PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुस्त सुरुवात, जब्बर सफलता : कसरी जन्मियो रियालिटी शो 'कमेडी च्याम्पियन'?



स्वेच्छा राउत

सुस्त सुरुवात, जब्बर सफलता : कसरी जन्मियो रियालिटी शो 'कमेडी च्याम्पियन'?

कमेडी च्याम्पियनको चार वटा श्रृङ्खला प्रसारण भइसकेका थिए। दर्शकबाट प्रतिक्रिया र साथीभाइबाट सुझाव आउनेक्रम जारी थियो। नयाँ श्रृङ्खलाको तयारीमा जुटेका थिए, निर्देशक विशाल भण्डारी।

त्यस्तैमा एकदिन कसैले उनलाई मेसेन्जरमा कमेडी च्याम्पियनबारे लेखिएको समाचार पठाए, पत्रिकामा छापिएको अंशको फोटो खिचेर।

'रियालिटी शो कै इज्जत फाल्ने सुरुवात' भन्ने आसयको समीक्षा थियो पत्रिकामा। उनले कहीँ कतै प्रतिक्रिया जनाएनन्। प्रसारण भइसकेका कार्यक्रम दोहोर्‍याएर हेरे। हेरेपछि उनलाई लाग्यो - 'ठीकै त लेखेका छन् लेख्नेले। कार्यक्रम त ध्वस्तै भएको छ। हामीले सुधार्नु पर्छ।'

समीक्षामा कार्यक्रमको विषयगत् एवं प्राविधिक कमी कमजोरी औंल्याइएको थियो। अनि उनी कसरी सुधारको तरिकाहरु पनि खोज्दै थिए। साथै उनलाई यो पनि थाहा थियो कि – रियालिटी शोमा हरेक साता कम ब्याक गर्ने मौका मिल्छ। फिल्मको जस्तो होइन, एकपटक रिलिज भएपछि सक्यो।

त्यसैले त्यो समाचार पठाउने साथीलाई जवाफ लेखे – 'असल समीक्षकको काम नै यही त हो। ३१ औं श्रृङ्खलासम्म पुग्नु छ। भोलि यही पत्रिकामा के लेखिन्छ हेर्दै जाउँ।'

+++

विशाल भण्डारीलाई हाँस्य विधा खुब मनपर्ने। त्यसैले, कमेडी रियालिटी शो हेर्न रुचाउने, विशेषगरी भारतीय र पाकिस्तानी। त्यहाँका शो हेर्दैगर्दा सोच्थे – नेपालमा पनि यस्तै कमेडियनहरु होलान् जो यसैलाई करियर बनाउने ल्याकत् राख्छन्। तिनीहरु खोइ त?

त्यसका लागि त प्ल्याटफम नै थिएन जुन आवश्यक थियो। नेपालमा जति पनि रियालिटी शो आए ती सबै नृत्य वा गायन केन्द्रित। कमेडियनहरु चाहिँ तिनै गायक वा कलाकार विशेष कार्यक्रमहरुको बीचबीचमा देखिन्थे, दर्शकको मुड 'फ्रेस' गराउने बहानामा। चर्चित टिभी कार्यक्रममा होस् या स्थानीय स्टेज कार्यक्रमहरु कमेडियनको भूमिका त्यतिमै खुम्चिएको देखिन्थ्यो।

विशाल तिनै कमेडियनका लागि पनि प्ल्याटफर्म बनाउने योजना बुन्दै थिए।

तर, उनीसँग रियालिटी शो निर्माण वा निर्देशनको अनुभव चाहिँ थिएन। त्यसैले सोच्थे - अहिले नै बेला भइसकेको छैन।

सन् २०१७ मा विशाल भण्डारी चर्चित गायन रियालिटी शोको फ्रेन्चाइज 'नेपाल आइडल' निर्माण युनिटमा रहे। त्यहीँ रियालिटी शोको निर्माण पक्ष नियाले। ठीक एक वर्षपछि निर्देशनको अनुभव पनि संगाल्ने मौका पाए, अर्को चर्चित रियालिटी शो 'द भ्वाइस'को नेपाली संस्करणमार्फत्। त्यसमा उनी सहायक निर्देशक थिए।

दुई चर्चित कार्यक्रममा संलग्न भएपछि उनको आत्मविश्वास बढ्यो।

द भ्वाइस अफ नेपालको पहिलो संस्करण सकिए लगत्तै त्यही समूहका केही साथीमाझ प्रस्ताव लिएर गए – ‘अब हाँस्य व्यङ्ग्य सम्बन्धित केही गरौं।'

चर्चित यी फ्रेन्चाइजले दिलाएको सफलताकै बीच केही नयाँ शुरुवात गर्ने रिस्क कसले मोल्नु? त्यहाँ सम्भावनाहरु भन्दा बढी चुनौती थिए। मौलिक कमेडीले बजार ओगटेको समयमा स्ट्यान्ड अप कमेडी 'फ्लप' हुने सम्भावना उत्तिकै। करोडौंको लगानीको जोखिम सानो कुरा थिएन।

'तर म चाहिँ जसरी पनि गर्ने निर्णयमा पुगिसकेको थिएँ। मैले नगरे अरु कसैले गर्थ्यो किनकि नेपालमा कमेडी सम्बन्धी रियालिटी शो चाहिएको थियो,' उनले भने।

यसबारे उनले अध्ययन सुरु गरे। उनको लक्ष्य थियो- पहिलो संस्करणमा 'ब्रान्ड' स्थापित गर्ने, अर्को संस्करणका लागि ढोका खोल्ने। क्षमतावान कमेडियनहरुलाई व्यवसायिक बनाउने। त्यसैअनुसार पहिलो चरणको खाका तयार पारे। त्यसपछि पुगे केकी अधिकारी र रीमा विश्वकर्मासम्‍म।

विशाल, केकी र रीमा पेशाभन्दा अघि नै भावनाले जोडिएका साथीहरु हुन्। विशालले उनीहरुलाई भनेनन्- 'कमेडी रियालिटी शो गरौं न।'

बरु प्रष्टसँग सोधे, 'कमेडी रियालिटी शो गर्दैछु। सहकार्य गर्ने हो?'

एकअर्कालाई नजिकबाट बुझेका छन् उनीहरुले त्यसैले विश्वास गर्छन् एकअर्काप्रति। त्यही विश्वाससहित केकीले फिल्म निर्माणको योजना अघि सारेकी थिइन्। त्यसपछि बनेको थियो 'कोहलपुर एक्सप्रेस।' विशालको पहिलो निर्देशन रहेको फिल्म। फिल्म व्यवसायिक हिसाबले सफल भयो। त्यसैले सबै हौसिएका थिए, नयाँ प्रोजेक्ट सुरु गर्न।

तर गर्ने चाहिँ के?

अन्यौलबीच विशालको 'आइडिया'ले काम गर्‍यो। विशालको योजनामा अब केकी र रीमाको पनि साझेदारी रह्यो। निर्माताका रुपमा थपिए राज घिमिरे।

'कार्यक्रम चलेन भने के गर्छौ?', यस्ता प्रश्नको जवाफ विशालसँग पनि थिएन।

'कोहलपुर एक्सप्रेसमा त्यत्रो आलोचना भोग्नु पर्दा पनि त्यही टिमसँग काम?', केकीले पनि यस्तै प्रश्नहरुको सामना गर्नुपर्थ्यो।

'नेपाल आइडल छाड्ने? यत्रो रिस्क लिँदा भोलि नयाँ कार्यक्रम फ्लप भयो भने?', यस्ता प्रश्नले रीमालाई झन् अन्‍यौलमा पार्थ्यो।

तर, सामुहिकतामा विश्वास, भावनात्मक निकटता र आफ्नै केही शुरु गर्नुपर्छ भन्ने सोचले जित्यो। व्यवसायिक हिसाबमा दोस्रोपटक सँगै हिँडे उनीहरु।

अनि पालो आयो हसाउनेको। वर्षको शुरुवातमा कमेडी च्याम्पियनका लागि डिजिटल अडिसन आह्वान भयो।

'अब पालो हसाउँनेको' भन्दै प्रचार भयो। कुन राउन्डमा के गर्ने भन्नेबारे कार्यक्रमको 'फर्म्याट' तयार पारिसकेका थिए। सोही अनुरुप दुई महिना इमेलबाट भिडियोहरु आइरहे। विशालको अध्ययनले कम्तिमा तीन सय जनाले आवेदन भर्ने देखाएको थियो। रोचक के रह्यो भने २ हजार २ सय जना पुगे आवेदन दिनेहरु।

ती मध्येबाट एक सय बीस जना छान्न र अडिसनका लागि बोलाउन हम्मेहम्मे परेको थियो निर्णायकलाई।

पहिलो संस्करणमै उत्साहजनक सहभागिताले सबैलाई दङ्ग तुल्याएको थियो। तर, रीमाको व्यथा बेग्लै।

नेपाल आइडलमा एक ठाउँमै दुई हजार, पच्चिस सयले प्रत्यक्ष अडिसन दिन्थे। त्यो भिडलाई बोलेरै सम्हाल्थिन् उनी।

'यहाँ डिजिटल अडिसनकै २२ सय सहभागी भन्दा त मलाई विश्वास गर्नै गाह्रो भयो। केही खिन्न पनि लाग्यो,' अघिल्तिर बसेर कफीको चुस्की लिइरहेका विशाल भण्‍डारीतर्फ इशारा गर्दै भनिन्, 'तर निर्देशकसँग हामी सबैलाई कन्भिन्स गर्नसक्ने लजिक थियो। उहाँ भन्नुहुन्छ - गायक घरघरमा छन्। तर हसाउँने मान्छे एउटा शहरमा एकजना मात्र हुन्छ।'

रीमाका लागि सहभागीको सङ्ख्या मात्र होइन, कार्यक्रमको फर्म्याट नै नौलो थियो। उनले चुनौती स्वीकारेर छानेकी थिइन् कमेडी च्याम्पियन। किनकि नेपाल आइडलकी होस्ट थिइन् उनी। लामो छलफल र अन्यौलतापछि स्थापित कार्यक्रम, उल्लेखनीय दर्शक सङ्ख्या र ब्रान्डसँग जोडिएको नाम सबै त्यागेकी थिइन्।

अन्तिम निर्णय माग्नुअघि विशालले भने- 'पैसाको हिसाबमा के हुन्छ भन्न सक्दिन। तर केही समयपछि तिमी नेपालको नम्बर वान रियालिटी शो चलाउँदै हुनेछौं।'

साथीहरु माथिको भरोसा मात्र त थियो। त्यसैले प्रचार पुगेन भनेर कराउँथिन् रीमा। प्राविधिक पाटोमा भएका कमजोरीहरु औंल्याउँथिन्। कहिले काहीँ त एउटै अंकमा सुधार्नुपर्ने बारे लामालामा सूची बनाएर विशाललाई पठाउँथिन्।

'उसले करियरको हिसाबमा साँच्चै ठूलो चुनौती लिएको थियो। त्यसैले कार्यक्रम राम्रो दर्शक र दर्शक प्रतिक्रिया नपाउन्जेल उसलाई थकथकी लाग्नु स्वभाविक पनि हो', विशालले रीमाको अवस्था बुझेका रहेछन्, 'त्यसैले उसको मनस्थिति बुझेर सोही अनुरुप व्यवहार गर्‍यौं। परिस्थितिहरुको सामना गर्‍यौं।'

साउनको अन्तिम साताबाट प्रसारण भयो कार्यक्रम। पहिलो दुई श्रृङ्खलाको प्रतिक्रिया पूरै निराशाजनक रह्यो। प्राविधिक हिसाबले पनि कमजोर। दर्शकको प्रतिक्रिया सकारात्मक थिएन। त्यसपछि निर्माण युनिटदेखि, कलाकार अनि प्राविधिक सबै तनावमा। चार श्रृङ्खला एकै पटक छायांकन गरिसकिएको थियो। न पुन: छायांकन गर्न मिल्नु न प्रसारण रोक्नु।

दर्शकमात्र होइन, आर्थिक संकटको पनि चरम उत्कर्षमा थियो निर्माण टोली। कार्यक्रमप्रतिको अविश्वासकै कारण दोस्रो सातापछि स्टुडियोको ढोकामा ताल्चा लाग्यो। सीमित बजेटका कारण तालिका तलमाथि गर्नु सम्भव थिएन। त्यो ताल्चा खोल्नका लागि गरेको आग्रह सम्झन्छन् उनी। अनि परिस्थितिले कमजोर बनाउँदा बनाउँदै आत्मबल र आफ्नो समूहप्रतिको विश्वासले जिताएको सम्झन्छन्।

पर्खनुको विकल्प थिएन। चाहेको खण्डमा फर्म्याट नै परिवर्तन गरेर कार्यक्रम छोट्याउँदै लैजान पनि स्वतन्त्र थिए उनीहरु। तर, त्यसो गरेनन्। तेस्रो श्रृङ्खलाको ट्रेलर सार्वजनिक भएपछि 'कमेडी च्याम्पियन'को चर्चा चुलियो। रीमाको भाषामा – जादु भयो। सामाजिक सञ्जालमा हल्ला भयो।

'त्यो दिन चाहिँ हामीलाई बेग्लै उर्जा मिलेको थियो। केही हुन्छ। अहिले नै आत्तिनु पर्दैन भन्ने महसुस भएको थियो,' रीमाले सुनाइन्, 'थोरै उज्यालो देख्यौं।'

उनी बोलिसक्दा सही थप्न भ्याउँछन् विशाल।

कमेडी च्याम्पियनको शुरुवाती दिन बारे बताउँदै गर्दा विशाल र रीमा त्यतिबेलाको निराशा अनि अन्यौलताबाट बाहिरिसकेका छन्। बाँकी छ त जोश र उत्साह। सुरुवाती चरणका तीन जनामध्ये केकी भने फिल्म छायांकनका लागि पोखरामा व्यस्त। उनले कमेडी च्याम्पियनको निर्माण टोलीको नेतृत्व गरिन् अनि आज एउटा 'नौलो' कार्यक्रमलाई उचाइ दिन भूमिका निर्वाह गरिन्।

'पहिले पहिले केकी र मेरो कुराकानी नै 'रीमाले गनगन गर्न थाल्यो'बाट शुरु हुन्थ्यो। अहिले सबैभन्दा बढी खुशी रीमा नै हुन्छ,' विशालले मख्ख पर्दै सुनाए।

यो खुशीको श्रृङ्खला हरेक अंक प्रसारणसँगै चुलिँदै गयो। रीमाले नयाँ कार्यक्रम रोज्नुलाई सही निर्णय भन्नेहरु देखिए। नयाँ कार्यक्रम भएकै कारण स्पोन्सर पाउनै मुश्किल थियो। कार्यक्रमको भिडियो युट्युब ट्रेन्डिङमा नआउनुका कारण विज्ञापन पाउन उस्तै गाह्रो। छैटौं अंकसम्म युट्युबमा सात आठ लाख भ्युज जान्थ्यो तर ट्रेन्डिङमा कुनै पनि श्रृङ्खला आउन सकेन। त्यतिन्जेलजम्मा सिंगो एपिसोडभरि जम्मा साढे दुई मिनेटको विज्ञापन बजाए उनीहरुले।

जब, भ्युज बढ्दै गयो कार्यक्रम युट्युब ट्रेन्डिङमा उक्लियो। कार्यक्रममा विज्ञापन बढेर ९ मिनेट लामो भयो। जब कार्यक्रम ट्रेन्डिङको नम्बर एकमा आयो, त्यसपछि मानिसहरु कमेन्ट गर्न थाले – 'विज्ञापन हेर्न बसेको बीचबीचमा कमेडी च्याम्पियन पनि देखाइरा'छ।'

दर्शकको प्रतिक्रिया हेरेर फिस्स हाँस्न मात्र सक्थे उनीहरु। किनकि दर्शक हसाउँन हरेक साता सय जना भन्दा बढीको समूहले गरेको मिहेनत पछाडि अभावको बेग्लै कथा थियो।

'कलाकारको लागि प्ल्याटफर्म दिएका हौं। सँगसँगै यो एक विशुद्ध व्यवसायिक कार्यक्रम पनि त हो जसका लागि हामीले करोडौं खर्च गरेका छौं,' विशालले प्रष्ट्याए, 'शुरुवातमा कार्यक्रम कसरी सक्काउने होला भन्ने चिन्ता थियो। अब अहिले कसरी कार्यक्रमको लेभल मेन्टेन गर्ने भन्ने दवाव छ।'

भोट महङ्गो भएको र फाइदाकै लागि लामो समय खुला गरिदिएको प्रश्न पनि उठेको छ उनीहरुमाथि। यस विषयलाई पनि सम्बोधन गर्न पछि पर्दैनन् उनी। भने, 'निर्माताहरुलाई डुबाएर कार्यक्रमलाई कसरी सफल बनाउनु? फेरि चर्चाको हिसाबले मात्र सफल ठहरिँदा व्यवसायिक पाटो शून्य रहन्छ। अनि कसरी बनाउनु अर्को संस्करण?'

यस्ता प्रश्नका जवाफ बोलेर भन्दा कामैबाट दिनुपर्ने विशालको बुझाइ छ। त्यसैले उठेका प्रश्नहरुमा ध्यान नै दिएनन्, कन्टेन्टमा काम गर्न छाडेनन्।

'कन्टेन्ट' सुधार हुँदै गए, कलाकारहरु छाँनिदै गए र प्रस्तुति रोचक बन्दै गयो। निर्माता, निर्देशक, प्राविधिक वा अन्य सदस्यको भूमिका सबैको आ-आफ्नो महत्व छ। तर कार्यक्रममा जीवन भर्ने काम कलाकारले गरेका हुन्। उनीहरुको प्रस्तुतिले गरेको हो,' विशालले भने।

'नत्र कला र व्यवसाय दुवै जति रुचाइए पनि केही पछि त्यसलाई अर्को उस्तै कार्यक्रमले रिप्लेस गर्न सक्छ। तर, हामी त हरेक हप्ता आफैसँगको प्रतिस्पर्धामा थियौं। आफैलाई उछिन्दै अघि बढ्यौं,' रीमाले थपिन्।

चुलिँदै गएको चर्चाको नतिजा सेमिफाइनलसम्ममा कार्यक्रमको विज्ञापन २१ मिनेटको भयो। विशालले भने, 'फाइनलमा कसैले विज्ञापनका लागि मागे हामीसँग ठाउँ नै छैन।'

विशालको मूल्याङ्कनमा एउटा नितान्त पारिवारिका हाँस्य कार्यक्रम बनाउन सफल भएका छन् जुन हेर्न हजुरआमा, बुबा र छोरी अर्थात्‍ तीन पुस्ता एकसाथ टिभी अगाडि बसे। प्रतियोगीहरुको प्रस्तुति हेरेर कोही लजाउन पर्ने वा अप्ठ्यारो मान्नुपर्ने अवस्था आएन। कार्यक्रम हेरेर खुशी हुनेहरु देखिए।

अन्तत: विशाल र कमेडी च्याम्पियन टोलीले कम ब्याक गर्‍यो। अनि पत्रिका जसमा लेखिएको थियो 'कमेडी च्याम्पियनको कमजोर शुरुवात' ठीक त्यही पत्रिकामा हरेक साता कार्यक्रमबारे सकारात्मक समीक्षा प्रकाशित हुन थाल्यो।

+++

ब्याक स्टेजमा काठको टुक्रालाई माइक मानेर रिहर्सल गरिरहेको दृश्य। एकअर्काको जोक सुधार्न काम भइरहेको क्षण। प्रतिस्पर्धीले लेखनमा गरेको दु:ख र सान बस्नेत, विशाल गौतम, विनायक कुइँकेल लगायतले सम्पादनका लागि गरेको मेहनत। हसाउन मञ्चमा उक्लनु अघि भोग्नुपर्ने तनाव। सामाजिक सञ्जालमा रीमाको लुगा र हेयर स्टाइलको चर्चा। एकअर्काको रोस्टिङ र अतिथिलाई व्यङ्ग्य – कार्यक्रम सकिएपछि यी सब रहँदैनन्। तर, जुन छाप ब्याकस्टेजदेखि मञ्चसम्म, निर्माण युनिटदेखि दर्शकसम्म, विज्ञापनदातादेखि मिडियामा परेको छ त्यो हत्‍तपत्त नमेटिनेमा ढुक्क छन्, विशाल।

दर्शक 'को विजेता बन्छ?' भन्ने अनुमान र भोटिङमा रमाइरहँदा उनलाई भने दवाव महसुस भइरहेको छ। यही स्तरको कार्यक्रम बनाउने जिम्मेवारी बोध गरेका छन्। त्यसैले दवाव पनि आनन्ददायी लागेको छ उनलाई।

कार्यक्रमको सेमिफाइनल सकिएपछि केही काम विशेषले कर कार्यालय पुगे उनी। हतारमा थिए। तर, जब कर अधिकृतले उनी कमेडी च्याम्पियनको निर्देशक भएको चाल पाए तब कुराकानी सक्ने छाँट देखाएनन्। उत्कृष्ट तीन मध्ये एक प्रतिस्पर्धीको 'फ्यान' रहेछन् उनी। उनका हरेक प्रस्तुतिको संवाद र चुट्किला सुनाए।

'धन्न कुराकानीमा मात्र अल्झाएनन् काम पनि फटाफट् सकिदिए,' यस्ता घटनासँग ठोक्किनु उनीहरुको दैनिकी बनेको छ अब त।

अनेपेक्षित रुपमा आएका यस्ता प्रतिक्रियाहरुले कमेडी च्याम्पियन टोलीलाई महसुस गराएको छ - हामीले स्ट्यान्ड अप कमेडीको क्षेत्रमा वर्षौदेखि बन्द ताला खोल्यौं। कमेडी र कमेडियनको बजार खुल्यो। यसैलाई पेशाका रुपमा अपनाउनेहरुका लागि अवसर पनि। तर, जे चल्छ त्यसैको 'पसल थाप्ने' चलन यहाँ नछिरोस भन्ने ठान्छन्। देखासिखी नभइ अध्ययन केन्द्रित हुनसके कमेडी र कमेडियनको गुणस्तर कायम रहने विशालको ठम्याइ हो।

चुनौतीहरुका चाङ थिए। अनि शून्यबाट शुरु गरे। फेरि पनि चुनौतीदेखि चुनौतीसम्म पुगेको ठान्छन् विशाल। कार्यक्रमको दोस्रो संस्करणको घोषणा पहिलोको समापनसँगै हुँदैछ। त्यसैले उनीसामु फेरि अर्को चुनौती थपिने छ। किनकि ननिदाइ देखेको सपना पूरा एको छ। तर, सपनाको श्रृङ्खला जारी छ जुन कहिल्यै विश्राम लिने मुडमा छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell