PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

‘कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम, जोगीरा सररर...!!’ मिथिलाञ्चलमा सुनिन छाडेको त्यो फागु गीत



सुमित मिश्र

‘कौन ताल पर गोरिया नाचे, कौन ताल पर हम, जोगीरा सररर...!!’ मिथिलाञ्चलमा सुनिन छाडेको त्यो फागु गीत

जनकपुरधाम : होली पर्व र संगीत बीच गहिरो सम्बन्ध हुन्छ। संगीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन। भनिन्छ होली पर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो। कुण्ठित विचार र मनभित्र दबेका विचारलाई प्रस्फुटित गर्ने सबैभन्दा उत्तम माध्यम नै मिथिलाञ्चलमा गाइने जोगिरा गीत हो।

कौन ताल पर ढोलक बाजे कौन ताल मृदङ्ग
कौन ताल पर गोरिया नाचे कौन तालपर हम
जोगीरा सररर...

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुका बीच उर्जाको सञ्चार गर्ने गर्छ।

किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबीर झोरी?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबीर झोरी! जोगिरा..सररर..!!

(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबीरको झोला? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबीरको झोला)

पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रउस मिसिएका मैथिली भाषामा गाइने जोगिरा (फागु गीत) पछिल्लो समय मिथिलाञ्चलमा सुनिन छाडेका छन्।

बसन्त पञ्चमी (श्रीपञ्चमी) कै दिनदेखि अबिर खेल्न शुरु गर्दै फागुन पूर्णिमासम्म दिनदिनै प्रत्येक रात डम्फू बजाएर समूहमा गाइने जोगिरा अब मिथिला क्षेत्रमा हराउन थालेका छन्। जोगिरा गाउने पुराना पुस्ताका मरिसकेका र केही वृद्ध भएसँगै नयाँ पुस्ताले यसबारे चासो राख्न छाडेपछि अब मिथिलामा जोगिराको डम्फू बज्न छाडेको बताइन्छ।

‘यसपालिको होली मुखमा आइसक्यो, न डम्फू बज्छ, न जोगिराका स्वर नै सुनिन्छन’, वर्षौंदेखि जोगिरा गाउँदै आएका भंगाहा-४ का लाली महतोले भने, ‘मेरा समूहका धेरै साथी मरे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रउस छ, तर साथ दिने कोही छैनन्।’

बसन्त पञ्चमीसँगै होली (फागु) पर्वको सन्देश छर्ने जोगिरा.. (फागु गीत) सुनिन छाडेपछि महोत्तरी सहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ।

तिथिमिति सम्झना नराख्नेका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन)का तालमा जोगिरा गीत गाउने परम्परा एक दशकयता सुन्न छाडिएको हो। आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीक मानिने ‘फागु’ (होली) पर्वमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिविम्ब हुने जोगिरा सुन्न छाडिएपछि यो पर्व आएको छनक नै हुन छाडेको छ।

संस्कृतिको सम्झनामात्र नभई त्यो प्रतिको समर्पण भाव, भक्तिका लय तथा रतिराग, दुःख र जीवनका तिता अतित बिर्साउने रउस र अबिर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको छ।

‘होली आएको पत्तै हुँदैन’, बर्दिवास-९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतो खिन्न हुँदै भन्छन्, ‘टोलटोल बस्तीबस्तीमा प्रत्येक रातजसो गुञ्जिने जोगिरा अब सुनिन छाडिएका छन्।’

नयाँ पुस्ताले पुराना संस्कृति बिर्सदै गएपछि अब आउने पुस्ताले जोगिरा भन्ने कुरा इतिहासमा मात्र पढ्ने स्थिति आइपुग्ने महतोको चिन्ता छ।

कोन ताल पर डम्फू बाजे,
कोन ताल मृदङ्ग,
कोन ताल पर गोरिया नाचे,
कोन ताल पर हम!! जोगिरा सरररररररर!!

(डम्फू कुन तालमा बज्छ, कुन तालमा मादल? अनि गोरी कुन तालमा नाच्छिन् अनि म कुन तालमा?)

‘होलिया’ (फागु गीत गाउने गायक)का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन्।

हे डम्फाके चोट महलबीच पहुँचय,
सुतली गोरिया चहक् उठय.. अही फागुन में! जोगिरा..सरररर!!

(जब डम्फूको आवाज घरभित्र पुग्दछ, सुतेकी नवयौवना जाग्छिन..फागुमा)

ख्यालठट्टा गर्न मैथिल सामाजिक स्वीकृति पाएको नाताबीच (साली-भिना, देवर-भाउजु, सोल्टी-सोल्टीना) बीच जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृङ्गारिक गीतका भावले फागु खेल्न आउन चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको महोत्तरीकै एकडारा गाउँपालिका भटौलियाका विजयकुमार कर्ण बताउँछन्।

सामाजिक छुवाछुत, उचोनिचो जात र भिन्नभिन्न धर्म संस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ। तर, यसको सौन्दर्यको महत्वपूर्ण अंग जोगिरा लोप हुँदै गएर अब ‘डिस्को’ बज्न थालेपछि मैथिल मौलिकता हराउँदै गएको कर्णले चिन्ता व्यक्त गरे।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभई होलियाबीच नै ठट्टा गर्ने नाताबीच हुने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन।

कई हाथ के धोती पहिरेई, कई हाथ के लपेटा,
कई धार के पानी पिए, कई बाप के बेटा..!
जोगिरा..सररर!!

(कति हातको धोती लाउँछौँ? तिमीले लाउने धोतीको कति हात लपेटा छ? कतिवटा खोलाको पानी खाएका छौ, कति बाबुको छोरा हौ?)

एकपक्षले अर्कोपक्षलाई ‘कई बापके बेटा’ (कतिवटा बाबुको छोरा) भनेर गीतमार्फत नै सोधिने भाव होलीको जोगिराबाहेक अरु बेला कल्पना पनि गर्न सकिन्न।

तर केही वर्ष यता जोगिरा लोप हुँदै गइरहेको छ। मिथिलाको प्राचिन परम्पराहरु मध्ये जोगिरालाई बचाउनका लागि युवाहरुले नै भूमिका खेल्नु आवश्यक रहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell