PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

देउवाले एकलौटी विभाग प्रमुख तोकेकोमा पौडेल पक्षको आपत्ति, आचारसंहिता उल्लंघन भएको भन्दै विरोध प्रस्ताव



देउवाले एकलौटी विभाग प्रमुख तोकेकोमा पौडेल पक्षको आपत्ति, आचारसंहिता उल्लंघन भएको भन्दै विरोध प्रस्ताव

वीरगंज : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले विभाग प्रमुख तोकेको विषयमा आपत्ति जनाएका छन्।

पर्साको वीरगंजमा आयोजित प्रदेश नम्बर दुई स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीको निर्णयमा आपत्ति जनाएका हुन्।

दुई नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलामा पौडेल पक्षले महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोध प्रस्तावसमेत पास गरेको छ।

चौंधौ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग प्रमुख तोक्नु र आमन्त्रित केन्द्रीय सदस्य तोक्नु आचारसंहिता विपरित भएको पौडेलको दाबी रह्यो।

सभापति देउवाले शनिवार १३ विभाग प्रमुख तोकेका थिए भने ५ जना नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। यसअघि पौडेल पक्षलाई देउवा पक्षले विभागको नेतृत्वका लागि नाम मागेको थियो। महाधिवेशन तोकिसकेको अवस्थामा विभाग गठनको औचित्य नरहेको भन्दै पौडेल पक्षले नाम दिन अस्विकार गरेको थियो।

कार्यक्रममा नेता पौडेलले मुलुकमा भ्रष्टाचारले व्यप्त भएको काण्डै काण्डमा सरकार फसेको अवस्थामा पनि प्रमुख विपक्षी दलले विरोध किन गर्न सकेन भन्ने प्रश्नको जवाफ आम कांग्रेस नेता कार्यकर्ताले खोज्ने बेला आएको बताए। नेता पौडेलले कांग्रेस नेता कार्याकर्ताले अब भ्रष्टाचार मुक्त नेपाल, विकृति मुक्त नेपाली कांग्रेसको अभियान सुरु गर्नुपर्ने बताए। उनले कांग्रेसका कार्यकर्ताले कांग्रेसको इतिहास, कांग्रेसले थालेको आन्दोलनको मर्म र वीपी कोइराला, गणेशमान सिंह किसुन जीको विरासत जोगाउनका लागि लाग्नुपर्ने बताए। भने, 'कांग्रेसमा ओरल्ली मोरल्ली, र पोलिटिकल्ली कम्युनिष्टहरुसंग प्रतिकार गर्न सक्ने नेतृत्व कांग्रेसमा भएको बताउँदै पद र प्रलोभनबाट मुक्त भएर त्याग गर्न सक्ने नेतृत्वको खोजीमा कांग्रेस लाग्नुपर्छ।'

वरिष्ठ नेता पौडेलले देशभरका अन्यायमा परेका कांग्रेसहरुलाई न्याय दिनका लागि आफुहरु तयार रहेको बताउदै क्रियाशील सदस्यता वितरणमा हुने धाँधली रोक्नका लागि वडा तहबाट नै लाग्ने नेता कार्यकर्तालाई निर्देशन दिए। कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले सरकारले कर बढाएर जनतालाई सपना बाँड्ने भन्दा बाहेक अन्य काम गर्न नसकेको बताए। उनले कांग्रेस एकताबद्ध हुन नसक्दा नेपालमा कम्युनिष्टहरुको विगविगी भएको बताए।

कांग्रेस नेता प्रकाशमान सिंहले पटक पटकका आन्दोलनको नेतृत्व गर्न सक्ने संविधान बनाउन सक्ने कांग्रेसलाई किन नेपाली जनताले भोट दिएनन भन्ने खोजी हुन आवश्यक रहेको बताए। सिंहले १४ औं महाधिवेशनलाई निष्पक्ष बनाउनका लागि खबरदारी आवश्यक रहेको बताए। नेता डा रामशरण महतले महाधिवेशनको कार्यतालिनका तय भइसकेपछि पार्टीका विभाग बनाउनु आचारसंहिता विपरित भएको दाबी गरे।

नेता अर्जुननरसिंह केसीले संसदमा सरकारका विरुद्धमा उत्रन कांग्रेसलाई केले रोकेको भनि प्रश्न गरेका थिए। नेता केसीले लाउडा काण्डमा ५७ दिन संसद अवरुद्ध गर्ने कम्युनिष्टहरु अहिले सत्तामा रहेर काण्डै काण्ड मच्चाउदा समेत संसदमा कांग्रेस चुप बसेर जनतामाथिको भरोसा टुटाउदै गएको बताए। कार्यक्रममा नेताहरु बलबहादुर केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतले कांग्रेस नेतृत्वबाट भएको कमी कमजोरीका बारेमा धारणा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell