PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गल्कोटका दुई टन ढुंगामा १५ मूर्तिकारले कुँदे मूर्ति



गल्कोटका दुई टन ढुंगामा १५ मूर्तिकारले कुँदे मूर्ति

बाग्लुङ : बागलुङको गल्कोट नगरपालिका ५ हरिचौर टेउवामा गत फागुन ५ देखिबाट शुरु भएको गल्कोट अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला वुधवार सम्पन्न भएको छ।

ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुर्नजागरण ल्याउने गरी गरिएको कार्यशालाको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले कार्यशालाको समापन गरे।

गण्डकी प्रदेशमै पहिलोपटक अन्तरार्ष्ट्रिय स्तरमा ख्याती कमाएका कलाकार सहभागी कार्यशालाले अन्तरार्ष्ट्रिय स्तरको मान्यतासमेत पाएको छ। अन्तराष्ट्रिय मूर्तिकारहरुको संस्था ‘एसम’ले कार्याशालालाई नेपालको विकट भूगोलमा फरक  सोचका साथ कार्यशाला सफलतापूर्वक सम्पन्न गरेकोमा यो मान्यता दिएको उल्लेख गरिएको छ। बुधबार उक्त संस्थाले पठाएको प्रमाणपत्र गल्कोट कला केन्द्रलाई हस्तान्तरण गरियो।

कार्यशालाले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएसँगै यसको गरिमा थप बढेको कार्यशालाका अभियन्ता तथा मूर्तिकार ओम खत्रीले बताए। ११ देशका १५ मूर्तिकार सम्मिलित कार्यशाला १५ दिनसम्म सञ्चालन भएको थियो।

गल्कोट सेरोफेरोबाटै संकलन गरिएका ढुङ्गाहरूमा मूर्तिकारले कला आकृति भर्ने काम गरेका छन्। ऐतिहासिक महत्व बोकेको गल्कोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखीलाई आकर्षित गर्ने महत्वकांक्षी लक्ष्यसहित कार्यशाला आयोजना गरिएको गल्कोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए।

ब्राजिलका जर्ज लुइजले घुम्टे पहाडलाई ढुंगामा कुँदेर सुन्दर मूर्ति तयार गरे। जहाँ घुम्टे लेकको ९ हजार ३ सय ९३ फिट उचाइमा रहेका सिद्ध भैरव मन्दिरदेखि त्यस तलका वन जंगल, पोखरी, गाउँवस्ती सबै मूर्तिमा प्रष्ट देख्न सकिन्छ। गाउँकै खोलाबाट ल्याइएको दुई टनभन्दा बढीको ठुला ढुंगा कडा खालको भएकाले मूर्ति बनाउन केही कठिनाई भए पनि नेपालको प्रकृतिले सबै कुरा बिर्साएको जर्जले बताए।

अहिले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको गलकोट नगरपालिकाका अधिकांश घरका बासिन्दाको गन्तव्य बनेको छ जापान। जापानबाट आएका मूर्तिकार जुनीचिरो सुगीमोताले नेपाल जापानको दैत्य सम्बन्ध र रेमिट्यान्सले पारिरहेको असरको प्रतिकात्मक मूर्तिकला "सटल फिरिरि" तयार गरेका छन्।

‘म जापानका अधिकाशं रेष्टुरेन्टहरुमा पुग्दा त्यहाँ नेपाल र त्यसमा पनि गलकोटका धेरै युवायुवतीलाई भेट्ने गरेको छु,’ जुनीचिरोले भने, ‘अहिले गलकोट र घुम्टेको  काखमा आएर मूर्ति बनाउँदा यो गाउँ, यो ठाउँ र ती नेपालीहरुलाई सम्झिएर मूर्ति बनाउने प्रयास गरिरहेको छु,’ उनले भने।

जुनिचिरो विश्वमै चर्चित मूर्तिकार हुन्। उनको सम्मानमा जापानको एउटा शहरको नाम जुनिचिरोको नामबाटै राखिएको छ भने उनको जापानमा आफ्नो निजी संग्राहलय पनि रहेको छ।

भारतका प्रसिद्ध मूर्तिकार टुटु पटानायक पनि सुन्दर घुम्टेको आँगनमा उभिएर अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका कलाकारसँग सहकार्य गर्दै कलाकर्म गर्न पाउँदा आफू प्रफूल्लित भएको प्रतिक्रिया दिए। उनले पूर्वीय मिथमा आधारित हनुमानले पहाड बोकेर हिँडेको मूर्तिकला सिर्जना गरेका छन्।

त्यस्तै नेपालका कलाकार राजन काफ्लेले प्रकृति र आधुनिकताले परेको प्रभाव,  असर र असन्तुलनलाई कलाको बिषय बनाएका छन्। अर्का नेपाली मूर्तिकार राजु पिठाकोठीले जंगल, जनावर र जललाई सुन्दर ढङ्गले कुँदेका छन्।

बुद्ध थारुले बुद्ध मूर्ति बनाएका छन् भने प्रविण श्रेष्ठले गणेश भगवानलाई फ्युजन गरी पोट्रेट गरे। कार्यशाला स्थलमा ठडिएका सबै मूर्तिहरूले भिन्नभिन्नै भाव र अर्थ सम्प्रेषण गरेको पाइन्छ।

कार्यशालामा उपस्थित कलाकारहरू नेपाल आएर यहाँको प्रकृति, संस्कृति, गाउँले जीवन र स्थानीयसँग संवाद- संगत गर्दै काम गर्न पाउँदा अत्यन्तै खुशी भएको प्रतिक्रिया दिए।

कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटे सहभागी थिए। यस्तै जुनीचिरो सुगीमोतो(जापान), ल्यू याङ(चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज(फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागिता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell