माइनस ३ को पावरवाला चश्मा कतिखेर कहाँ पुग्यो पत्तो पाइनन् समीरा ब्यञ्जनकारले। होसमा आउँदा शरीरमा पानीका छिटाको महसुस गरेकी थिइन्। उनका आँखाले जे देख्यो ती सबै निकै धमिला थिए। मानिसहरु आत्तिएर चिच्याइरहेको सुनिन्थ्यो। पिरो धुँवाले उनको नाक पोलेको थियो। उठ्न खोज्दा शरीरको आधाभन्दा बढी भाग थिचिएकाले सकिनन्। बोल्न खोजिन् तर आवाज निस्किन गाह्रो भयो।
जबरजस्ती भनिन् - 'हामीलाई बचाउनुस्। हामी यहाँ छौं।'
समीराको देब्रेतिर थिइन् प्रिन्सी, उनको सबैभन्दा मिल्ने साथी। सँगै योजना बनाएका थिए नेपाल गएर टन्न म:म खाने, स्कूटरको लाइसेन्स निकाल्ने, स्वीमिङ सिक्ने र घुम्न जाने।
योजनासँगै सपना पनि एकैखाले देखेका थिए दुवैले - इन्टर्नसिप सक्ने। त्यसपछि एमडीको तयारी। नेपालमै लोकसेवा दिने या विदेशिने भन्ने विषयमा चाहिँ मत बाझ्थ्यो दुवैको। समीरा नेपालमै काम गर्ने पक्षमा सधैं।
योजना र सपनासँगै एकअर्कासँग कक्षाकोठाको बेन्च अनि बस्ने कोठा सेयर गरेका थिए उनीहरुले। बंगलादेशबाट फर्कँदा पनि सँगै थिए। परीक्षा लगत्तै फर्किएकाले थकित थिए। त्यसैले एक घण्टा लामो यात्रामै निदाएका थिए।
तर, जब विमान अस्वभाविक रुपमा घुम्न थाल्यो उनीहरुबीच कुराकानी सुरु भयो :
'भक्तपुर आइपुग्यो अब ललितपुर अनि काठमाडौं।'
'आज किन ल्यान्ड हुने जानकारी दिएनन्?'
'ला प्लेन त घरको कौसीमा ल्यान्ड गर्न लाग्यो कि क्या हो? किन यति तल यसरी घुमाएको?'
'एयर ट्राफिक धेरै छ जस्तो छ। अब समय लाग्छ।'
कतिखेर घर पुगुँ, आमाको हातले पकाएको खाउँ अनि आराम गरुँ भन्ने हतारोमा थिए समीरा र प्रिन्सीसँगै अन्य एघारजना साथीहरु। सबैजसो उड्दै गरेको विमानको झ्यालतिर घाँटी तन्काएर तल हेर्दै थिए। बल्लतल्त विमान रनवेतर्फ सोझिँदै गर्दा उनीहरु एकसाथ कराएका थिए- ल्यान्डिङ, ल्यान्डिङ।
उनीहरुको बोलीमा खुशी मिसिएको थियो।
विमान अवतरण हुँदाहुँदै अचानक चर्को आवाज निस्कियो जुन निकै कर्कश सुनियो।
त्यसको करिब पन्ध्र मिनेटपछि हो समीरा जीवन मरणबीचको दोसाँधमा पुगेको। उनले थाहा पाइन्, विमान दुर्घटना भयो। त्यहाँ कोलाहल मच्चिएको थियो। आगो निभाउन हानिएको पानीको फोहोराको आवाज र एम्बुलेन्सका साइरन पनि सुनिएको थियो। त्यसैबीच आफूभन्दा केही मिटर दुरीमा देखिएको एउटा धुमिल आकृतिलाई बोलाइन् र भनिन्- 'हामी यहाँ छौं। यहाँ। बचाउनुस्।'
डाक्टर बनेर आएकी छोरी आइसियूमा भेटिँदा
छोरी डाक्टरी पढाई सकेर फर्कने दिन। सरिताले घरमा भोजको तयारी गरेकी थिइन्। आफन्त र साथीभाइलाई बोलाएकी थिइन्। छोरीलाई 'सर्प्राइज' दिने तयारी भइरहेको थियो। त्यसैले छोरीलाई लिन विमानस्थलमा एक्लै पुगेका थिए बुबा अष्टवीर।
तोकिएको समयमा विमान आइपुगेन। फ्लाइटबारे जानकारी दिन राखिएको 'स्क्रिनमा' पटकपटक हेर्दै थिए अष्टवीर। उनी त्यही भिडमा थिए, जहाँ उनीजस्तै अभिभावक डाक्टरी पढाईको अन्तिम परीक्षा सकेर फर्किएका छोराछोरीको प्रतीक्षामा थिए। तिनलाई थुम्थुम्याउँदै थिए - 'हिँड्यौं भनेकै डेढ घण्टा भइसक्यो। अब आइपुग्ने बेला भयो।'
करिब सवा दुई बजे स्क्रिनमा देखियो- युएस वंगला २२१ 'ल्यान्डेड'। अन्तर्राष्ट्रिय टर्मिनलबाट छोरी समीरा हाँस्दै निस्किएको कल्पनमा थिए अष्टवीर।
तर, त्यसअघि एकाएक रनवेतर्फबाट धुँवाको मुस्लो फैलन सुरु भयो। अनि केही बेरमै एम्बुलेन्स र दमकलका साइरन सुनिन थाले। अनि उनीसम्मै आइपुग्यो - युएस वंगलाको विमान दुर्घटनाको खबर।
अष्टवीरले विश्वास नै गर्न सकेनन्। अघि भर्खर त हो, त्यही प्लेन 'ल्यान्डेड' भन्ने जानकारी दिएको!
केही बेरमा उनको फोन बज्यो। उद्दारकर्ताको रहेछ। भने – 'तपाईंकी छोरीलाई काठमाडौं मेडिकल कलेज लैजादै छौं। उतै आउनुस्।'
अष्टवीरले घरमा खबर गरे। छोरीलाई 'सर्प्राइज' दिन खटिएकी सरिता आफै 'सक्ड' भइन्। दुवै अस्पताल पुगे। समीरालाई आइसियूमा लगिसकिएको थियो। एकपछि अर्को मृत्युको सूची सार्वजनिक भइरह्यो। हरेक मृत्युका घोषणाले त्रसित बनाइरह्यो सबैलाई। निरन्तर बजिरहेको साइरनसँगै मिसिएको थियो चर्को रुवाबासी।
जति पटक फरकफरक मानिसको अचेत शरीर ल्याइन्थ्यो त्यति नै पटक झस्किँदै आइसियूको ढोकासम्म पुग्थिन् समीराकी आमा। अनि सोध्थिन् - 'मेरी छोरीलाई कस्तो छ?'
'मेरो मम्मीको प्रश्नको जवाफ डाक्टरहरुका लागि पनि अप्ठ्यारो थियो। किनकि म खतरामुक्त थिइँन,' त्यस दिनलाई सम्झिँदै समीराले सुनाइन्, 'तर म भाग्यमानी रहेछु। मैले दोस्रो जीवन पाएँ। ममीको प्रश्नको जवाफ समयले दिँदै गयो।'
चोट त ठीक हुँदै जाला तर याद?
सन् १९९२ मा लाङटाङको घोप्टेभिरमा थाइ एयरलाइन्सको विमान दुर्घटनामा पर्यो। दुर्घटनामा परी ९९ जना यात्रु र १४ जना चालक दलका सदस्य गरी सबैले ज्यान गुमाए। त्यो भयावह दुर्घटनाले बढाएको त्रास र दिएको पीडा कम भइसकेको थिएन, पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा गएर ठोक्कियो। चालक दलका १२ जनासहित १ सय ६७ जनाको घटनास्थलमै मृत्यु भयो। कोही पनि सग्लो भेटिएनन् यी दुवै दुर्घटनामा।
दुई महिनाको अन्तरालमा भएका यी दुई भयावह दुर्घटनापछि नेपालको आकाश कति असुरक्षित छ भन्ने छर्लङ्ग भयो। त्यसपछि नै हो नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा राडर जडान गरिएको।
२६ वर्षपछि नेपालमा त्यस्तै ठूलो विमान दुर्घटना भयो। आजभन्दा ठीक दुई वर्षअघि हो, बंगलादेशको राजधानी ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय एयरपोर्टबाट युएस वंगला एयरलाइन्सको बम्बार्डियर ड्यास ८-क्यु ४०० काठमाडौंका लागि उडेको।
विमानमा ६७ जना यात्रुसहित ७१ जना थिए। एक घण्टाको सामान्य उडानपछि विमान काठमाडौं उपत्यका प्रवेश गर्यो। तर, धावनमार्गतिर सोझिनुपर्ने विमान उपत्यकाका उत्तरी पहाडी क्षेत्रतिर पो उड्न थाल्यो।
जबरजस्ती दिशा मोडेर धावनमार्गमा अवतरण गराउन खोज्दा विमान निकै तल उड्न थाल्यो। अनियन्त्रित भयो र धावनमार्गभन्दा बाहिरतर्फ रहेको जालीमा पुगेर ठोक्कियो। हुरुरु आगो बल्न थाल्यो।
त्यो आगोले समीरालाई छोएन। तर खुब पोल्ने घाउँ दिएर निभ्यो।
दुर्घटनामा ५१ जनाले ज्यान गुमाए। जसमध्ये २३ जना नेपाली थिए। अनि ११ जना समीरासँगै जलालावाद रागिव रविया मेडिकल कलेजमा एमबीबीएस पढ्ने नेपाली विद्यार्थी पनि।
‘म त्यो दिन सम्झन चाहन्न। तर, बिर्सन सकिने घटना पनि त होइन,’ समीरा एकोहोरिन्छिन्।
आँखा खोल्दा काठमाडौं मेडिकल कलेजको आइसियुमा थिइन् उनी। सकेजति मुन्टो घुमाइन्। चश्मा थिएन। दृश्य उस्तै धुमिल थियो। तर, आफ्नी सबैभन्दा मिल्ने साथी प्रिन्सीलाई कसरी नचिन्नु?
उनको आँखाबाट खुशीका आँशु झरे, प्रिन्सीलाई आफूसँगै पाएर। टाउको सुम्सुमाउँदै बसेकी आमालाई सोधिन्- अरु साथीहरु खोइ?
सरिताले एकफेर नजिकै उभिएकी नर्सलाई हेरिन् र भनिन्- 'उपचार गर्नु परेन? यहाँ ठाउँ नअटेर अर्कै अस्पताल लगेको।'
आमाको कुरा विश्वास नलाग्ने कुरै भएन। पत्याइन्। विमानमै यात्रा गरेका अरु केही व्यक्ति र बेस्ट फ्रेन्ड त्यहीँ हुनुले पनि उनलाई ढुक्क तुल्याएको थियो।
भोलिपल्ट अस्पतालमा केही मानिसहरु आए। उनीहरुले आधा शरीर जलेको तस्विर देखाउँदै सोधे- यो कसको फोटो हो? चिन्छौ?
'चारु थिइन्। लुगाले चिनेँ। सानैदेखि सावधान इन्डिया, क्राइम पेट्रोलहरु हेरेकाले होला मनमा अनेक कुरा खेले। डर लाग्यो,' उनले सुनाइन्। त्यस्तै घटना परिघटना। वरपर हुने कुराकानीबाट थाहा पाइन्, दुर्घटनामा प्रिन्सी र उनीबाहेक सबै साथीहरु बितेछन्।
समीराको माथिल्लो ओठ चिरिएको थियो, हिप भाँच्चिएको। शरीरभर घाउ र जलन। शरीरमा लागेको चोट सह्य थिएन। त्यसभन्दा बढी हृदय दुख्यो- अप्रीय खबरले।
त्यसपछि झन् गलिन् उनी। होसमा त थिइन् उनी तर खतरामुक्त भने होइन। थाहा पाइन्, जीवन कति प्यारो लाग्छ भन्ने। सधैं भविष्य, करियर, पढाइबारे चिन्तित रहन्थिन्। त्यतिखेर ठानिन् - एकपटक मृत्युलाई जितुँ। बाँकी संघर्ष जसरी पनि गर्छु।
निराशा छाउँदा प्रिन्सीतर्फ हेरेर चित्त बुझाउँथिन्। किनकि प्रिन्सी उनीसँगै थिइन्।
प्रिन्सीको पनि खुट्टा र हिप भाँचिएको, कलेजोमा रगत जमेको। अनि शरीरको देब्रे पाटो २५ प्रतिशतभन्दा बढी जलेको पनि।
'उ बोल्न पो सक्थिन त। तर, मलाई भन्दा थाहा थियो उसलाई मलाई भन्दा बढी दुखेको थियो,' उनले सम्झिइन्। उनीहरुले बंगलादेशमा हुँदा पनि धेरै पटक नबोलेरै एकअर्कालाई बुझाएका थिए।
केएमसीमा केही दिनको उपचारपछि प्रिन्सीलाई भारतको अपोलो अस्पताल लगियो, हेलिकप्टरमार्फत् समीरा पनि मेडिसिटी रेफर भइन्। समीरा स्वयम् ढाड सिधासमेत राख्न नसक्ने अवस्थामा थिइन्। तर, उनलाई विश्वास थियो- प्रिन्सी चाँडै फर्कन्छिन्।
दुर्घटना भएको बीस दिनपछि समीरालाई प्रिन्सीको खुब याद आइरहेको थियो। आँखा चिम्म गरेर विमानमा सँगै बिताएको अन्तिम क्षण सम्झदै थिइन्। उनका बुबा अष्टवीर आएर सुस्तरी बोलाए - 'छोरी।'
समीराले आँखा नखोली मुन्टो हल्लाइन्। बुबा बोले- 'प्रिन्सी बोल्न थालिन् रे। बिहानको खाना पनि खाइछिन्। ल अब तिमी पनि केही खान उठ त।'
समीरा साँच्चै खुशी भइन्। त्यसदिन केही बढी नै खाना रुच्यो। प्रिन्सी फर्किएको र सँगै स्कूटर सिकेको कल्पन थालिन्। त्यही साँझ उनको कल्पना कहिल्यै पूरा नहुने खबर आयो- प्रिन्सीको निधन।
'सायद् उसले भगवानसँग अन्तिम इच्छा राखेकी थिइन्। त्यसैले बोलिन्। केही खाइन्। अनि हतारहतार गइन्, कहिल्यै नफर्कने गरी। नत्र बिहानसम्म सुधार भयो भनेको मान्छे बेलुका बित्छ त?', उनीसँग अनुत्तरित प्रश्न छ जसको जवाफ कसैले दिन सकेनन्।
'रोएँ। कराएँ तर सत्य त्यही थियो - सँगै फर्केका सबै साथी गुमाएँ। प्रिन्सी पनि,' चश्माको फ्रेमभित्र हात पुर्याएर आँशु पुछिन् उनले।
कलेजले परीक्षाको तालिका सार्वजनिक गरेकै दिन नेपाल फर्कने टिकट बुक गरेका थिए उनीहरुले। समीराको परीक्षा प्रिन्सी र अन्य साथीहरुको भन्दा एकदिन अघि नै सकिन्थ्यो। तर, उनीहरुलाई पर्खने र सँगै जाने योजना बनाइन्।
'मलाई चाहिँ साथीहरुसँग छुट्टिएर आउन मन लागेन। त्यसैले एकदिन ढिला पुग्दा केही हुँदैन भन्ने सोचेँ। आखिर कहिल्यै नभेटिने गरी छुट्न लेखेको रहेछ,' उनको बोली मलिन सुनियो।
पढ्दा बुझेको अस्पतालको महत्व आफैँले भोग्दा
करिब दुई महिना अस्पतालमा उपचार र थेरापी। नौ महिना पूर्ण 'बेड रेस्ट'।
'पहिलोपटक पैताला टेकेर घर बाहिर निस्किँदा दोस्रो जीवन पाएसरह भयो। सायद् मृत्यु हत्तपत्त मेरो अगाडि नआउँला अब त,' उनी निकै गम्भीर सुनिइन्।
विस्तारै हिँड्न सक्ने भइन्। शरीर दुख्न कम भयो। औषधीको डोज तत्काललाई पुग्यो। तर, दुर्घटनामा परेर गुमाएको साथी र सम्बन्धहरु फर्कँदैन। हरेक पटक आकाशमा विमान उड्दा निस्कने ध्वनीले झस्काउँछ। त्यही क्षण सम्झाउँछ अनि कमजोर बनाउँछ।
साथीहरुसँगै गुम्यो उनको सुटकेस जसमा आमा अनि आफन्तका लागि बंगाली साडी किनेकी थिइन्, पैसा सापटी लिएरै। त्यही सुटकेसमा थियो ल्यापटप पनि। अनि त्यसैमा थिए साथीहरुसँगका तस्विरहरु- हरेक साता म:म, मासु, चट्पटे आदि बनाएर खाँदाको होस् या घुम्न निस्किँदाका। अनि कलेज भित्रकै तीतामीठा यादहरु पनि।
'मेमोरीको लागि भन्दै फोटो खिच्थ्यौं। ती सबै आगोमा बले। तर याद त उस्तै छ,' उनी भावुक सुनिइन्।
दुर्घटनापछि समीरालाई पुन: विमान चढ्नुपर्ने कल्पनाले पनि ऐंठन गराउँछ। पढाई पूरा गर्नका लागि थप एक वर्ष कलेजकै अस्पतालमा इन्टर्नसिप गर्नुपर्ने थियो। त्यसका लागि बंगलादेश जानु पर्थ्यो। फेरि विमान चढ्नु पर्थ्यो। 'एकातिर पढाइ पूरा गर्नुपर्ने बाध्यता। अर्कोतिर म विमान चढ्न तयार थिइँन,' उनले अन्यौलताको त्यो घडी सम्झिइन्। धन्न नेपाल मेडिकल काउन्सिलले नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाइदियो। विमान चढ्नु पर्ने बाध्यता टर्यो, डर टर्यो।
अनि उस्तै अप्ठ्यारो लाग्छ, साथीहरुका आमाबुबासँग भेट्ने कुरा। समीराले प्रिन्सीका आमाबुबालाई पनि भेटेकी छैनन्।
'कति दुखिरहेको होला मन? मलाई देख्दा छोरीको याद बल्झेला। म त उहाँहरुको आँशु देख्न सक्दिन,' उनी साथीका आमाबुबाको पीडा समानुभूत गर्छिन्। किनकि उनले आफ्नो आमाबुबालाई नजिकबाट देखेकी छिन्। उनीहरुले भोगेको पीडा, लुकाउन खोजेको आँशु पनि देखेकी छिन्।
दुर्घटनापछि उनका बुबा अष्टवीरले व्यवसाय नै बन्द गरे। उनी अझै काममा फर्कन सकेका छैनन्। अनि आमा सरिता, उनी आज पनि आकाशमा जहाज उड्दा, एम्बुलेन्स वा दमकलको साइरन बज्दा अत्तालिन्छिन्।
तर, मृत्युलाई जितेर अरुको जीवन बचाउन लागि परेकी छोरीलाई देख्दा भने उनीहरु भाग्यमानी ठान्छन्।
समीराले पाटन अस्पतालमा एक वर्ष इन्टर्नसिप गरिन्। लगत्तै ट्रमा सेन्टरमा जागिरका लागि नाम निकालिन्। अब उनी आधिकारिक रुपमा डाक्टर समीरा हुन्। जो केही महिना अघिसम्म आफ्ना शरीरका अङ्ग पनि डाक्टरको निर्देशनमा चलाइरहेकी थिइन्।
'ट्रमा सेन्टरमा प्राय सबै दुर्घटना भएका प्यासेन्टहरु आउँछन्। आफूले भोगेकाले पनि होला म उनीहरु प्रति जिम्मेवार महसुस गर्छु। म बाँचे अब यिनलाई पनि बचाउनुपर्छ। सहज महसुस गराउनु पर्छ भन्ने सोच्छु,' डाक्टर समीराले भनिन्।
बाल्यकालदेखि डाक्टर बन्नु उनको सपना। अब त्यो जिम्मेवारी। अनि प्यासेन्टहरु उनका नयाँ साथी। पढ्दा अस्पताल र डाक्टरको महत्व बुझेकी थिइन्। पर्दा र गर्दा महसुस गरेकी छिन्। त्यसैले गल्ती नहोस् - सतर्क रहन्छिन्।
केही वर्ष बिरामीको सेवामा खट्ने। त्यसपछि एमडी गरेर सफल सर्जन हुने उनको लक्ष्य छ।
'अब म जे पनि गर्न सक्छु जस्तो लाग्छ। तर, प्लेन चढ्न चाहिँ अझै तयार छैन,' उनले भनिन्।
विमानले उनीबाट धेरैथोक खोस्यो, विमान चढ्ने साहस पनि। समीराका भाइ आक्रिश पञ्जावमा बीबीए पढ्दैछन्। हरेक पटक उ नेपाल आउँदा र यताबाट फर्कदा भाइको एउटै मेसेज पर्खन्छिन्- सेफली ल्यान्डेड।
'डिस्प्ले स्क्रीनको पो भर हुँदैन त। आफ्नाको त हुन्छ नि,' उनले भनिन्।
नसकिएको कानूनी लडाई
समीराको काठमाडौं मेडिकल कलेजमा भएको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्यो। मेडिसिटीमा दुई महिना रहँदा, बस्दा भएको उपचार र औषधीको खर्च यूएस बंगला एयरलाइन्सले तिर्यो। त्यसपछिका फलो-अपमा व्यक्तिगत खर्च। समीराका आमाबुबालाई चित्त दुखाइ थिएन किनकि उनीहरुका छोरी आँखै अगाडि थिइन्।
तर, जो रहेनन् उनीहरुको आमाबुबा भने रित्तिए।
छोराछोरीले सेतो कोट लगाएर बिरामी जाँचेको कल्पिएका थिए। ऋण लिएका थिए। पढाएका थिए। आज उनीहरुका लागि गरे भोलि उनीहरुले आफ्ना लागि गर्छन् भन्ने सोचेका थिए। तर, छोराछोरीसँगै विलिन भए ती सपनाहरु।
सन्तान गुमाउनुको पीडा र ऋणको भारी बोकेरै विमान कम्पनीसँग क्षतिपूर्तीको माग गरे। तर, कम्पनीले अपर्याप्त रकम प्रस्ताव गर्यो।
'जीवनको मोल पैसामा तौलन मिल्दैन तर जसको भरमा ऋण लिइयो उनीहरु नै नरहेपछि कसरी तिर्ने?', उनी प्रश्न गर्छिन्, 'कम्तिमा पढाई र त्यहाँ रहँदा बस्दा भएको खर्च त दिनुपर्छ।'
कागजी प्रक्रिया लामो हुन्छ भन्ने थाहा थियो समीरालाई। तर, यति लामो भइदियो कि हरेक पटक ठीक हुँदै गरेको घाउ फेरि बल्झिरहन्छ, बीमा रकमको विवादमा च्यापिएर। मानिसहरु उनलाई हाँसेर हिँडेको देख्दा सोध्छन्- तिमीले त क्षतिपूर्ति पायौं होला है?
जवाफ उनीसँग पनि छैन।
बस्! अनुमान गर्नेहरुलाई गर्न दिन्छिन्। जसको शिकार उनी अस्पतालको शैय्यामा छट्पटाउँदै गर्दा पनि भएकी थिइन्। उनको मृत्युको खबर सामाजिक सञ्जालमा छाएको थियो। धेरै चिनजानका मानिसले फोन गरेका थिए। ती खबर आजसम्म पनि घुम्दै फिर्दै उनी सामुन्ने आइपुग्छन्- फिस्स हाँसेर 'स्क्रोल अप' गर्छिन्।
'मेरो समय बलियो रहेछ। मृत्युसँग लडेर बचायो। अब यस्ता स-साना कुराहरुमा अल्झिन मन नलाग्दो रहेछ,' उनले भनिन्, 'कुनै दिन सकेँ भने त्यो दुर्घटनाको भिडियो फुटेज हेर्नेछु। अनि फेरि प्लेन चढ्नेछु।'