PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१५ दिने मिथिला मध्यमा परिक्रमा आइपुग्यो जनकपुरधाम



सुमित मिश्र

१५ दिने मिथिला मध्यमा परिक्रमा आइपुग्यो जनकपुरधाम

जनकपुरधाम : फागुन औँसीका दिनदेखि विधिवत रुपमा शुरु भएका मिथिलाको माहाकुम्भ मानिने धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला मध्यमा  परिक्रमा आज जनकपुरधाम आइपुगेको छ।

परिक्रमामा सहभागी भक्तजनहरु जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरीजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, भारतको करुणा, विशौल भइ १५ पडावस्थल पार गरी आज जनकपुरधाम आएका हुन्।

सहभागीहरु रात्री विश्राम गरेर भोली (सोमवार)अन्तरगृह परिक्रमा गर्नेछन्। अन्तगृह परिक्रमामा जनकपुरधामको परिक्रमा गरिन्छ जसलाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ। अन्तगृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरुले समेत भाग लिने गर्दछन्।

नेपाल भारतका लाखौँ व्यक्ति सहभागी रहेको १५ दिने मध्यमा परिक्रमामा नेपला र भारतको भूमि प्रयोग हुने गरेको छ। त्रेता युगमा भगवान राम र सीताले पनि यसै मार्ग भएर परिक्रमा गरेको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष यसै तिथिमा प्रारम्भ भएर फागु पूर्णिमाका दिन अन्तगृह परिक्रमा पछि श्रद्धालुहरु घर फर्किने गरेका छन्।

मिथिला महात्मामा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धी गरी तीन प्रकारको परिक्रमा हुन्छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफ्नै महत्व रहेको छ।

लाखौं श्रद्धालुको सहभागिता रहने यस परिक्रमा यात्राको क्रममा नेपालका ११ तथा भारतका ४ गरी १५ पडावस्थल परिक्रमा गर्ने गरिन्छ। परिक्रमामा सहभागी यात्रीहरुले नेपालको १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा गर्ने गर्छन्।

जनकपुरधाममा बुधवार होली

सोमवार अन्तगृह परिक्रमा भइसकेपछि जनकपुरधाममा बुधवार होली पर्व मनाइने छ। अन्य भेगमा मंगलवार नै होली मनाउने भएपनि जनकपुरमा बुधवार होली मनाइने छ। मंगलवार अधिकांशले माछामासु नखाने भएकोले पनि बुधवार यहाँ होली मनाइने गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell