PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोना भाइरसविरुद्ध लड्न सबै देश तयार हुनुपर्छ : डब्लुएचओ



कोरोना भाइरसविरुद्ध लड्न सबै देश तयार हुनुपर्छ : डब्लुएचओ
PHOTO : HECTOR RETAMAL/AFP VIA GETTY

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ (कोरोना भाइरस) लाई हल्का रुपमा नलिन सबै राष्ट्रलाई आग्रह गरेको छ।

चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण ५० भन्दा बढी राष्ट्रमा फैलिएपछि संगठनले सबै राष्ट्रलाई भाइरसको प्रकोपप्रति सचेत हुन भनेको हो।

जनेभामा आयोजित पत्रकार सम्मेलनमा संगठनका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले विश्वका सबै राष्ट्र कोरोना भाइरसको पहिलो संक्रमणका लागि तयार हुनुपर्ने बताएका हुन्।

कोरोना भाइरसले देशको सीमा नचिन्ने भन्दै उनले भने,' आफूकहाँ कोरोना भाइरस भित्रिदैन भनेर कुनैपनि राष्ट्र बस्नु हुँदैन। त्यसरी बसे त्यो सबैभन्दा ठूलो गल्ती हुनेछ। कोभिड १९ लाई सीमाको मतलब हुँदैन।'

हालसम्म २ हजार ८ सय भन्दा धेरै मानिसको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ। ८१ हजारभन्दा धेरैमा यसको संक्रमण देखिएको छ।

त्यसैले गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयतामा फरक नछुट्याउने भन्दै यसले कुनै पनि देशको  शक्ति र विकासको अवस्था नहेर्ने समेत बताए।

वुहानबाट महामारीका रुपमा फैलिएको यो भाइरसको संक्रमण हाल खाडी र युरोपियन राष्ट्रहरुमा बढ्दै गएको छ। अमेरिकामा समेत यस भाइरसबाट संक्रमित व्यक्ति पहिचान भइसकेको छ।

गेहब्रेयससले भने,' यो भाइरस विरुद्ध लड्न हामी निर्णायक मोडमा छौं। इरान, इटाली र दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलिएसँगै हामीले यसको खतरा देखेका छौं।'

महानिर्देशक गेहब्रेयससले सबै देशले कोरोना विरुद्ध सतर्कता अपनाउनुपर्ने भन्दै अत्यावश्यक आसोलेसन युनिटदेखि औषधीको व्यवस्था गर्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell