PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपालमा कोरोनाको त्रास : इपिएल र फुटबल विश्वकप छनोटमा भाग लिन भाइरस प्रभावित देशबाटै काठमाडौं आउँदै खेलाडी



नेपालमा कोरोनाको त्रास : इपिएल र फुटबल विश्वकप छनोटमा भाग लिन भाइरस प्रभावित देशबाटै काठमाडौं आउँदै खेलाडी

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास फैलिएको छ। त्यसमा पनि नेपाल भौगोलिक हिसाबले पनि चीनको नजिक रहेकोले भाइरसको प्रकोप बारे नेपालीहरु जानकार छन्। नेपालमा हालसम्म कोरोना संक्रमणको एउटामात्र केस बाहिर आएपनि विश्वभर फैलिरहेको कोरोनाले यहाँको सामाजिक, आर्थिक, खेल, पर्यटन लगायतका धेरै क्षेत्रमा प्रभाव पारिसकेको छ।

चर्चामा रहेको नेपाल भ्रमणवर्ष २०२० पनि कोरोनाको कारण रद्द भइसकेको छ। राजनीतिक दलहरुको सभासम्मेलन पनि घट्दै गएको छ। काठमाडौं जिल्लाकै कुरा गर्ने हो भने सभा, सम्मेलन, उत्सवलगायतका कार्यक्रम नगर्न अनुरोध गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पनि सभासम्मेलन नगर्न अनुरोध गरेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अत्यावश्यक कामबाहेक भीडभाडमा नजान आग्रह गरेका छन्।

'हामीले अर्को निर्णय नभएसम्म कुनै पनि प्रकारको सभा समारोह उत्सव, मेला आयोजना नगर्न भनेका छौं। विश्व स्वास्थ्य संगठनले पनि बिना कारण बाहिर ननिस्कन भनेको छ।' उनले पहिलपोस्टसँग भने, 'त्यसैले हाम्रो आग्रह के हो भने यो बेला जमघट नगर्ने, भीडभाडमा नजाने र अत्यावश्यक काम बाहेक ननिसकने भन्ने नै हो।'

+++

विहानै चिया पसल पुगेर गफ सुन्नुहोस या सामाजिक सञ्जाल स्क्रोल गर्नुहोस चर्चामा छ। कोरोना भाइरस।

फागुन अन्तिम साता चलिरहेको छ। चैत आउन एक हप्ता मात्र बाँकी छ। विशेषगरी नेपाली खेलकुदका लागि चैत महिना विशेष छ। एउटा एभरेस्ट प्रिमियर लिग (इपिएल) र अर्को विश्वकप छनोट अन्तर्गतको नेपालको अस्ट्रेलिया र चाइनिज ताइपेइसँगको खेलका लागि।

प्रसंग थालौं इपिएलबाट। नेपाली क्रिकेटमा एकपछि अर्का क्रिकेटका नामहरु आइरहेका छन् इपिएलमा। क्रिकेटका युनिभर्सल बोस क्रिस गेलदेखि उपुल थरंगा, ड्वेन स्मिथ, मोहम्मद सहजादजस्ता खेलाडीहरु इपिएलमा आउने पक्का भएपछि क्रिकेट समर्थकहरु जुर्मुराएका छन्। उनीहरुमा यसपटकको क्रिकेट हेर्न छुट्टै उत्साह देखिन्छ। तर, कोरोना भाइरसले केकति प्रभाव पार्ने हो भन्ने विषयले उनीहरुको उत्साह समाप्त हुन सक्ने खतरामा पर्ने देखिन्छ।

एकातर्फ सभा सम्मेलन र भिडबाट समेत टाढा रहन सरकारले आग्रह गरिरहेको छ। अर्कोतर्फ इपिएलको रौनक बढ्दो छ। अझ फुटबलको कुरा गर्ने हो भने अस्ट्रेलिया र चाइनिज ताइपेइसँगको खेलका लागि दशरथ रंगशालामा दुबो रोप्ने लगायतको कामहरु चलिरहेको छ।

करिव १५ हजार सिट क्षमताको दशरथ रंगशालामा नेपालको खेल हुने हो भने कति समर्थकहरुको उपस्थिति रहन्छ भन्ने १३ औं सागले देखाइसकेको छ। अहिले त विश्वकप समेत खेलिसकेको अस्ट्रेलिया नेपाली मैदानमा फुटबल खेल्न आउँदै छ। सागमै त फाइनलका दिन रंगशालाबाहिर त्रिपुरेश्वरमा एलइडी स्कीनमै त नेपालको खेल हेर्ने दर्शकको त्यो भीड थियो भने सिनियर टिमको खेलमा अझै धेरै मानिस आउने निश्चित छ।

लामो समयपछि नेपाली भूमिमा हुन लागेको खेलमा यति समर्थक उपस्थित गराउन कुनै ठूलो ढोल पिटाउन आवश्यक पनि देखिँदैन।

यस्तोमा कोरोना भाइरस फैलने खतरा त्यसै पनि बढेर जान्छ। त्यस्तै इपिएलमै पनि स्टार खेलाडीहरु भित्रने हुँदा ठूलो भीडभाड हुने निश्चित नै छ।

+++

चैत महिनामा हुने खेल गतिविधिमा कोरोनाको प्रत्यक्ष सम्वन्ध छ। अझ फुटबलमा मार्च २६ मा हुने चाइनिज ताइपेइको खेल अझ जोखिमपूर्ण छ। चाइनिज ताइपेइ आफैमा कोरोनासँग जुधिरहेको छ। हालसम्म ४२ जनामा कोरोनाको सङक्रमण भेटिएको चाइनिज ताइपेइमा १ जनाको मृत्युसमेत भइसकेको छ। अस्ट्रेलियामा पनि कोरोनाको संक्रमण बढ्दै गएको छ। त्यहाँ हालसम्म ५३ जनामा भाइरसको संक्रमण देखिसकेको छ भने दुईजनाको त मृत्यु नै भइसकेको छ।

त्यस्तो अवस्थामा कोरोनासँग जुधिरहेको राष्ट्रबाट खेलाडीहरु नेपाल आउँदा संक्रमणको त्रास बढ्ने कुरापनि विचारनीय छ। उसो त नेपाललाई पनि विश्वस्वास्थ्य संगठनले कोरोनाका लागि जोखिमपूर्ण मुलुकका रुपमा राखिसकेको छ।

त्यस्तै इपिएलमा आउने खेलाडीहरु पनि युरोप, दक्षिण एसिया, क्यारेबियन लगायतका क्षेत्रका छन। यी क्षेत्रहरुमा पनि कोरोनाको असर देखिइसकेको छ। इपिएलमा विदेशी खेलाडी आउने देशमध्ये श्रीलंका, ओमन, अफगानिस्तान, आयरल्यान्ड लगायतका देशमा कोरोनाले असर गरिसकेको छ।

कोरोनाका कारण विश्वभरका खेलकुद गतिविधिहरुमा असर परेको छ। ओलम्पिकदेखि फिफा विश्वकप, क्लब फुटबल, रेसिङ लगायतका खेलहरु भाइरसको संक्रमणसँगै प्रभावित भएका छन्। कति खेलहरु त रद्द नै भइसके। उनीहरुले हाललाई खेलभन्दा  आफ्नो देशको नागरिकको स्वास्थ्यलाई बढी प्राथमिकतामा राखेका छन्।

हाम्रोमा पनि सरकारले सभासमारोह नगर्न भनेर भनिसकेको अवस्थामा कोरोनासँगै जुधिरहेको राष्ट्रबाट खेलाडीहरु ल्याएर काठमाडौंमा खेलको उत्सव नगर्न सरोकारवालाहरुले माग गरिरहेका छन्। काठमाडौं जिल्ला प्रशासनले होलीकै कार्यक्रम रद्द गर्न भनेर भनिसकेको अवस्थामा हजारौं मानिस सहभागी हुने खेलकुदका खेलहरु काठमाडौंमा आयोजना गर्दा त्यसले पार्ने प्रभावबारेमा सरोकारवालाहरु अहिले नै सचेत हुनपर्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell