PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

युवालाई सिपसहितको रोजगारी दिनु पर्छ : मुख्यमन्त्री राउत



सुमित मिश्र

युवालाई सिपसहितको रोजगारी दिनु पर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले युवाहरुलाई सिपसहितको रोजगारी दिनु आजको प्रमुख आवश्यकता रहेको बताएका हुन्।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनकपुरमा आयोजना गरेको स्वरोजगार कर्जा सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई सिप सहितको रोजगारीमा लगाउनु पर्ने बताए।

मानव संशाधन सबै भन्दा ठूलो शक्ति भएपनि त्यसलाई मुलुकले अहिलेसम्म परिचालन गर्न नसकेकै कारण मुलुक गरिब भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले युवाहरुलाई सिपसहितको रोजगारी दिन सकिए समृद्धि सम्भव रहेको विश्वास व्यक्त गरे।

युवाहरुलाई सिपयुक्त बनाउन प्रदेश सरकारले प्राविधिक विश्वविद्यालयको अवधारणालाई अघि बढाएको बताउँदै मुख्यमन्त्री राउतले प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापनाको लक्ष्य लिइएको जानकारी दिए।

स्वरोजगारको नाउँमा उपलब्ध गराउने ऋणमा रहेको झन्झटिलो प्रक्रियाले लक्षित वर्गहरु सुविधा प्राप्त गर्न नसकेको टिप्पणी गर्दै राउतले स्वरोजगारको लागि दिइने ऋणको प्रक्रियालाई सहज गर्न कोषलाई आग्रह समेत गरे। युवाहरुलाई रोजगारी दिन प्रदेश सरकारले सिप परियोजनासँग सम्झौता गरी कार्यक्रम चलाइरहेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले कोषलाई समेत उक्त कार्यक्रममा सहकार्य गर्न आग्रह गरे।

कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख सचिव राम कृष्ण सुवेदी, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रबैंक जनकपुरका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell