PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देशभर विद्युतको पहुँच पुर्‍याउन मिनीग्रिड : उर्जामन्त्री पुन



देशभर विद्युतको पहुँच पुर्‍याउन मिनीग्रिड : उर्जामन्त्री पुन
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौंमा शुक्रवार आयोजना गरेको मिनीग्रिड विशेष कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन। फोटो : रासस।

काठमाडौं : तीन वर्षमा देशभर विद्युतको पहुँच पुर्‍याउने उद्देश्य पूरा गर्न सरकारले मिनीग्रिडमार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात गरेको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले शुक्रवार काठमाडौंमा आयोजित एक समारोहमा ‘मिनीग्रिड विशेष कार्यक्रम’को औपचारिक रुपमा आरम्भ गरेका हुन्।

सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत तीन वर्ष भित्रमा सबै नेपालीको घरघरमा विद्युतको पहुँच पुर्‍याउने उद्देश्यसहित केन्द्रीय प्रसारण लाइन नपुगेका जिल्लामा मिनीग्रिड विशेष कार्यक्रम मार्फत विद्युत पुर्‍याउने लक्ष्य राखेको छ। सोहि अनुसार शुक्रवार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले कार्यान्वयन गर्नेगरी हुम्ला र डोल्पामा १२ वटा मिनीग्रिड आयोजना सञ्चालन गर्ने कार्यको सुरुवात भएको हो।

कार्यक्रममा मन्त्री पुनले केन्द्रीय ग्रिड नपुगेका जिल्लामा मिनीग्रिडमार्फत उज्यालो अभियान शुरु हुनु सकारात्मक भएको बताए। उनले यो वर्ष २ सय वटा कार्यक्रम सञ्चालन हुने र तीन वर्ष भित्रमा ६ सयवटा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको बताए। उनले यस वर्ष ४० वटा जिल्लामा पूर्ण रुपमा विद्युतको पहुँच पुर्‍याउने लक्ष्य समेत लिइएको बताए।

वैकल्पिक उर्जा केन्द्रका कार्यकारी निर्देशक मधुसूधन अधिकारीले अहिलेसम्म नेपालमा ७८ प्रतिशत घरधुरीमा नेपाल विद्युत प्राधिकरणबाट वितरण हुने विद्युतको पहुँच रहेको, १० प्रतिशत वैकल्पिक उर्जा मार्फत उज्यालो पुगेको र १२ प्रतिशत घरधुरीमा उज्यालोको अभाव रहेको बताए। उनले सरकारले ३ वर्षमा सबैको घरघरमा उज्यालो पुर्‍याउने लक्ष्य पुरा गर्न मिनीग्रिड सञ्चालन गर्ने परियोजना कार्यान्वयनलाई तिव्रता दिनुपर्ने बताए।

अहिलेसम्म वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको अगुवाइमा देशका विभिन्न ठाउँमा २० वटा भन्दा बढी सौर्य तथा वायु मिनीग्रिड आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन्। जसबाट ८ सय किलोवाट विद्युत उत्पादन भएको छ। पछिल्लो समय विभिन्न जिल्लाबाट माग भएका ४५ मिनीग्रिड आयोजनाहरु सम्भाव्यता अभ्ययन भई कार्यान्वयनको चरणमा आएको अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell