PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

व्यक्तिगत स्वार्थमा लागेको भन्दै आफ्नै दलका नेताप्रति सांसद खिमलाल भट्टराईको असन्तुष्टी



व्यक्तिगत स्वार्थमा लागेको भन्दै आफ्नै दलका नेताप्रति सांसद खिमलाल भट्टराईको असन्तुष्टी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन्।

बिहीवार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायीत्वमाथि नै प्रश्न उठ्ने अवस्था उत्पन्न भइरहेको भन्दै त्यस तर्फ नेताहरुको ध्यानाकर्षण गराएका हुन्।

एकाध घटना बाहेक सरकारले आमरुपमा राम्रा कामहरुको सम्पादन गरेको भएपनि त्यसको सम्प्रेषण हुन नसकेको उनले बताए। गरिब निमुखा जनताको असल अभिभावक बनेर सरकार उभिनु गौरवको विषय भएपनि केही घटनाका कारण राजनीतिक स्थायीत्वमाथि नै प्रश्न उब्जिएको भन्दै त्यस तर्फ नेताहरुलाई सचेत हुन सांसद भट्टराईले आग्रह गरे।

उनले भने, ‘के नेकपाका नेताहरुले आफ्नो अभिभारा बिर्सन थाल्नुभएको हो? देश र जनताको हित र स्वार्थलाई सर्वोपरी नठानेर आफ्नो हित र स्वार्थलाई सर्वोपरि ठान्ने गलत संस्कृति नेताहरुको मन मस्तिष्कमा उत्पन्न हुन थालेको हो? नेता ज्युहरु यस्तो नहोस्। नेपाल कम्युनिस्ट पार्टी प्रति जनताको ठूलो साथ र भरोसा छ। त्यसैले तपाईहरु सम्हालिनुहोस्।’

उनले बालुवाटार जग्गा प्रकरणमा अख्तियार र सरकारको काम कारबाहीको बचाउ गरे। आर्थिक सामाजिक रुपान्तरणमा केन्द्रीत भएर सरकार अगाडि बढेको भन्दै उनले केही तथ्यांकको सूची पनि प्रस्तुत गरेका थिए। पूर्वाधार विकासमा देशले चमत्कारिक प्रगती गरेको उल्लेख गर्दै उनले सडक निर्माण, विमानस्थल निर्माण, धार्मिक स्थलहरुमा भएको पूर्वाधार विकास तथा पर्यटन विकासमा सरकार दिल्योज्यानले लागि परेको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell