
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो २ हप्तामा चीन बाहिर १३ गुणाले बढेको बताउँदै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेका हुन्।
उनले भाइरसको बढ्दो प्रभावलाई लिएर आफूहरु निकै चिन्तित भएको भन्दै भने,’ हामी सबै सरकारहरुलाई यो भाइरसको रोकथामका लागि छिटो र आक्रमक’ निर्णय लिन आग्रह समेत गरे।
उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै भने, ‘ विश्वव्यापी महामारी शब्दलाई हल्का वा लापरवाह रुपमा लिनु हुँदैन। यो त्यस्तो शब्द हो, यदि यसको गलत प्रयोग भयो भने यसले बिना कारण धेरै त्रास फैलाउन सक्छ। जसबाट धेरै संख्यामा मानिसहरु प्रभावित हुनेछन् र धेरैको मृत्यु हुन सक्छ।‘
त्यसैले गेब्रायसेजले सबै राष्ट्रहरुलाई आफ्नो अस्पताल र आपतकालिन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्। प्रत्येक सरकारले आफ्ना नागरिकहरुलाई भाइरसबाट सचेत गराउँदै त्यसबाट बच्ने उपायहरुका बारेमा जानकारी दिन समेत उनले भनेका छन्।
"Pandemic is not a word to use lightly or carelessly. It is a word that, if misused, can cause unreasonable fear, or unjustified acceptance that the fight is over, leading to unnecessary suffering and death"-@DrTedros #COVID19 #coronavirus
— World Health Organization (WHO) (@WHO) March 11, 2020
'यो भाइरसको संक्रमण स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित छैन। यसले स्वास्थ्य क्षेत्रमा मात्रै संकट ल्याउने होइन। यो भाइरसले सबै क्षेत्रलाई असर गर्नेछ। त्यसैले सबै क्षेत्र र व्यक्ति मिलेर भाइरसविरुद्ध लड्नुपर्छ' उनले भनेका छन्।
हाल १ सय १० भन्दा बढी राष्ट्रमा कोरोना भाइरसको प्रभाव देखिएको छ। विश्वभर ४ हजार भन्दा बढी मानिसको यो भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको छ भने १ लाख १८ हजारभन्दा धेरै भाइरसबाट संक्रमित भएका छन्।