PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रवक्ताका रुपमा खतिवडाको पहिलो इन्ट्री : पत्रकारको प्रश्नमा ठट्यौली जवाफ



प्रवक्ताका रुपमा खतिवडाको पहिलो इन्ट्री : पत्रकारको प्रश्नमा ठट्यौली जवाफ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय जानकारी गराउँदै मन्त्री डा युवराज खतिवडा । फोटो : रासस।

काठमाडौं : सरकारका प्रवक्ता गोकुल बास्कोटा 'टेप काण्ड' का कारण सरकारबाट बाहिरएपछि उनको स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गरे।

बास्कोटाको राजीनामासँगै प्रत्येक बिहीवार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न हुँदै आएको नियमित पत्रकार सम्मेलन आयोजना भएन।

आज भने प्रवक्ताको जिम्मेवारीमा खतिवडा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न पत्रकार सामु उपस्थित भए। ‌ओलीले उनलाई नै राष्ट्रिय सभामा दोहोर्‍याउने र अर्थमन्त्रीको पद कायमै रहने सुँइको पाएकोले होला उनी खुशी नै देखिन्थे।

पत्रकारहरुले राष्ट्रिय सभामा उनको निरन्तरताका बारेमा प्रश्न सोधे। यसको छिनोफानो २१ गते मात्रै हुने बताए उनले।

सरकारको निर्णय खरर पढेर सुनाए खतिवडाले। त्यसपछि पत्रकारले प्रश्न सोध्ने थालेपछि ठट्टा गर्ने मुडमा देखिए उनी। एक पत्रकारले 'तपाईँ यहाँ सम्म कसरी आइपुग्नु भयो?' भनेर प्रश्न गरेपछि उनले ठट्टा गर्दै भने, 'के म यहाँ जन्ती आएको भनेर सोध्नुभएको?'

खतिवडाको कार्यकालमा किताबमा कर लगाउने विषय निकै नै विवादित बन्यो। आज उनले यसबारे उत्तर दिए। 'कितावको व्यापार पनि अरु ब्यापार जस्तै भएकाले कर लगाएको' खतिवडाको दाबी थियो।

'पुस्तक बेचेर पनि धेरै फाइदा हुन्छ भने त्यो पुस्तकको व्यापार हो। त्यो ज्ञानको व्यापार होइन,' उनले भने।

खतिवडाले प्रेस चलाउन पनि पुस्तकमा कर लगाउनुपर्ने बाध्यात्मक स्थिति आएको बताए। पुस्तकमा राजश्व लाग्दैन भनेपछि बाटोमै ल्याएर मूल्य फेर्ने गरेको खतिवडाले दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell