PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ मा बढ्यो श्रम स्वीकृति लिनेको संख्या



सुमित मिश्र

प्रदेश २ मा बढ्यो श्रम स्वीकृति लिनेको संख्या

जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित श्रम तथा रोजगार कार्यालयबाट चालु आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि फागुन महिनाको १४ गतेसम्ममा १० हजार २ सय ३२ जनाले श्रम स्वीकृति गराएका छन्।

२०७५ साल पुस १५ गते स्थापना भएको सो कार्यालयबाट प्रारम्भमा केही समस्या आएपनि अहिले सहज र सुलभ रुपमा सेवाग्राहीहरु श्रम स्वीकृति लिई घर फर्किने गरेको श्रम तथा रोजगार कार्यालय जनकपुरधामका प्रमुख सुबोध कुमार महतोले जानकारी दिएका छन्।

प्रदेशमै श्रम तथा रोजगार कार्यालयको स्थापना भएपछि सेवाग्राहीहरुलाई सहज भएको उनले बताए। कार्यालय प्रमुख महतोले शुरुमा बिचौलियाहरुको बढी बिगबिगी रहेपनि अहिले सबैलाई नियन्त्रणमा ल्याइएको जिकिर समेत गरे। श्रम स्वीकृति लिनेहरुमा सबभन्दा बढी धनुषाकै व्यक्तिहरु रहेको समेत उनले बताए।

धनुषाबाट ६० देखि ७० प्रतिशत व्यक्ति श्रम स्वीकृति लिएका छन् भने अन्य जिल्लाबाट थोरै संख्यामा रहेको उनले बताए । उनले बारा र पर्साबाट कहिलेकाही मात्रै सेवाग्राहीहरु आउने गरेको जानकारी दिए । प्रमुख महतोले दैनिक करिव १ सय ५० जनासम्मलाई यस कार्यालयबाट श्रम स्वीकृति दिने गरिएको बताए । 

उनले भने, ‘शुरुमा टोकन सिस्टम नहुँदा सेवाग्राही र कर्मचारीलाई पनि व्यवस्थापन गर्न समस्या भोग्नु परेको थियो। अहिले टोकन सिस्टम हुँदा सहज भएको छ।’

कार्यालय प्रमुख महतोले अब कागजातहरु पूरा रहेमा दुई घण्टाभित्र श्रम स्वीकृति दिइने जिकिर गरेका छन्।

त्यस्तै, श्रम तथा रोजगार कार्यालयबाट गत आर्थिक वर्षको पुसदेखि २०७६ बैशाख सम्ममा १३ हजार २ सय २३ जनाले श्रम स्वीकृति लिएका छन्। गत पुस १५ गते स्थापना भएको सो कार्यालयबाट पुसमा १ हजार ४ सय ४१ जना, माघमा ३ हजार १ सय १२ जना, फागुनमा ३ हजार ७ जना, चैतमा ३ हजार ८ सय १३ जना र २०७६ बैशाखमा २ हजार ७ सय ८७ जनाले श्रम स्वीकृति लिएको कार्यालय प्रमुख महतोले जानकारी गराएका छन्।

यस कार्यालयमा शाखा अधिकृत २ जना, नायब सुब्बा ३ जना, कम्प्युटर अपरेटर १ जना, भाषा अनुवादक १ जना र कार्यालय सहयोगी ३ जना गरी जम्मा १० जना कर्मचारी कार्यरत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell