PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाका कारण स्पेनमा मृत्यु, नेपालमा त्रास : के संक्रमण नेपालमै भएको थियो?



स्वेच्छा राउत

कोरोनाका कारण स्पेनमा मृत्यु, नेपालमा त्रास : के संक्रमण नेपालमै भएको थियो?

काठमाडौं : स्पेनको भ्यालेन्सियामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ। संक्रमितको गत फेब्रुअरी १३ मै निधन भएको थियो। मंगलबार भ्यालेन्सियाको स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलन गरी उक्त जानकारी सार्वजनिक गरे। तर, ती व्यक्तिको नाम भने खुलाइएको छैन।

मृतकको पोस्टमोर्टम रिपोर्टले कोरोना भाइरस संक्रमण देखाएको हो। डेली मेलले मृतक व्यक्ति नेपाल भ्रमण गरी फर्किएको उल्लेख गरेको छ। नेपालबाट फर्किएसँगै निमोनिया लागेको र उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख गरिए पनि उनी नेपाल कहिले आए र यहाँबाट कहिले फर्किए भन्नेबारे कुनै जानकारी दिइएको छैन।

नेपालमा हालसम्म एक मात्र व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनबाट नेपाल आएका एक २८ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो। तर, उनी उपचारपछि स्वस्थ भइसकेका छन्।

स्पेनको समाचार एजेन्सी ईएफईले दुई लाइनको समाचार लेखेको छ। भ्यालेन्सियाको स्थानीय सरकारको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको बताइएको छ। त्यहाँका स्थानीय मन्त्रीले पत्रकार सम्मेलन गरी उनी नेपालबाट फर्किएपछि बिरामी भएको बताएको समाचारमा उल्लेख छ।

तर, स्पेनमा मृत्यु भएका व्यक्ति र नेपाल भ्रमणसँग सम्बन्ध नहुन सक्ने बताए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले बताए। 'उनले नेपालबाट फर्कदा कुन देशको ट्रान्जिट हुँदै स्पेन पुगे भन्ने कुरा स्पष्ट हुनुपर्‍यो। मृतकको गोपनीयताको लागि धेरै जानकारी लुकाइएको हुनसक्छ,' उनले अगाडि भने, 'तर त्यसरी नेपाल भ्रमण र कोरोना संक्रमणलाई जोडेर समाचार सार्वजनिक हुँदा त्रास फैलन्छ।'

यिनै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई हवाला दिँदै नेपाली मिडियामा समेत समाचार आएका छन्। तर यसका भित्रि पाटोको बारेमा बुझ्ने प्रयास भएका छैनन्।

नेपालमा अहिले कोही पनि कोरोना भाइरसको संक्रमित छैनन्। यस्तोमा स्पेनमा मृत्यु हुनेमा कोरोनाको संक्रमण कसरी भित्रियो? नेपालदेखि स्पेनका लागि सिधा उडान छैन।

अधिकांश उडानहरु चीन, सिङगापुर, मलेसिया, हङकङ, थाइल्याण्ड, दक्षिण कोरिया, भारत, दोहा, अवुधावी लगायतका क्षेत्रमा ट्रान्सिट हुँदै स्पेन जाने गर्छन्। त्यहाँबाट पनि अर्को ट्रान्सिट भए इटलीको रोम, बेलायतको एम्स्ट्रडम, ब्रसेल्स, म्युनिख पनि प्रमुख पर्छन्।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीहरु विदेशी छन्। उनीहरुले आफूले पायक पर्ने ठाउँमा ट्रान्जिट पार्दै मड्रिड पुर्‍याउँछन्। यदि उनी चिनियाँ कम्पनीबाट उनले यात्रा गरेको भए चिनियाँ भूमिमै ट्रान्जिट भएर ती व्यक्ति गएका छन्। उनमा देखिएको संक्रमण नेपालबाटै भएको भन्ने स्पष्ट आधार नभएको चिकित्सक पुनले बताए।  

कोरोना भाइरसलाई लिएर मानिसहरु आतंकित भएको र त्यसले मानसिक असर पारेको उनको भनाइ छ। 'संक्रमणको जोखिम र सम्भावना विश्वभर यथावत् छ। तर हामी सर्तक रहन आवश्यक छ। भाइरसभन्दा अगाडि त्रास फैलनुले निकै समस्या सिर्जना गरेको छ,' उनले भने।  

पुनका अनुसार केही अवस्थामा यो भाइरसको संक्रमण लक्षण नदेखिइ फैलिएको छ।

स्पेनमा भने १६५ जनामा उक्त संक्रमण देखिएको छ। जसमध्य भ्‍यालेन्सियामा मात्र १९ जना संक्रमित छन्। त्यस्तै मड्रिडमा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयले मंगलबार ट्वीटरमार्फत् तत्कालका लागि खेलकुदका कार्यक्रमहरु र स्वास्थ्य सम्मेलनहरु स्थगित गर्न आग्रह गरेको थियो। फरक भौगोलिक स्थलबाट जम्मा हुने खेलाडीका कारण कोरोना भाइरसको संक्रमण फैलने सम्भावनालाई न्यून गर्न उक्त सूचना जारी गरे लगत्तै मृत्युको खबर सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell