तब उनी वसन्तपुरतिर हान्निन्छन्। काँधमा दुई झोला अनि दुवै हातमा पोकापुन्तरा। अघि बढ्न खोज्छन् तर वरपर घेर्ने कुकुरहरूले हिँड्न दिए पो त!
झोलाबाट बिस्कुटका टुक्रा निकालेर अलि पर फाल्छन्। सबै कुकुर त्यतैतिर झुम्मिन्छन्। अनिमात्र पाइला अघि बढ्छ उनको। केही कुकुर चाहिँ उनी जता जान्छन् त्यतै लाग्छन्, पुच्छर हल्लाउँदै।
वसन्तपुरमा रहेको भैरवको ठूलो मूर्ति अघिल्तिर परेवालाई चारा छर्ने ठाउँमा पुग्छन् र आडैमा टुसुक्क बस्छन्। हात चाट्ने अनि दुवै खुट्टा उचाल्दै झोला नङ्ग्र्याउन आउने कुकुरहरूलाई मायालु लवजमा भन्छन्- 'पख् न पख्।'
'तँलाई काँचो मासु मन पर्दैन है?'
'झोला बिसाउन त दे।'
बुझे झै गर्छन् कुकुरहरु। अनि पर्खन्छन् पनि।
एउटा झोलामा काँचो मासु, अर्कोमा पकाएको। बिस्कुट बेग्लै प्लास्टिकमा।
रुपकलाई थाहा छ - कुन कुकुरले काँचो मासु रुचाउँछ, कुन चाहिँले पकाएको। सबैलाई पालैपालो बाँड्छन्। चार पाँच बोतल ‘मिनरल वाटर’ प्लास्टिकको बाटामा खन्याउँदै एकोहोरो पारामा बोल्छन् - ‘सिनित्तै पार्यो। देख्यौ? म भएन भने भोकै पर्छौ तिमीहरू।'
हरेक साँझ उही समय, उही ठाउँ। कुकुरको संख्या थपघट् होलान् तर उस्तै प्रेम। सधैं न्यानो बाँडिरहेका भेटिन्छन् उनी। अर्थात् रुपक दर्शनधारी।
बिहान कागलाई मासु अनि परेवालाई चारा दिन निस्कन्छन्। दिउँसो न्युरोड, बसपार्क, रत्नपार्क, नारायणहिटी आसपास भेटिने कुकुरलाई बिस्कुट र मासु खुवाउँदै हिँड्छन्। अनि राति सडकमा छाडिएका गाई र मन्दिरमा चढाइएका बोकाहरूको पालो।
दिनभर बोकेर हिँड्ने भारी साँझ वसन्तपुर आएर बिसाउँछन्। उनलाई देख्दा लाग्छ – सामानसँगै पीडा बिसाइरहेका छन्।
अनि एक चरण खाना बाँड्छन्, आफूभित्रको प्रेम बाँडे झै।
त्यसपछि हरियो रङको थोत्रो मन्डी भुईँमा बिछ्याउँछन्। त्यसैमा बस्छन्। त्यसपछि खोल्ने झोलाहरूमा भने मासु वा बिस्कुट हुँदैन।
यस पटक फोनका कभर, इयरफोन, चार्जर, डाटा केबल आदि निकाल्छन्। अघिल्तिर बिछ्याएको पत्रिकामा राख्छन्। सामान मिलाउँदै कुकुरहरूलाई हेर्छन् र भन्छन्- 'खाइस्? सबै झोलामा तिमीहरूकै खानेकुरा मात्र हुन्छ? पसल राख्न परेन?'
उनलाई थाहा छ - ती प्रश्नका जवाफ आउनेवाला छैन। फेरि 'पसल'को सामान फिँजाउन लाग्छन् उनी।
फुटपाथको यही अस्थायी पसल नै उनको आम्दानीको स्रोत हो जसबाट कुकुर, काग, गाई अनि मन्दिरमा चढाइएका बोकाहरूको पेट भर्छन्। उनलाई सधैँ त्यहाँ देख्नेहरूले फाट्टफुट्ट बिस्कुट ल्याएर दिन्छन्। सय/पचास रुपैया सहयोग गर्नेहरु पनि छन्। त्यसबाहेक आयको अरू स्रोत छैन।
छ वर्ष भयो - जति हुन्छ त्यतिमा चित्त बुझाएको। जसरी सकिन्छ त्यसरी पेट भरेको- आफ्नो अनि सयौँ जनावरको।
रुपकलाई भोकै बरालिनुको पीडावोध छ। सडक अनि सत्तलहरूमा रात बिताउँदाको क्षण भोगेका छन्। तर, अभाव र अप्ठ्याराभन्दा माथि मान्छे हुनुको अर्थ महसुस गरेरै जनावरका अभिभावक बनेका छन्।
+++
उनका बुबा लुगा सिलाउँथे। आमा राजदरबारमा पिएन। दुई जनाको कमाइले दश जनाको परिवार चलाउन धौधौ। त्यसैले रुपकलाई फुपूले आफूसँगै लगिन्।
बुबा आमासँग भएका सात सन्तानले भन्दा दुई सरो कपडा र दुई गाँस खाना बढी पाए रुपकले। फुपूले पढ्न पठाइन्। पढेर बैंकर बन्ने अनि पैसा कमाउने योजना सुनाउँथे फुपूलाई। पैसा कमाएर आफ्नो परिवारले जस्तै अभाव भोगेकाहरूलाई खाना र नाना दिने सपना देख्थे।
तर, रुपक १२ वर्षको हुँदा फुपू बितिन्। फेरि आफ्नैं घर फर्किए। घर साँघुरो थियो। त्यसमाथि स-साना कुरामै झैझगडा र लुछाचुँडी। कहिलेकाहीँ त एक छाक पाक्न पनि गाह्रो।
‘फुपूलाई सम्झनु र रुनुको विकल्प थिएन। तर, बुबाआमालाई हामीमाथि विश्वास थियो - यत्रा सन्तान छन् ठूलो भएर कमाउँछन् अनि राम्रो लगाउन, मीठो खान पाइन्छ भन्ने,’ रुपक बाल्यकाल सम्झन्छन्।
बुबाले कल्पेको भविष्यको जगमा इँटा थप्नु थियो उनलाई। त्यसैले स्कुल जान छाडेनन्। जसोतसो खर्च जुटाए। पढ्न छाडेनन्। सन् १९९४ मा पिपुल्स क्याम्पसबाट आइकम पूरा गरे।
दुर्भाग्य - पढाई सक्नु र बाङ्गेमुढास्थित त्यो साँघुरो घर लिलाम हुनु एकैचोटी भयो।
उनका जेठा दाइले जापान जान लिएको ऋण समयमा तिर्न सकेनन्। धितो राखेको घर सधैँका लागि अरूको भयो। त्यसपछि उनको परिवार दिदीको घरमा आश्रित।
बीकम भर्ना हुने रुपकको योजना पूरा भएन। काम गर्न थाले।
१५ वर्षअघि मखन, असन, इन्द्रचोक, वसन्तपुर, न्यूरोड, सुन्धारा आसपास चिच्याउँदै पत्रिका बेचेको अवस्थामा भेटिन्थे उनी। रौसे रुपकको पत्रिका बिकाउने ठट्यौली पारा- सम्झनेहरू अझै छन्।
उनकी दिदीलाई भने भाइले पत्रिका बेच्ने काम गरेको निको लागेन। दिदीले 'काम छोड् वा घर छोड्' भन्ने निर्देशन दिइन्।
परिवारको दयनीय अवस्था। त्यसमाथि दिदीको घरमा बास। काम नगरी बस्न उनको मन मानेन। आफ्नो बुतामा उभिने प्रणसहित निस्किए। कोठा लिएर बस्न थाले।
२०५६ ताका राजनीतिक उथलपुथलका खबर खुब बिक्री हुन्थे। खासै ठूला घटना नभएका दिन चुट्किला र मरमसला थपेर अखबार बिकाउन माहिर थिए उनी।
‘आफूलाई खान बस्न पुग्थ्यो। सातामा एक दिन घर जान्थेँ खानेकुरा र केही खर्च बोकेर। सबैको मुहारमा खुशी छाउँथ्यो। ममा घर छाड्नुको पछुतो थिएन,’ उनले सुनाए।
एक दिन उनकी छिमेकीले ब्याउँदै गरेको कुकुरलाई बोरामा घिसार्दै थिइन्, फाल्नका लागि। पीडाले छटपटाइरहेको कुकुरलाई त्यसरी ढुंगामाथि घिसारेको देख्दा रुपकको मन बिझायो। पुसको चिसोमा भुईँमा फालिएकी सुत्केरी कुकुरलाई कोठामा लगे।
त्यसपछि उनी एक्लो रहेनन्।
कोठामा बहार छाएको केही दिनमै कुकुरहरूमा रोग फैलियो। सुत्केरी कुकुर र छाउरा एकपछि अर्को गर्दै मर्दै गए। एउटा छाउरोलाई भने रुपकले जोगाए। हरेक दिन भेटनरीकहाँ पुर्याउँदै स्लाइन चढाउँथे। यो क्रम दुई महिना चल्यो। छाउरो ठीक भयो। रुपकले नाम दिए- च्यान्टे। त्यसपछि उनलाई एक्लो महसुस हुन छाड्यो। कुकुरलाई खाना दिन, दिसा पिसाव गराउन भए पनि समयमा घर पुग्न थाले।
‘म बच्चा बेलामा कुकुरसँग खुब डराउँथेँ। अली पर कुकुर देख्दा समेत बाटो मोड्थेँ। च्यान्टेको आमा सुत्केरी हुँदा महसुस भयो मान्छे कुकुरसँग किन डराउनु? बरु कुकुर पो मान्छेसँग डराउनु पर्ने रहेछ,’ उनले भने।
'जनयुद्ध' सकिएको केही समयपछि पत्रिका बिक्न छाड्यो। कमाइ घट्यो। रुपकको स्वास्थ्यमा समस्या देखियो। त्यसले खर्च चाहिँ बढायो। त्यसैले घरमा खानेकुरा लिएर जाने क्रम पातलियो।
२०६६ सालको सुरुवातमै हो, रुपकसँग सुगरको औषधि किन्न समेत पैसा भएन। बिसञ्चोले गालेको थियो। घर पुगे। उनका दाजु पनि समस्यामै रहेछन्। उल्टै उनीसँग गुठीमा तिर्न भन्दै हजार रुपैयाँ मागे। रुपकले दिन सकेनन्। त्यस दिन दाजुभाइबीच चर्कै भनाभन भयो।
दाजुले रिसमा भने - ‘अबदेखि फर्केर नआउनु।'
रुपकले इख बोके - साँच्चै फर्किएनन्।
श्रीपञ्चमी आमाको जन्म मिति। चैते दशैंमा बुबाको। हरेक जन्मदिनमा केक बोकेर घर पुग्थे उनी। त्यस वर्ष चाहिँ गएनन्।
बुबालाई ब्रेन ह्याम्रेज थियो। सधैँ भन्थे –‘खोइ तिमी फेरि कहिले पढ्न जाने? बैंकमा काम गरेर पैसा कमाउने भनेको होइन? मेरो उपचार गर्नु पर्दैन?’
बुबाको जन्मदिनमा सम्झिए। पढ्न नपाउनुको कारणले दुखायो। त्यसभन्दा बढी बुबालाई ठीक बनाउन नसक्नुको पछुतो थियो। खुब रोए तर घर जाने आँट गरेनन्। दाजुसँगको इखका कारण होइन, उनीसँग केक किन्ने समेत पैसा थिएन।
दुई महिनापछि खबर आयो, बुबा बितेको।
च्यान्टे ब्याएको पाँच दिन भएको थियो। फेरि एकपटक उनको कोठामा छाउँदा- छाउँदैको खुशी भत्कियो। सुत्केरी च्यान्टे छिमेकीको जिम्मा लगाए अनि घर गए।
‘बुबाले जानुअघि पनि ‘रुपक केक लिएर आउँदैछ, पर्खन्छु,’ भन्नु भयो रे!
'सबैले त्यही कुरा सुनाए। म भक्कानिएँ। त्यसपछि मेरो आँखा नरसाएको दिन नै छैन,’ उनले सुनाए।
काजकिरिया सकेर कोठामै फर्किए। आम्दानी खासै नभए पनि काम त गर्नैपर्यो! पुनः पत्रिका काखी च्यापेर निस्किए।
खोइ किन हो त्यस दिन च्यान्टेले अस्वाभाविक व्यवहार देखायो। बिहानदेखि कराइरहेको थियो। उपियाँले टोक्यो होला भन्ने ठानेर रुपकले खासै चासो दिएनन्। तर, च्यान्टे त उनी सँगसँगै निस्कियो। धपाए, गाली गरे। अहँ फर्किएन। केहीबेर घुम्दा पनि एउटै पत्रिका नबिकेको झोँकमा ढुंगाले समेत हिर्काए। तर, टेरेन। त्यसपछि कोठातर्फ फर्किए।
च्यान्टे कोठामा छिर्न पनि मानेन।
‘कमाइ नभएर रिस उठेको थियो। त्यसमाथि तँ कुकुरको घुर्की? भनेर ढोका लगाएर सुतेँ। उठ्दा च्यान्टे मरेछ। गाडीले हानेर मार्यो भन्ने थाहा पाएँ,’ रुपकको बोलीमा भावुकता झल्किन्छ, 'त्यो उपियाँले टोकेर कराएको होइन रहेछ। मेरो दुर्दिन संकेत गरेको रहेछ। जसरी म घरको बोझ बन्दिनँ भनेर निस्किएँ त्यसैगरी ऊ पनि मेरो बोझ नबन्ने निर्णय लिएर गयो, सायद।'
त्यसपछि हो, रुपक काम गर्न नसक्ने गरी थलिएको। अभावको यस्तो बिन्दुमा पुगे जहाँबाट खसेर उठ्न सकेनन्। सत्तलहरूमा कट्न थाल्यो उनको रात। च्यान्टेका दुई छाउरा बाँकी थिए- च्यान्टे र पुन्टे। आमाजस्तै देखिने छाउराको नाम च्यान्टे नै राखिदिएका थिए, उनले।
परिस्थितिले जहाँ पुर्याए पनि तिनले साथ छाडेनन्।
पत्रिका बेचेर आएको पैसाले खानेकुरा र पानी किन्थे। आमा सम्झिन्थे। जति थोरै पाकेको भए पनि सबैलाई बराबर भाग लगाउँथिन् उनी। रुपकले पनि आफू, च्यान्टे र पुन्टेलाई बराबर भाग लगाउँथे। त्यो देखेर वरपरका कुकुरहरू झुम्मिन थाले। केही कुकुर भाग खोस्न खोज्थे, अनि केही आशा गरेर टुलुटुलु हेर्थे।
‘खान नपाउनुको पीडा बच्चैदेखि महसुस गरेँ त्यसैले ती भोका कुकुरहरूलाई लखेट्न सकिनँ। खान पाउँछु कि भन्ने आशाले मसम्म आइपुगेकालाई कसरी टाढा बनाउनु? ,’ कुकुरलाई खुवाउन थाल्नुको कारण प्रस्ट्याए उनले।
विस्तारै उनको वरिपरि जम्मा हुने कुकुरको संख्या बढ्यो। तिनलाई खुवाउनु रुपकको दैनिकी बन्यो। त्यही दैनिकी उनलाई आफ्नो जिम्मेवारी महसुस गरे।
बिस्तारै पत्रिकाको खातसँगै बिस्कुटका पोकाहरू बोकेर हिँड्न थाले।
केही अघिसम्म उनलाई टोक्न लखेट्ने कुकुर अब भने पछ्याउन थाले, बिस्कुटको आशामा। जुन बाटो हुँदै उनी हिँड्थे त्यहाँ कुकुरहरू पर्खन थाले। अनि यसैगरी बन्दै गयो उनको चोक अनि गल्लीसँगको सम्बन्ध।
‘जोगाउनु पर्ने सपना बुबा बितेसँगै भत्कियो। त्यसपछि केही गुमाउने डर पनि बाँकी रहेन। त्यसैले आफूसँग जति छ सबै बाँड्न थालेको हुँ,’ उनले भने।
२०७२ सालमा विनाशकारी भूकम्प गएपछि पत्रिकाको व्यापार ठप्प भयो।
त्यसपछि उनको अवस्था थप नाजुक। बाँच्नका लागि गर्नुपर्ने संघर्षका लागि समेत ठाउँ पाएनन्। परिवारका सबैसँग आ-आफ्ना दुःखका र अभावका कथा थिए। त्यसैले आश्रय लिन चाहेनन्। विदेशमा भएकी बहिनीले औषधि खर्च पठाउँथिन्। त्यसको भर पनि बाँकी रहेन।
‘तिमीले पठाएको पैसा जति कुकुरलाई खुवाएर सक्काउँछ भन्ने खबर पठाइदियो कसैले,’ उनले सुकसुकाउँदै सुनाए, 'मान्छे यी अबोध पशुपंक्षीले खान पाउँदा खुशी हुँदैनन्। उनीहरूलाई आफूले भाग नपाउनुको रिस छ। तर, पनि म केही गुनासो गर्दिनँ।‘
भूकम्पपछि हो उनले बाटोको एक छेउमा बसेर मोबाइलको कभर, चार्जर, इयरफोन आदि बेच्न थालेको। त्यो काम पनि कहाँ सहज थियो र? कहिले नगरपालिकाले पसल राख्न नदिने, कहिले सामान चोरी हुने।
‘बल्लबल्ल जोडेको सामान चोरी हुँदा त मर्नु न बाँच्नु भयो। मै मरे यत्रा जनावरलाई कसले खान दिन्छ? भन्ने सोचले जिउँदो राख्यो,’ उनले भने।
तिनै सामाग्री बेचेर आफ्ना लागि एक छाक खाना र सुगरको औषधि जुटाए। दैनिक सय वटा कुकुर र अन्य जनावरका लागि खानेकुरा जुटाउने अन्य आधार छैन।
केहीले बिस्कुट र सय, पचास दिन्छन्। कतिले ढुंगा प्रहार गर्छन्। बहुला भन्छन्।
‘मलाई बहुलाभन्दा दुखे पनि सहन्छु। यी कुकुरहरूलाई केही गर्दा साह्रै मन दुख्छ। आँसु थाम्न सक्दिनँ,’ रुपकले यसो भनिरहँदा पुन्टे उनको अंगालोमा थियो।
+++
गत पुस पहिलो साता। पानी परेर भर्खर रहेको थियो। भुईँ ओभाएको थिएन। शीत परिरहेको थियो। सेजिका श्रेष्ठ आफ्नो बुटिकका लागि सामान किनेर फर्कँदै थिइन्, वसन्तपुर दरबार परिसरको बाटो भएर। भैरव मूर्तिको अघिल्तिर रुपक दर्शनधारीलाई देखिन् - कुकुरहरूसँग गुट्मुटिएको अवस्थामा।
त्यो बाटो हिँड्दा रुपकलाई देखे, सहयोग गर्न पछि पर्दिनन् उनी। तर, चिसोमा काँपिरहेका रुपकलाई देखेपछि उनको मन कुँडियो। तत्काल गर्न सक्ने पनि केही थिएन।
करिब एक महिनापछि फेरि त्यहीँ पुगिन्। रुपकको अवस्था झन् झन् दयनीय बन्दै गएको महसुस गरिन्। यसपटक चुप बसिनन्। रुपकलाई फकाएर अस्पताल लिएर गइन्। उनको सुगरको समस्या त थियो नै। कलेजो पनि सुन्निएको देखियो अनि किड्नीमा पनि समस्या रहेको पत्ता लाग्यो।
त्यसयता सेजिका लागिपरेकी छिन्- रुपकका लागि सहयोग जुटाउन। भन्छिन्, 'उहाँ जिन्दगीदेखि बिरक्तिनु भएको रहेछ। त्यसैले गाह्रो हुँदा पनि अस्पताल जानु भएन।'
सेजिका बोलिरहँदा चुपचाप उनलाई हेरे र भने, 'यी बहिनी नभेटिनु भएको भए थाहा छैन के भइसक्थ्यो। अब त मलाई बाँच्ने रहर जागेको छ। माया र सम्मानले नै त रै'छ मान्छेको जीवन सुन्दर बनाउने।'
सामाजिक सञ्जालमा रुपकलाई सहयोगको आह्वान सहित छाएको पोस्टले धेरै मानिसलाई उनीसम्म पुर्याएको छ। कम्तीमा एउटा कभर किन्नका लागि भए पनि आउँछन्। वा, परैबाट उनले कुकुरहरूलाई खुवाएको हेरेर फर्किँन्छन्।
‘पहिले बहुला भन्नेहरूले एक पुरिया बिस्कुट दिन थालेका छन्। पहिले नाक थुन्दै बाटो काट्नेहरूले सय पचास दिन थालेका छन्,’ उनी दङ्ग सुनिन्छन्। भन्छन्, 'अब त म नरहे पनि यी कुकुरहरू भोको रहँदैनन् भन्ने आशा जाग्न थालेको छ।'
रुपक चाहन्छन् सडकमा छाडिएका कुकुरदेखि अन्य चौपायाको व्यवस्थापनका लागि कुनै संस्थाले नेतृत्व लेओस्। साथ रहोस् स्थानीय सरकारको पनि। चाडपर्व विशेषमा पुजिने यी कुकुर, काग, गाई लगायतप्रति मानिस मानवीय बन्नु पर्ने र निकायहरू जिम्मेवार बन्नुपर्ने भनाई छ उनको।
'कुकुरको वन्द्याकरण आवश्यक छ भन्ने थाहा हुनेहरूलाई उसलाई भोक लाग्छ। खान दिनुपर्छ भन्ने कुरा थाहा नहुने हो र? ,’ उनले भने, 'कुनै पनि प्राणी भोकले छटपटिनु भएन। यति हो मेरो चाहना।'
भोको पेट कति बिझाउँछ भन्ने बुझेका छन् उनले। त्यसैले पैसा नभएको दिन ‘नखान’ मान्ने उनको मन ‘नखुवाउन’ चाहिँ मान्दैन।
आखिर बिहान आएकै बाटो हुँदै फर्कनु पर्छ घर। बाटोमा उनलाई पर्खने कुकुरहरूले बुझ्दैनन् अभावको भाषा। उनीहरू त रुपकको पसिनाको गन्ध बुझ्छन्। उनको स्पर्शको न्यानो बुझ्छन्। अनि रुपकले दिने खानाको स्वाद बुझ्छन्।