PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राम-सीताको सम्झनामा कञ्चनबनमा खेलियो हाेली

राम-सीताको सम्झनामा कञ्चनबनमा खेलियो हाेली

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : त्रेता युगमा भगवान राम र सीताले रंग दलेर कंचनबनमा होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमा गर्नेहरुले कञ्चनबनमा होली खेलेका छन्। परिक्रमामा मिथिला बिहारीको डोलासँगै कञ्चनबन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग दलेर होली पर्व मनाएका हुन्।

कञ्चनबनमा होली खेलेपछि मिथिलाञ्चलमा विधिवत रूपमा होली पर्वको शुरूवात भएको मानिन्छ। कञ्चनबनमा महिला/पुरुष सबै होलीमा रमाएका थिए। परिक्रमा डोला कञ्चनबनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविद्हरु बताउँछन्। त्यहाँको होली मिथिलाञ्चलका अधिकांश मठमन्दिरका महन्थ, सामाजिक, साँस्कृतिक, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता हुन्छ।

फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनबन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल समेत रहेको छ। इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र सीताले होली पर्व मनाएका थिए। सोही स्थानमा परिक्रमामा सहभागीहरु रंग दलेर होली खेल्ने गर्छन्।

कञ्चनबनको होलीको प्राचिनतालाई देखेर विगत केही वर्षदेखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आएको छ।

किशोरीजी डोलाका प्रमुख महन्थसमेत रहेका प्रेस काउन्सिलका सदस्य नवलकिशोर शरणले कञ्चनबन जस्तो होली कतै नहुने दावी गर्छन्। रंग र होरैया गान तथा हजारौँको सहभागिताले यहाँको होली निकै नै उल्लासपूर्ण हुने गर्छ।

जनकपुरधामको हनुमान नगरबाट डोलासहित शुरु गरिएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड घुमेर कञ्चनबन पुगेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell