PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

कोरोनाप्रति सतर्कता : पाहाँ:चह्रेमा असनमा अजिमाहरुको खट नजुधाइने



कोरोनाप्रति सतर्कता : पाहाँ:चह्रेमा असनमा अजिमाहरुको खट नजुधाइने
फाइल फोटो

पाहाँ:चह्रेको अन्तिम दिन असनमा बेग्लै रौनक हुने गर्छ। त्यसदिन दिउँसो असनको अन्नपूर्ण मन्दिरमा द्य: ल्वाकिगु जात्रा (खट जुधाउने जात्रा) मनाइन्छ। अजिमा दिदी बहिनीः लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई खट जात्रा गरी असन पुर्‍याएर जात्रा गरिन्छ

रातो, निलो र पहेँलो गरी तीन वटा र‌ंगका टोपी र टिसर्ट लगाएका युवायुवतीहरु धिमे र भुस्या: का साथ असनमा नाचिरहेका हुन्थे। तीनै खट जुधाएर एकअर्कालाई आदर र सम्मान प्रकट गरिरहँदा तीनै खटबाट चिलाख साटासाट गरिन्छ। जात्राका क्रममा असनका घरघरबाट चटामरी फाल्ने चलन पनि छ। चटामरी पाउनेलाई लाभ हुने जनविश्वास छ।

यस्तै त्यहीदिन साँझ टुँडिखेलमा पनि तीनैवटा खटहरु लगेर जात्रा गर्ने चलन छ।

तर यसपटक पाहाँ:चह्रेमा असन र टुँडिखेलमा द्य: ल्वाकिगु जात्रा नहुने भएको छ। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा जात्राका क्रममा धेरै संख्यामा मानिसहरु भेला हुने हुँदा यसवर्ष सतर्कता अपनाउन खट जात्रा नगरिने भएको लुँमधि भद्रकाली गुठीले जनाएको छ।

'विश्वभर फैलिरहेको कोरोना भाइरस नेपालमा समेत फैलिनसक्ने प्रवल सम्भावना रहेका कारण जात्राका क्रममा धेरै संख्यामा मानिसको उपस्थिति हुनेहुँदा असनमा खट नजुधाउने, चिलाख नसाट्ने र उत्सवका रुपमा दैनिक रुपमा जात्रा पनि नगर्ने भएका छौं,' गुठीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

असन र टुँडिखेलमा द्य: ल्वाकेगु जात्रा नहुने भएतापनि जात्राका लागि निकालिनुपर्ने सबै देवीहरुलाई विधिपूर्वक बाहिर निकालिने र निश्चित रुटमा परिक्रमा भने गराइनेछ। यद्यपि, जात्राका क्रममा धेरै संख्यामा मानिसहरुलाई जम्मा नगरी बाजा बजाउने सहित गुठीका आवश्यक व्यक्ति मात्रै सहभागी हुने बताइएको छ।

के हो पाहाँ:चह्रे जात्रा?

हरेक वर्ष घोडाजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म काठमाडौँ उपत्यकावासीहरु पाहाँ:चह्रे मनाउने गर्छन्। स्थानीय नेवार समुदायको यो दशैँपछिको ठूलो पर्व हो।

कसैले यसलाई 'पासा चह्रे' पनि भन्ने गर्छन्। नेवार भाषामा पाहाँको अर्थ पाहुना हो भने पासाको अर्थ साथी हो। चह्रे चन्द्रमासको क्यालेन्डर अनुसार चौधौँ दिनलाई भनिन्छ।

पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरिन्छ भने साँझ भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ। लुकु महाद्यः भन्दै महादेवको एउटा आकृतिलाई जमिनमुनि लुकाएर पूजा गरिन्छ। घरघरमा खाल्डोमा राखिएका महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गरिन्छ।

त्यसैगरी कंकेश्वरीदेवी लगायतका विभिन्न शक्तिपीठ देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ।

पाहाँचह्रे पर्वको दोस्रो दिन दुई वर्षसम्मका बालबालिकालाई मरःजा खुवाउने गरिन्छ । ८४ ब्यञ्जनसहतिको उक्त परिकार खुवाउँदा बालबालिका निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ।

जात्राको अन्तिम दिन दिउँसो असनमा र साँझ टुँडिखेलमा देवीको खट जुधाउने जात्रा हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell