PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'वामदेवका लागि संविधान संशोधन' : परराष्ट्र मन्त्री ज्ञवालीको प्रश्न 'के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ?'



'वामदेवका लागि संविधान संशोधन' : परराष्ट्र मन्त्री ज्ञवालीको प्रश्न 'के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ?'

काठमाडौं :  यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संविधान संशोधनको बहसले तरंग पैदा गरेको छ।

राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न सुझाव दिनका लागि पार्टी सचिवालयले कार्यदल बनाएको विषयमा नेकपा नेताहरु नै विरोधमा उत्रिएका छन्। नेताहरु सामाजिक सञ्जालमार्फत पार्टी नेतृत्वको आलोचना गरिरहेका छन्। सचिवालय बैठकमा सहभागी सचिवालय सदस्यले नै संविधान संशोधनको हल्ला सुनिएको भन्दै विरोध गरिरहेका छन्।

गत शनिवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास चन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको  थियो। प्रतिपक्षी दलदेखि नागरिकस्तरबाट नै नेकपाको उक्त कदमको विरोध भयो।  व्यक्ति विशेषलाई संविधान संशोधन गरेरै प्रधानमन्त्री बनाउन सुझाव दिनका लागि बनाइएको कार्यदलमा नेम्वाङ र देवकोटाले बस्न अस्वीकार गरे। कार्यदल नै झण्डै फासफुस हुँदासम्म बहस सेलाएको छैन्।

स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको विषयलाई बेमौसमी बहसको संज्ञा दिएका छन्। मंगलवार राति करिब १० बजे ट्वीट गर्दै उनले स्थिरता र समृद्धिको अपिलकै आधारमा गत निर्वाचनमा जनविश्वास हासिल गरेको सम्झना पार्टी नेतृत्वलाई गराए ।

उनी लेख्छन्,'कमरेडहरू,गत निर्वाचनमा हामीमाथि जनविश्वासको मुख्य आधार थियो-स्थिरता र समृद्धिको अपिल। कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन,अनि राष्ट्रियसभा सदस्य पनि प्रम हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस।'

साथै ज्ञवालीले नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिरहेका छौं भन्दै प्रश्न समेत गरेका छन्।

'के हामी नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिरहेका छौं ? अनि, यसको मूल्य, ' उनले सोधेका छन्।

सोमबार मध्यरातमा नेकपा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि कार्यदल गठनको विषयलाई लिएर ट्वीटर मार्फत असन्तुष्टी व्यक्त गरेका थिए। एकाएक संविधान संशोधनको कुरा सुनेर आफूलाई उदेक लागेको भन्दै ट्वीट गरेका उनी शनिवारको सचिवालय बैठकमा सहभागी थिए। बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सहभागी थिएनन्।

पोखरेलले लेखेका छन्, 'अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरागर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ।मानिसहरू उदेक मान्दैछन्!'

उता नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले फेसबुकमा नीति र विधिसम्मत ढंगले पार्टी सञ्चालन गर्नुपर्ने बताएका छन्। उनले आफूहरुलाई असफल हुने छुट छैन भन्दै होसियार बन्न नेतृत्वलाई सुझाएका छन्।

उनी लेख्छन् , 'नेकपाको बलियो आन्तरिक एकता,निति र विधि सम्मत पार्टी संचालन आजको आवश्यक्ता हो। गतिशिल सरकार,देशको विकास, लोकतन्त्र, सुशासन र पारदर्शिता को प्रत्याभूति नै जनचाहना एवं हामीलाई प्राप्त जनमत हो। हामीलाई असफल हुने छुट छैन। होसियार बनौ! खबरदारी गरौ!!'

यस्तै, केन्द्रीय सदस्य विष्णु रिजाल कार्यदलको विषयमा निर्णय नै नभको भन्दै आफू अनुकुल प्रचार गराएर वातावरण उत्तेजित बनाउने प्रयास गरिएको दाबी गर्छन्।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान र प्रधानमन्त्री बन्नका लागि बाटो खुलाउन कार्यदल बनाउने निर्णय भएकाले विरोध भएको हो। हाल संविधानमा राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था छैन्। २०७४ सालको प्रतिनिधि सभा बैठकमा वर्दिया १ बाट पराजित भएका गौतम विभिन्न प्रयत्न गर्दा पनि प्रतिनिधि सभामा पुग्न सकेका छैनन्। उनका लागि संविधान संशोधन गर्न नेतृत्व तयार भएको भन्दै नेताहरु आक्रोशित भएका हुन्। राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने स्थान रिक्त छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell