PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन प्रजिअ कँडेलको आग्रह



सुमित मिश्र

कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन प्रजिअ कँडेलको आग्रह

जनकपुरधाम : धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले कोराना भाइरसबाट बच्न आ-आफ्नो ठाउँबाट सबैले सावधानी अपनाउन आग्रह गरेका छन्। धनुषामा अहिले सन्त्रासको अवस्था नरहेपनि सार्वजनिक कार्यक्रमहरुमा जाँदा सावधानी अपनाउन प्रजिअ अधिकारीले आग्रह गरेका हुन्।

कँडेलले विभिन्न माध्यमहरुबाट कोरोना सम्बन्धी सचेतनाका लागि आफूहरुले काम गरिरहेको जानकारी दिए। कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नम्बर २ को अधिकांश सीमावर्ती क्षेत्रका नाकामा हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिए।

प्रदेश नम्बर २ को धनुषा, महोत्तरी, सर्लाही, पर्सा र सिरहा लगायतका सीमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं जाँचका लागि हेल्थ डेक्स स्थापना गरिएको हो।

कोरोना भाइरसको लागि हेल्थ डेस्क स्थापना गरिएपनि व्यवस्थापन फितलो देखिएको छ। प्रदेश नम्बर २ को अधिकांश क्षेत्र भारतसँग जोडिएको छ। जसले गर्दा सहज आवगमन भइरहेको छ। प्रदेश सरकारले अधिकांश स्थानमा कोरोना भाइरस रोकथामका लागि हेल्थ डेस्क स्थापना गरिएपनि दक्ष जनशक्ति सबै नाकामा छैनन् भने थर्मल स्क्यानर र ईन्फ्रा-रे थर्मोमिटर भने अहिलेसम्म पनि उपलब्ध छैन।

स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर २ का सूचना अधिकारी विजय झाले कोरोना भाइरसको रोकथामका लागि हरेक जिल्लामा रहेका स्वास्थ्य चौकी र ११ वटा अस्पतालमा कोरोना भाइरस जाँचका लागि व्यवस्था गरिएको जानकारी दिए। उनले विदेशबाट आउने मानिसहरुको जाँचका लागि व्यवस्था मिलाइएको बताए। क्वारेन्टाइन कार्यालयमा दुई सातासम्म राखेर उपचार गर्ने व्यवस्था मिलाइएको उनले दावी गरे।

धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिकामा एक ठाउँमा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको ३ ठाउँमा, जनकनन्दनी गाउँपालिकाको २ ठाउँमा, महोत्तरीको विभिन्न ११ ठाउँमा, सर्लाहीको सोनवर्षा, पर्साको रक्सौल लगायतका नाकामा कोरोना भाइरस हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell