PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

मौनताको चर्को आवाज : 'बर्दिया सुन्दरी'ले उठाएको विद्रोहको झिल्को



स्वेच्छा राउत

मौनताको चर्को आवाज : 'बर्दिया सुन्दरी'ले उठाएको विद्रोहको झिल्को

'गौंथली इन्टरटेन्मेन्ट गुगल गर्दै आउनुस् न भाटभटेनी नजिकै छ'

अभिमन्युको सुझाव अनुसार गुगल म्यापले गाइड गर्दै पुर्‍यायो, भाटभटेनी मन्दिरबाट पश्चिमतिर रहेको एउटा सानो गल्ली। गल्लीको पुरानो घर छाडेर भित्र पुगेपछि ढोकैमा देखा परे उनी। पछाडितिरबाट भित्र छिर्ने बाटो बनाएका रहेछन्।

दुई दिनपछि फिल्म सार्वजनिक हुँदै थियो। त्यही मनोदशाले सताइरहँदा हाम्रो भेट भइरहेको छ। उनको कार्यालयको भेट कक्षको भुईँमा असरल्ल छरिएका सामान थिए। भित्तामा रङ्गीचङ्गी फोटो, सर्टिफिकेट, खाजाको सूची, फिल्मका पोस्टर अनि 'कोटेसन'। चिया पकाउने सरसामानसँगै मदिराको बोतल पनि।

कार्यालयमा पुगेका हामीलाई 'ग्रीन टी' दिँदै फिस्स हाँसे र बोले, ‘हाम्रो त यस्तै छ।’

उनको दिमागमा कुराहरु खेल्दै थिए, सायद्। तनाव नहोस् पनि कसरी? वर्षौ अघिदेखि गरेको कामको नतिजा सार्वजनिक हुँदैछ। दर्शक कति होलान्? प्रतिक्रिया के आउँला?

केही बेर नै सही त्यो तनाव भुलाउने गज्जव बहाना बन्यो - फिल्म निर्माण प्रक्रिया सम्बन्धी कुराकानी। उनले खुब रौसिदै सुनाए 'बर्दिया सुन्दरी' बनाउँदाको कथा। अनि फिल्म बनाउने समूह बन्नुको कथा पनि।

उनी अर्थात् अभिमन्यू दीक्षित, निर्माता/निर्देशक।

अल्टरनेटिभ फिल्म बनाइरहनु भएको थियो। यो चाहिँ कस्तो हो?

प्रश्न झर्न नपाउँदै फिस्स हाँस्दै अभिमन्युले भने, 'खोइ! गीत पनि टन्नै छ।'

उनले वाक्य पूरा नगरे पनि फिल्म मुलधार हो भन्ने संकेत गरिरहेका थिए।

अभिमन्यु फिल्मलाई ‘मकुमेन्ट्री’ पनि भन्दै थिए। डकुमेन्ट्री जस्तो देखिए पनि त्यस्तो चाहिँ होइन मकुमेन्ट्री। अमेरिकी सिनेमा उद्योगमा प्रशस्त प्रयोग हुने ‘मम्बलकोर’ शैली अपनाएको उनको तर्क थियो। त्यो शैली जसलाई 'नियोरियलिज्म' पनि भनिन्छ। सन् १९४८ मा इटलीमा बनेको 'बाइसाइकल थिप्स'बाट सुरु भएको यो शैली भारतमा सत्यजित रेका फिल्ममा देख्न सकिन्छ।

स्थानीय कलाकार, त्यही परिवेश, लवज, जीवनशैली। स्टुडियोमा पुन: डबिङ नगरिएको 'रियल टाइम' आवाज। बनावटी प्रयोग नगरिएको पृष्ठभूमि – डकुमेन्ट्री हो कि झै लाग्ने।

भर्खरै सकिएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पहिलो पटक प्रदर्शन भयो पाँच वर्षअघि छायाँकन भएको - बर्दिया सुन्दरी। हामी यही फिल्ममाथि गन्थन गरिरहेका छौं।

+++

प्रविना छाटसँग सपनाको सूची छ - नामी मोडल बन्ने। पैसा कमाउने। बुबाले रिक्सा चलाएरै चलेको जिन्दगीको तरिका बदल्ने।

त्यसैले उनी काठमाडौंमा सुन्दरी 'उत्पादन' गर्ने गृहहरुमा आफ्नो फोटो पठाउँछिन्, देउतालाई चडाएर। पढाइमा खासै रुची छैन उनको। भाइ सानो छ जसलाई निकै माया गर्छिन्। पैसा कमाएर भाइलाई राम्रो स्कूलमा पढाउनु पनि उनको प्राथमिकता हो। त्यसका लागि अहिलेकै पाराले पार नलाग्ने उनको ठम्याइ छ।

बर्दियामा पहिलोपटक सौन्दर्य प्रतियोगिता हुँदैछ। प्रतियोगिताको आयोजक हो- नेपाल एकता पार्टी। चुनावको पूर्व सन्ध्यामा हुन लागेको छ प्रतियोगिता। अवसर जे सुकै होस् अथवा आयोजक जो सुकै, सुन्दरी प्रतियोगिता हुँदा प्रविनाले भाग नलिने कुरै भएन।

उनले प्रतियोगिता मार्फत् आफ्नो सौन्दर्य र क्षमता पुष्टि गर्न चाहने किशोरीहरुको प्रतिनिधित्व गर्छिन्। मिस कलेज, स्कूल प्रिन्सेस, मिस टिन, मिस प्लसटू लगायतका अनेक नामका प्रतिस्पर्धामा भाग लिएर ताज पहिरिएको कल्पना गर्नेहरुको मुहार झल्किन्छ प्रविनामा।

फरक यत्ति हो - टोलटोलमा हप्तैपिच्छे हुने यस्ता सौन्दर्य प्रतियोगिताको उद्देश्य नितान्त व्यवसायिक हुन्छ। ‘बर्दिया सुन्दरी’ आयोजकको उद्देश्य भने भोट कुम्ल्याउनु हो। भलै उनीहरुले पनि प्रतियोगिता आयोजनाको लागि छुट्याइएको बजेटले घरको तला थप्ने र गाडीको किस्ता तिर्ने काम गरेको किन नहुन्।

नेपाल एकता पार्टीकै नेता शारदालाई यस्ता लप्पन छप्पनको पर्वाह छैन। उनले 'जनयुद्ध'मा पति गुमाइन्। त्यसपछि पार्टीले अघिल्लो चुनावमा उम्मेद्वारको रूपमा उठायो, सिम्प्याथी भोटका लागि। सेतो लुगामा चुनावी मैदानमा होमिए पनि उनले जितिनन्। यसपटक चुनाव सँगसँगै बर्दिया सुन्दरीको प्रचार प्रसारमा उनैलाई अघि सारेको छ पार्टीले।

प्रविना र शारदा समाजका दुई फरक मुहार हुन्। दुवैलाई राजनीतिक दलले प्रयोग गरिरहेको छ। यी दुई प्रतिनिधिपात्रको मनोविज्ञान र सामाजिक स्थिति चित्रणसँगै अघि बढ्छ फिल्म ‘बर्दिया सुन्दरी।'

फिल्ममा प्रविनाको सपना बोलेर अभिव्यक्त हुन्छ। उनका सपनाबारे दर्शक प्रष्ट हुन्छन्। शारदा प्राय मौन रहन्छिन्। त्यसैले उनको सपना अस्पष्ट लाग्छ। प्रविनाको रहरहरु उनी घरीघरीपुग्ने ब्यूटी पार्लरमा सजाएर राखिएका ‘कस्मेटिक’ सामानहरु जस्तै लाग्छन् - रङ्गिन र अत्तरजस्तै वास्नादार। अनि उनको उद्देश्य कपालको ‘ट्रिटमेन्ट क्रिम’ जस्तै महङ्गो। त्यो क्रिम उनको आर्थिक हैसियतभन्दा माथिको ठम्याउँछिन् ब्यूटिसियन र उपलब्ध गराउँदिनन्। प्रविनाको चर्चित मोडल बन्ने सपनामा पनि विश्वास छैन उनको नजिकका साथीलाई।

फिल्ममा शारदालाई प्राय दोबाटोमा देखाइन्छ। लाग्छ - त्यो दोबाटो उनको अन्यौल मनोसामाजिक स्थितिको प्रतीक हो। कुन बाटो पछ्याउने अन्यौलतामा रुमलिएकी छिन् उनी। पार्टी कार्यकर्ताले मोटरसाइकलमा जता घुमाउँछन् उतै सोझिन्छ उनको यात्रा।

उनका रहरहरु त त्यही दोबाटोमा लालीको रङ्ग, चुराको आवाज, अत्तरको बास्नासँगै छुट्छ। कति होलान् शारदाजस्तै पात्र जो समाजले देखाएको बाटो र राजनीतिक पार्टीले निर्धारण गरेको सीमाभित्र मौन रहन बाध्य? लाग्छ शारदाहरु कठपुतली हुन्।

यी पात्रहरुलाई भोगाइले बलियो बनाउँछ, बुझाइले बोल्न सक्ने। प्रविना सचेत हुन्छिन् र राजनीतिमा जात, लिङ्ग, धर्म विशेषको फाइदा उठाउने राजनीतिज्ञ विरुद्ध लड्ने घोषणा गर्छिन्। सायद्, उनका लागि सौन्दर्यको अर्थ फेरिन्छ। मञ्चमा उभिन्छिन्। घोकेको जवाफ त्यागेर जब उनी बोल्छिन् - लाग्छ उनी साँच्चै मिस बर्दिया बनिन्।

अनि शारदाले नबोलेरै चर्को आवाज निकाल्छिन्- सामाजिक कुरिती अनि राजनीति स्वार्थविरुद्ध।

निर्देशक सहारा शर्माले एउटै समाजमा फरक जीवन बाँचिरहेका, फरक भोगाइहरुसँग जुधिरहेका दुई महिला पात्रको जीवनमार्फत् नेपाली समाजमा महिलाको मनोसामाजिक अवस्था चित्रण गरेकी छिन्। उनले महिला राजनीतिको निर्णायक तह, बजार र सौन्दर्य चेतमा कहाँ छन्? भन्ने प्रश्नमाथि बहसको थालनी गरेकी छिन् ‘बर्दिया सुन्दरी’मार्फत्।

+++

सहारा शर्मा र अभिमन्यु मिलेर पाँच छवटा सर्ट फिल्म बनाइसकेका थिए। मायाले अंगाली, तिम्रो मात्र नाम, ह्याप्पी बर्थडे हिचकक, सामान्य, अंगालो आदि। प्रतिक्रिया राम्रै पाएका थिए। गर्दै जाँदा राम्रो हुँदै जाने विश्वास पनि थियो उनीहरुलाई। साहराले निर्देशन गर्ने फिल्ममा अभिमन्यु निर्माता र अभिमन्युले निर्देशन गर्ने फिल्ममा साहरा निर्माता।

तर, बुबा आमा तयार थिएनन् – छोराछोरी फिल्म बनाउने भन्दै पढाई छाडेर बसेको स्वीकार्न। त्यसैले सधैं उनीहरुले बनाएको फिल्म हेरेर दङ्ग पर्थे र सोध्थे- 'फिल्म त राम्रै बनायौ तर मास्टर्स चाहिँ कहिले भर्ना गर्ने?'

यी दुवैको चिनजान ग्यालेक्सी पब्लिक स्कूल पढ्दा नै भयो। हुन त अभिमन्यु सहाराभन्दा दुई ब्याच अघि थिए तर पनि उनीहरुको रुची मिल्यो, रहर पनि। दुवै मिल्ने साथी भए। आइडिया सेयरिङ, सरसल्लाह, साथ र सहयोग नियमित बन्यो। टिममा धेरैजसो ग्यालेक्सियन नै भेला भए।

सन् २०१२ मा बुबा आमाले पढ्नका लागि कर गर्न थालेपछि आफ्नै रुचीको विषय पढ्न तयार भए उनीहरु। विषय र कलेजको खोजीमा लागे।

त्यही क्रममा एकदिन पुगे भारतीय कलेजहरुले काठमाडौंमा आयोजना गरेको शैक्षिक मेलामा। मेलाका सबै स्टलहरु घुमेपछि निचोडमा पुगे- ‘सबैभन्दा राम्रो मौसम बैंगलोरको रहेछ। त्यतै जाउँ।'

बैंगलोर विश्वविद्यालय अन्तर्गतको आचार्य इन्स्टिच्युटबाट मास्टर्स गर्ने भए, सिनेमा विषयमा। उनीहरुको फिल्मप्रतिको रुचीलाई शैक्षिक पृष्ठभूमि मिल्ने भयो।

बैंगलोर गएको ६ महिना उनीहरुलाई निकै गाह्रो भयो। न भाषा मिल्ने, न जीवनशैली नै। त्यसैले प्राय सँगै हुन्थे, कुनै विषयमा छलफल गर्थे। मन खाएको कथा लेख्थे।

स्नातक तहसम्म काठमाडौंमा परिवारसँगै बसेर पढेका उनीहरुले घरबाट पर बसेर पढ्न संघर्षरत् विद्यार्थीहरुको कथा लेखे। जुन कथा काठमाडौं छाडेर बैंगलोर पुगेका उनीहरुको संवेदनासँग जोडियो। त्यसैले त्यही कथामा काम गरे, कुनै दिन फिल्म बनाउने योजनासहित।

उनीहरु पढ्ने कलेजमा हरेक वर्ष युवा महोत्सव आयोजना हुन्थ्यो। पाँच दिने महोत्सवका लागि एक महिना लामो त तयारी हुन्थ्यो। त्यही एक महिने छुट्टीको मौका छोपे। विभागीय प्रमुखसँग बिदा मागे र नेपाल आए, फिल्म बनाउन।

फिल्मको न्वारन गरे - 'चेजिङ रेन्बोज्' अर्थात् 'इन्द्रेणी खोज्दै जाँदा'।

त्यतिखेर फिल्म बनाउने जोश र क्याननको फाइभ फिफ्टी डी क्यामेरामात्र थियो उनीहरुसँग। तर, पनि आँटे।

'चेजिङ रेन्बोज्' बनाउँदा हामी आँटी थियौं। जोशै जोशमा हान्दिम न त भनेर बनाएको। प्राविधिक पाटोबारे सोचेकै थिएनौं,' अभिमन्यु नोस्टाल्जिक सुनिए।

तर, उनीहरुलाई आफूले लेखेको कथामा विश्वास थियो।

फिल्म बनाए, पढ्न फर्किए।

त्यही फिल्म प्रदर्शनीका लागि ठाउँ खोज्दै थिए। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को ११ औं संस्करण घोषणा भयो। छनोटमा पर्ने आशा थियो। र, 'नपरे पनि केही छैन' भन्‍ने द्विविधाकै बीच फिल्म पठाए।

'पठाइसकेपछि त तनाव भयो नि। परेन भने त ठीकै छ, पर्‍यो भने क्लासै छुटाएर जान मिल्दैन के गर्ने?', अभिमन्युले ठट्यौलो पारामा सुनाए।

अन्तत: इन्द्रेणी खोज्दै जाँदा सन् २०१३ को किम्फमा ओपनिङ सिनेमा बन्यो। उनीहरुको खुशीको सीमा रहेन। डर पनि उस्तै चुलियो। सोचेका थिएनन् - प्राविधिक पाटोको ख्यालै नगरी बनाएको सिनेमा कहलिएको फिल्म महोत्सव उद्घाटनमा देखाइन्छ भन्ने।

तर, सस्तो अनि सानो क्यामेराले फिल्ममा गर्न खोजेको यथार्थ चित्रणमा कुनै असर नगरेको विश्वास भने उनीहरुमा थियो।

त्यस समय निर्देशक सहारा र निर्माता अभिमन्यु दुवै बैंगलोरमै थिए। महोत्सवमा आउन पाएनन्। फिल्म महोत्सवमा दुई पटक देखाइयो। अनि नेपाली प्यानोरोमा अन्तर्गत उत्कृष्ट घोषित समेत भयो।

'त्यसपछि त हामी डराउन थाल्यौं। अब थप जिम्मेवार भएर फिल्म मेकिङमा लाग्नुपर्छ भन्ने भयो। उनीहरुलाई महसुस भयो - 'प्रविधिको प्रयोगभन्दा महत्वपूर्ण कलात्मक प्रयोग हो।'

त्यसपछि फिल्म निर्माणलाई संस्थागत् तवरमा अघि बढाउने भन्दै गौंथली इन्टरटेन्मेन्ट सुरु गरे, सोही वर्ष।

ठीक एक वर्षपछि सन् २०१४ मा फिल्मले टोरोन्टो नेपाली फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्यो। त्यसपछि काम गर्ने ऊर्जा थपियो, रहर चुलियो। फिल्म निर्माण सम्बन्धी ‍औपचारिक पढाइले केही आत्मविश्वासी पनि बनाएको थियो उनीहरुलाई।

सन् २०१४ कै जुलाईमा पढाई सकेर नेपाल फर्कदा उनीहरुसँग योजना थियो- फिचर फिल्म बनाउने। जसका लागि कथा लेखे। कलाकार जम्मा गरेर वर्कसप पनि गरे। थोरै बजेटमा फिल्म बनाइरहेका उनीहरुसँग फिचर फिल्मका लागि पर्याप्त बजेट भने थिएन।

'हामी कच्चा थियौं। जोशलेमात्र सधैं कहाँ पुग्थ्यो र? केही समय कोसिस गर्‍यौं। निर्माता भेटिएन। अनि आइडिया नै ड्रप भयो,' अभिमन्युले केही धकाउँदै बताए।

गौथली इन्टरटेनमेन्टमा अभिमन्यु र सहारासँगै सहयोगराज अधिकारी, सौरभ राजभण्डारी लगायत पनि जोडिएका थिए। फिचर फिल्मको योजनासँगै सर्ट फिल्महरु निर्माण भइरहेकै थियो। कमाउनका लागि गैर सरकारी संस्था एवं अन्य संस्थाको कामहरु पनि लिए।

फिल्मबाट कमाउने र फिल्ममै खर्च गर्ने।

फिचर फिल्म निर्माणको योजना टुटेपछि पुन: सर्ट फिल्मकै विभिन्न योजनामाथि छलफल गरे। सबैलाई मनपर्‍यो 'बर्दिया सुन्दरी'को कथा।

देशले विनाशकारी भूकम्प पछिका परकम्पहरु भोगिरहेकै थियो। त्‍यसमाथि थपियो - भारतीय नाकाबन्दी।

त्यसको प्रभाव नेपाली फिल्ममा नपर्ने ठाउँ नै रहेन। गौंथली इन्टरटेनमेन्टको टोली भने केही पाउनुको आशाभन्दा बढी केही गर्नुको हुटहुटी बोकेर पुग्यो बर्दिया।

चार पाँच जनाको सानो क्रु मात्र हिँडेको थियो, फिल्म बनाउन। कलाकार कथा अनुरुप गाउँमै खोज्ने योजना थियो कास्टिङ डिरेक्टर सहयोगराज अधिकारीको। किनकि उनी भन्थे, 'जहाँको कथा भनिन्छ त्यहीँको कलाकार राख्ने। उनीहरुले दिन्छन् पात्रलाई जिवन्तता। उनीहरुले बुझ्छन् परिवेश।'

काठमाडौंबाट कलाकार लग्ने र नक्कली लवजमा मोफसलको कथा भन्ने पक्षमा थिएनन् उनीहरु।

२०७२ सालको भदौमा स्थानीय रेडियो र अन्य प्रचार प्रसार माध्यमको सहयोगमा अडिसनका लागि मानिसहरु डाके। बर्दियादेखि बाँकेसम्मका ३५ जना कलाकारले आवेदन दिएका थिए। त्यहीँबाट सुरु भयो पात्रहरुको तयारी।

फिल्मका लागि दुईजना विशेष पात्र आवश्यक थिए। पहिलो, मोडलिङमा रुची राख्ने किशोरी र दोस्रो, ‘विधुवा’को भूमिका निर्वाह गर्ने महिला।

पहिलो पात्र बन्ने भइन् प्रविना दहित। तर, विधुवा भनेपछि सबै झस्किए।

'अन्धविश्वास गढेर बसेको रहेछ। अनि धेरैलाई समाजले के भन्ला? भन्ने प्रश्नको डर अनि कतिलाई अभिभावकले अनुमति नै दिएनन्,' अभिमन्युले सुनाए।

निर्देशक सहारा बर्दियाकै स्थानीय भएकाले वातावरण केही सहज बन्यो। चिनजानको आधारमा शारदा सिर्पाली तयार भइन्, उक्त भूमिका निर्वाह गर्न।

त्यसपछि छायांकन सुरु भइहाल्यो। यसपटक फिल्मको प्राविधिक पाटोलाई पनि सन्तुलित राख्ने हेतुले क्यामेरा सापट मागेका थिए, माल्दिभ्सका एक सिनेम्याटोग्राफरसँग।

कलाकारका लागि वातावरण सहज बनोस् भनेर लगिएको थियो सानो 'क्रु'। ती छायाँकार वा निर्देशक होइन साथीजस्तो प्रस्तुत भए। प्रविनालाई प्रविना होइन ‘पर्विना’ भन्ने गाउँले लवजसँग मिसाइदिए। औपचारिकताको सीमा कोरेनन्। स्थानीय कलाकारले स्कूल जाने, मेला जाने, घरायसी कामबाट पाएको फुसर्दमा मात्र छायाँकन गरे।

त्यसको असर, कलाकारहरुले अभिनय गरेनन्, उनीहरुले त पात्रको जीवन र कथाको परिवेशमै बाँधिए। कुनै पनि सट दोहोर्‍याएर खिच्नु परेन। कुनै पनि कलाकारलाई काम गराउन अप्ठ्यारो भएन।

कलाकार, उनीहरुका अभिभावक, स्थानीय लगायत परपरबाट छायाँकन हेर्न आउनेहरु उत्साहित थिए। सबैको एउटै प्रश्न फिल्म कहिले रिलिज हुन्छ?

प्रश्नको जवाफ फिल्म निर्माण टोलीसँग पनि थिएन।

सुटिङका लागि तिजको पर्वमा टोली बर्दिया गएको थियो। दशैंको नवमीका दिन काठमाडौं फर्कियो। त्यसपछि चाडपर्व लाग्यो।

'बर्दिया सुन्दरी'को पोस्ट प्रोडक्सनको काम पनि पर्व सँगसँगै पछाडि धकेलिँदै गयो। त्यसपछि सम्पादन, गीतहरु निर्माण आदि काम बिस्तारैबिस्तारै चल्यो। फिल्मको पहिलो ड्राफ्ट अभिमन्युले नै तयार पारेका थिए जुन दुई घण्टा आधा लामो बन्यो।

फिल्म गोवा फिल्म फेस्टिभलको ल्याबमा पठाए। त्यहाँबाट पाएको सल्लाहअनुसार छाँटिदिए फिल्म सम्पादक सुरज पौडेलले। अहिले साढे एक घण्टा लामो छ फिल्म।

मिसन २०-२० किटान गरे कतै न कतै प्रदर्शनमा ल्याउने भन्ने। त्यसैले नोभेम्बरमा फिल्मको काममा पूर्णविराम लगाए।

बर्दिया सुन्दरीमा सौन्दर्य भरेको कथाअनुरुप संगीत र गीत थपियो। संगीत निर्देशक श्रीती प्रधानको समूहले फिल्ममा कलात्मकता थप्यो। छ वटा गीत छन् यसमा, परिवेश व्याख्या गर्ने। त्यो पनि विम्बात्मक हिसाबमा। कलात्मक फिल्म ‘स्लो’ हुनुपर्छ र गीतको प्रयोग कम हुनुपर्छ भन्ने तर्क विपरीत तयार भयो फिल्म।

संगीत, कलाकारको जिवन्त अभिनय र यसपछि के हुन्छ? भन्ने कौतुहलताले दर्शकलाई फिल्मसँग बाँध्छ भन्नेमा अभिमन्यु निश्चिन्त सुनिए पनि उनको अनुहारमा छटपटी प्रस्ट देखिन्थ्यो।

‘पर्दामा आफैले भोगेको वा आफूले चिनेको कसैले भोगेको कथा हेर्दा थामिन्छन् होला दर्शक। आखिर बर्दिया सुन्दरी हाम्रै समाजको महिला साथीहरुको भोगाइ बारे प्रस्तुति न हो,' उनी आफैँलाई कन्भिन्स गर्न खोज्दै थिए।

फेस्टिभल पछि के त?

अभिमन्युलाई रहर छ - हलमा लगाउने।

तर फिल्मबारे पाएको प्रतिक्रियासँगै बजारको मागप्रतिको डर पनि छ उनमा। किनकि फिल्ममा चल्तीका कलाकार छैनन्। श्रृङ्गारिएको संवाद छैन। आकर्षक नृत्य र भयानक फाइट पनि छैन। 'बर्दिया सुन्दरी'मा त कलाकार या त बोलेर लडेका छन्, या मौन रहेर।

फिल्मले बजार नपाए पनि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरु र अनलाइनमा ठाउँ पाउनेमा ढुक्क छन् उनी। भन्छन्, 'सबै काम केही कमाउने आशामा गरिँदैन। कहिले काहीँ आफ्नै कामले निराशाबाहेक जे दिए पनि सन्तोष भइन्छ।'

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा बर्दिया सुन्दरी प्रदर्शन भयो। फिल्म हेरेर निस्किएका दर्शकको प्रतिक्रियाले केही ढुक्क तुल्यायो उनलाई। सायद्, अब गौंथलीको कार्यालयका छरिएका सामानहरु पनि ठीक ठाउँमा राखिसके होलान् अभिमन्युले।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell