फेब्रुअरी १ तारिख। फिल्म ‘थप्पड’को ट्रेलर सेयर भएर पटकपटक टाइमलाइनमा आयो। नहेरी बस्न सकिनँ। नहेरेको भए हेर्नै पर्ने कुरा छुट्थ्यो। धन्यवाद ती साथीहरुलाई जसले ट्रेलरको चर्चा गरिदिए।
श्रीमानले एक थप्पड लगाउँदा आत्मसम्मानमा चोट पर्छ फिल्मकी केन्द्रीय पात्र अमृताको। सहनु अनि अघि बढ्नु स्वीकार्य हुँदैन उनलाई। त्यसैले सम्बन्ध विच्छेदको निर्णय लिन्छिन्।
महिला वकिलकहाँ कानूनी सहायता लिन पुग्छिन् उनी। वकिलले सोध्छिन्- जाबो एक थप्पडका कारण डिभोर्स?
पीडित महिला आफ्नो निर्णयमा अडिग रहन्छिन्। भन्छिन्- 'हुन त एक थप्पड मात्र हो। तर उसले मलाई पिट्न पाउँदैन।'
समाजको प्रश्न, परिवारको इज्जत, आफ्नो परनिर्भरतालाई बिर्सिएर ती पात्रले जस्तै स्वनिर्णय गर्न कहाँ सक्छन् र सबैले। कति होलान् श्रीमानले आफूसँग के गर्न पाउँछन्, के गर्न पाउँदैनन् भन्न सक्ने अधिकार उपयोग गर्ने?
जिज्ञासा जाग्यो। जाग्नु स्वभाविक पनि होला। किनकि ट्रेलर हेर्दै गर्दा जुन संवाद र दृश्य गलत लागे ती आम मानिसको भोगाइ हो। जसलाई 'सहनु त पर्छ है' भनेरै हुर्काइयो। 'नाईं भन्नु हुन्न है' भन्ने सिकाइयो।
सहँदासहँदै, इच्छा र सपनाहरु दबाएर 'हस्' भन्दाभन्दै, संस्कारी बन्दाबन्दै – आमा छोरी वा बुहारीभित्र स्वनिर्णय र प्रतिवादको क्षमता विकास नै हुन पाएन। आफ्ना लागि निर्णय लिन नसक्दा उसले निभाउनु पर्ने दायित्व हाबी भयो। दायित्व सँगसँगै अधिकार आउनै सकेन।
यिनै समस्याहरुसँग जुधेर श्रीमान, परिवार र समाजको निर्देशनलाई 'नाइँ' भन्न सिकेकी पात्र देखें तापसी पन्नुमा। त्यसैले फिल्म 'थप्पड' प्रतिक्षारत् बन्यो मेरा लागि।
***
फेब्रुअरी १०। स्वास्थ्य परीक्षणका लागि डाक्टरको समय लिएकी थिएँ। अस्पतालमा पालो पर्खनु साह्रै पट्यार लाग्दो काम हो। त्यसैले साथी लिएर गएँ। उसलाई मेरो समस्याबारे बताएको थिएँ। उसैले भनेको थियो- 'केही परे भन है।'
अस्पतालको पहिलो तला उक्लने बेलासम्म पनि सबैकुरा ठीकठाक थियो। पालो पर्खने ठाउँमा ठूलै भिड थियो। त्यहाँ पुग्नासाथ साथीको अनुहारको रङ बद्लियो। सोचें - सायद उसले अनुमान गरेभन्दा धेरै मानिस देख्यो।
तर, उसका आँखा त पटक पटक ढोका छेउको बोर्डमा पर्दै रहेछ, जहाँ 'स्त्री तथा प्रसुती रोग विभाग' लेखिएको थियो।
उसलाई सहज महसुस गराउन सोधें- के भयो?
'सानो काम थियो। एकछिन पुगेर आउँछु। तिमी बस्दै गर है?', ऊ सास नरोकी बोल्यो। मानौं मेरै प्रश्न पर्खिरहेको थियो। मसँग नाइँ भन्नुपर्ने कारण थिएन। उ गयो।
केही बेरमा पालो पर्खिरहेकाहरु बीच एक युवतीले सबैको ध्यान खिचिन्। उनी कसैसँग भिडियो च्याट गर्दै थिइन्। ठूल्ठूलो स्वरमा। भन्दै थिइन्- 'बुढा पनि आउनु भा'छ।'
'पालो आएको छैन।'
'तेरो पनि भिडियो खोल् न।'
उनी निकै रौसे देखिन्थिन्। हाँस्दै बोल्दा पुलुक्क अरुतर्फ हेर्थिन् अनि मुसुक्क हाँस्थिन्। उनी खुशी देखिन्थिन्। उनलाई हेरेर मपनि खुशी भएँ।
एकजना पुरुष सरासर उनी नजिकै गए। प्लास्टिकको गिलासमा ल्याएको फ्रेस जुस हुनुपर्छ, युवतीतर्फ सोझाए। युवती नाइँ नास्ती गर्दै थिइन् तर जबरजस्ती पिउन लगाए। ती पुरुषले हातैले उनको मुख पुछिदिए। प्लास्टिक र ग्लास नजिकको डस्टबीनमा लगेर फाले। त्यसपछि युवती बसेकै बेन्चमा बसे।
युवतीको वार्तालाप सकिएछ। श्रीमानको पाखुरामा टाउको अड्याइन् र आँखा चिम्म गरिन्।
ती पुरुषले श्रीमतीलाई जताएको प्रेम देख्दा, 'स्त्री रोग विभाग' वाला बोर्डसँग नतर्सिएको देख्दा र श्रीमतीलाई आवश्यक पर्दा उनीसँगै भइदिएको देख्दा मलाई खुशी लाग्यो।
भित्रबाट चर्को आवाजमा मेरो नाम लिइयो।
भित्र गएँ।
आफ्नो समस्या सुनाएपछि डाक्टरले पर्दा पछाडिको शैय्यामा गएर सुत्न निर्देशन दिइन्। तर, उनी त्यहाँ आइनन्। नयाँ बिरामीको कुरा सुन्न थालेको मैले चाल पाइहालें। ठम्याउन मुश्किल भएन, आवाज त्यही युवतीको थियो जो बाहिर फोनमार्फत् कुरा गर्दै थिइन्। डाक्टर सँगसँगै मैले पनि उनको समस्याहरु सुनें। शरीर सिरिङ्ग भयो।
'२५/२६ वर्षको उमेरमै आमा भइसक्यौ। अबोर्सन पनि यति धेरै पटक, बुढालाई सम्झाउन सकिन्न?', डाक्टरले गाली गरेको लवजमा सोधिन्।
उनले केही धकाएको आवाजमा भनिन्,'खोइ म्याम भनेको त हो। मान्नु हुन्न।'
डाक्टरले उनको पाठेघर 'छिया छिया' भएको हुनसक्ने भन्दै केही परीक्षण गराउन सुझाव दिइन्।
कति छोटो समयमै एउटा पुरुषको दुई फरक रुप देखें। बाहिर बिरामी श्रीमतीलाई जुस ल्याएर पिलाउने पुरुषको व्यवहारमा माया देखेकी थिएँ। भित्र जे सुनें त्यसपछि उसको अनुहार सम्झिएँ। झनक्क रीस उठ्यो।
करिव आफ्नै उमेर समूहका विवाहित युवतीले भोग्नुपर्ने त्यस्तो अवस्थाबारे त मैले सोचेकै रहेनछु। केही साथीहरुलाई त घटनाबारे सुनाएँ पनि। सुनाउँदैमा मन शान्त नहुँदो रहेछ। त्यो घटनाले धेरै दिन पिरोल्यो।
'वैवाहिक बलात्कार'बारे कैयन सामग्री पढिन्छ। त्यस विषयमा मानिसहरु छलफल गरेको सुनिन्छ। तर यथार्थमा त्यस्ता पात्र भेटिन्छन् जसले आफ्नो यौन तथा प्रजनन् स्वास्थ्यका लागि बोल्न पाउँदैनन्। वैवाहिक बलात्कारविरुद्ध बोल्नु परको कुरा। अथवा उनीहरु बोलेको सुन्ने कोही हुँदैनन्। श्रीमान् पनि।
श्रीमानले गर्भ निरोधक सामग्री प्रयोग गर्न 'नाइँ' भन्छ। महिलाले खुरुक्क मान्नु पर्छ। 'गर्भ रह्यो। यो बच्चा जन्माउँ है?' भनेर सोध्दा श्रीमानले पुन: नाइँ भन्छ। उनी सहमतिमा मुन्टो हल्लाउन बाध्य हुन्छिन्। उस्तै गरी प्रेमपूर्वक हात समातेर गर्भपतन गर्न लैजान्छ श्रीमान्। फलफूल र जुस खुवाउँछ। प्रेम जताउँछ अनि उनी खुशी हुन्छिन्।
'नाइँ' भन्न सिक्नु, सक्नु र त्यसपछि आइपर्ने सम्भावित चुनौतीहरुसँग जुध्न सक्ने ताकत कथित सामाजिक मर्यादाले दबाउँछ। त्यो दबाबसँग जुध्न कति समय लाग्छ थाहा छैन। तर, महिलाले ‘नाइँ’ भन्न नसक्नु र पुरुषले ‘नाइँ’ स्वीकार्न नसक्नुले नै लैङ्गिक समानताको तुलोलाई असन्तुलित बनाइराखेको भने पक्कै हो।
नत्र श्रीमतीको पीडामा श्रीमानलाई नदुखेपनि उसको घाउ ठीक बनाउन साथ दिनु पर्ने होइन? श्रीमतीको शरीरबाट पाइने फाइदाको हिसाब आफूले कमाउने पैसा र गर्ने खर्चसँग मिलाउन छाड्नु पर्ने होइन? श्रीमानले श्रीमतीको स्तन वा पुट्ठा यौन आकर्षणभन्दा बढी प्रजनन स्वास्थ्यसँग जोडिएका अङ्ग हुन् भन्ने सत्य नस्वीकारेसम्म यस्ता घटनाको श्रृङ्खला चुलिइरहन्छ।
हामीले लेख, साहित्य, फिल्म वा कलाको अन्य माध्यममार्फत् उठाउने महिला अधिकार र लैङ्गिक समानताको प्रभाव ‘हिट्स’मै सीमित रहन्छन्। महिलाको कम्मरदेखि हिपसम्मको अनुपात मिलाउने, स्तन घटाउने वा बढाउने, चिक बोन्सदेखि नाक, निधार वा ओठको आकार मिलाउने विज्ञापनले ठाउँ पाइ रहन्छन्। अनि कोख खुम्च्याएरै बाह्य शरीर चिटिक्क पार्न बाध्य भइरहन्छन्।
यसरी महिलाले भनेको ‘नाइँ’ मधुरो नै सुनिइन्छ, सधैं।
***
फेब्रुअरी १९। एकजना साथीसँग भेटघाट तय भयो। उनी आए। पढाई र करियरबारे कुराकानी भयो। त्यतिन्जेल मलाई उनको व्यवहार अस्वभाविक लागेको थिएन।
केही बेर बसेर निस्कियौं, कार्यालयतर्फ। हिँड्दा हिँड्दै अचानक उनले आफ्नो हात मेरो काँधमा पुर्याए। मलाई असहज महसुस भयो। म आफैले उनको हात पन्छाएँ।
'त्यसरी हात राखेको मलाई मन परेन,'प्रष्टसँग भनेको पनि हुँ।
उनले त मुस्कुराउँदै आफ्नो हात फेरि मेरो काँधमा राखे। यो पटक जबरजस्ती। त्यो व्यवहार सह्य भएन। वचन लगाएँ र आफ्नो बाटो लागें।
उनले मेसेजमार्फत् आफ्नोतर्फबाट स्पष्टिकरण दिए। सोचे होलान्– कुममा हात राख्दैमा के भयो र? दुर्व्यवहार त होइन नि।
तर मलाई भने निकै हेपिएको महसुस भयो। मैले 'नाइँ' भन्दाभन्दै उनले मलाई दोहोर्याएर अंगालो हाले।
व्यङ्ग्यात्मक त के भने – अस्पतालमा देखिएकी ती युवती र उसको श्रीमानको बारेमा उनलाई बेली बिस्तार लगाएको थिएँ। ती युवतीको पक्षमा भावुकता र पुरुषको विरोधमा आक्रोश व्यक्त गरेका समेत हुन्।
आखिरमा उनी पनि त्यही प्रवृत्तिका रहेछन् - जो महिलाले 'नाइँ' भनेको पढ्दा, हेर्दा 'सही' थाप्छन्। तर यथार्थमा सुन्न चाहँदैनन्। सुने पनि नसुनेझै गर्छन् वा एक कानले सुनेर अर्कोले उडाउँछन्। आफ्नो इगोविरुद्ध महिलालाई प्रतिवाद गर्न दिँदैनन्।
जब यस्तो प्रवृत्ती हाबी हुन्छ तब महिलाले भन्ने 'नाइँ'को अर्थ रहँदैन, सायद।
***
मार्च २।
'थप्पड' हेर्दै गर्दा म पटकपटक झस्किएँ। संवादका कारण, दृश्यका कारण, विम्बहरुको प्रयोगका कारण। हामीलाई सानो लाग्ने घटनाले पार्ने ठूलो असरको जीवन्त चित्रण रहेछ यो फिल्म त। महिलाको मनोदशामा आउने उतार चढावको चित्रण। त्यही घटनाले महिलामा निम्त्याउने वैचारिक परिवर्तन अनि एकल आन्दोलनको शक्ति पनि देखाइएको रहेछ।
'महिला भएपछि त सहन सिक्नु पर्छ', सासु भन्छिन्।
आमाको चिन्ता बेग्लै। उनलाई लाग्छ- छोरीको डिभोर्स हुँदा इज्जत परिवारको जान्छ।
अमृता भने श्रीमान डिभोर्सका लागि राजी नहुँदा पनि त्यो अस्वस्थ सम्बन्धबाट बाहिर निस्कन कोशिश गरिरहन्छिन्। सबैको प्रश्न सुनेर, सहेर।
फिल्मले श्रीमतीको शरीरमा आफ्नो हक जमाउने श्रीमान् प्रवृत्तीमा थप्पड लगाएको छ। छोरी, बुहारीलाई समाजले निर्धारित नियममा बाँधेर इज्जत जोगाउने सोंचमा धक्का दिएको छ। डिभोर्सलाई हाउँगुजी ठान्ने अनि हरेक अस्वस्थ सम्बन्धमा महिलालाई गलत मान्ने विचारमाथि प्रहार गरेको छ।
पर्दामा देखाइएको दृश्यभाषा सबैले उस्तै लेन्सबाट नहेर्न सक्छन्। हलमा अमृता पात्रलाई उसको श्रीमानले थप्पड लगाउँदा जोडजोडले सिट्ठी फुक्ने, ताली बजाउनेहरु पनि थिए। सायद उनीहरु प्रतिनिधि हुन् – महिलाको शरीरसँग खेलेर रमाउनेहरुको।
‘जाबो एक झापड खाँदा यत्रो नाटक?’ भन्ने जिज्ञासुहरु पनि थिए – सायद यी तिनै हुन् जो ‘काँधमा हात राख्दैमा नराम्रो मान्नु पर्ने के छ र?’ भन्ने खालका तर्क गर्छन्। अमृता पात्र गर्भावस्थामा अदालत धाएको दृश्य देखाउँदा – ‘बच्चा अर्कैको होला’ भन्ने अनुमान पनि सुनियो। अनि तिनले चाहिं समग्र समाजले महिलालाई हेर्ने दृष्टिकोण बोकेरै फिल्म हेर्न आए, सायद। त्यो सामाजिक दृष्टिकोण जसले महिलालाई एक्लै उभिन सक्षम देख्दैन। महिलाको चरित्रमा दोष देख्छ। उसको क्षमतामा विश्वास गर्दैन र ऊ हरेक पटक आफूलाई प्रमाणित गर्न आत्मविश्वाससहित उभिँदा ‘नाइँ’ भनिरहन्छ।
यसरी पितृसत्ताले जकडेको दक्षिण एसियाली समाजमा ‘थप्पड’ बनाउने साहस गर्ने अनुभव सिन्हाहरु निकै कम छन्। अनि पितृसत्ताविरुद्ध लड्ने र जित्ने अमृताहरुको कथा हेर्नु पर्छ भन्दै ट्रेलर सेयर गर्ने साहस पनि निकै कम पुरुषले राख्छन्। उनीहरु महिलाले - नाइँ भन्नु, प्रतिवाद गर्नु, स्वनिर्णय लिनुसँग डराउँदैनन्।
फिल्म हेरिराख्दा मैले अस्पतालमा भेटिएकी ती युवतीलाई सम्झिएँ। कल्पिएँ - ऊ जस्तै अरु कति होलान्? जसलाई महिलाको संघर्ष र सफलताको कथा, कर्तव्य र अधिकारका कुरा, गर्वानुभूति वा आफूविरुद्ध हुने हिंसाको कुराले कतैबाट छुँदैन। जसको पाठेघरको घाउ निको पार्न सक्ने शक्ति उसको श्रीमानसँग मात्र हुन्छ।
सम्झिएँ केही अनुहार जो महिलाको अधिकारका अभियानहरुमा ऐक्यवद्धता जनाउँछन्। तर तिनै महिलाले प्रतिवाद गरेको सहन सक्दैनन्। 'नाइँ' भनेको सुन्ने क्षमता राख्दैनन्। आफ्नो कुण्ठालाई कमजोर तुल्याउन सक्दैनन्।
त्यो कुण्ठाविरुद्ध शक्तिशाली बन्नसक्ने रहेछ एक थप्पड। त्यसैले त्यो प्रवृत्ती जुन महिलाको कोखदेखि काँधसम्मलाई आफ्नो विर्ता ठान्छ त्यसविरुद्ध अब उठ्नु पर्छ हात। गर्नुपर्छ प्रतिरोध।