PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश नम्बर दुईको हुन सकेन नामाकरण, प्रस्तावित चारै नाम भएनन् पारित



सुमित मिश्र

प्रदेश नम्बर दुईको हुन सकेन नामाकरण, प्रस्तावित चारै नाम भएनन् पारित
फोटो रासस।

जनकपुरधाम : प्रदेश नम्बर दुईको नामाकरणका लागि प्रदेश सभामा मंगलवार भएको गोप्य मतदानमा कुनै पनि नाम पारित हुन सकेनन्। प्रदेश दुईमा प्रतिनिधित्व गर्ने दलहरुबीच नामाकरणको विषयमा सहमति हुन नसकेपछि मतदान विधि अपनाइएको थियो। यद्यपि कुनै पनि प्रस्तावमा दुई तिहाई मत प्राप्त हुन नसकेपछि प्रदेश दुईले मतदान प्रकृयाबाट समेत नाम पाउन नसकेको हो।

प्रदेश दुईमा प्रतिनिधित्व गर्ने दलहरुसँग दुई तिहाई मत नरहेका कारण मतदान प्रकृयाबाट समेत कुनै पनि प्रस्तावले दुई तिहाई मत प्राप्त गर्न सकेनन्। प्रदेश दुईको नामाकरणका लागि प्रस्तावित ‘मधेश’, ‘मध्यमधेश’, ‘जानकी’ र ‘मिथिला भोजपुरा’ चार वटै प्रस्ताव अस्वीकृत भएका छन्। सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संयुक्त रुपमा नामाकरणका लागि दर्ता गराएको ‘मधेश’ प्रदेशको पक्षमा ६० मत मात्रै खसेको छ। जबकी दुवै दल मिलाएर कुल ५६ मत रहेको छ। ‘मधेश’ प्रदेशका लागि भएको मतदानमा सोको विपक्षमा ४६ मत खसेको थियो भने १ मत बदर भएको थियो।

यसअघि ‘मध्य मधेश’को पक्षमा कुल ४२ मत खसेको थियो भने विपक्षमा ६५ मत खसेको थियो। सो प्रस्ताव नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरेका थिए।

त्यस्तै नेकपाको तर्फबाट प्रस्तावित नाम ‘जानकी’ को पक्षमा मात्र ३७ मत आएपछि त्यो प्रस्ताव पनि पारित भएन। जबकि कांग्रेसको तर्फबाट प्रस्ताव भएको ‘मिथिला भोजपुरा’ नामको पक्षमा मात्र २८ मत खसेको थियो।

प्रदेश दुईको प्रदेश सभामा कुल १ सय ७ सदस्य रहेका छन्। दुई तिहाई मतका लागि ७२ मत आवश्यक थियो। कुनै पनि प्रस्तावले बहुमतको आँकडा पार गर्न सकेन। कुनै पनि प्रस्तावले बहुतमत प्राप्त गर्न नसकेपछि प्रदेशको नामाकरणका लागि अब नयाँ प्रकृया अपनाउनु पर्नेछ।

सबै प्रस्तावलाई दलको सदस्य संख्याभन्दा बढी मत

प्रदेशको नामाकरणका लागि प्रदेश दुईको प्रदेश सभामा सबै दलहरुले आफ्नो सदस्य संख्याभन्दा बढी मत प्राप्त गर्न सफल भएका छन्। नामका लागि प्रदेश सभामा भएको गोप्य मतदानमा ह्विप नलाग्ने भएकोले सबै प्रस्तावमा दलहरुको प्रदेश सभामा रहेका सदस्य संख्याभन्दा बढी मत परेको थियो।

यद्यपि मधेश प्रदेशका लागि भएको मतदानको क्रममा नेकपाका एक जना प्रदेश सभा सदस्यले मत खसालेको मतपत्र एक अर्का प्रदेश सभा सदस्यलाई देखाएपछि केही बेर मतदान प्रकृया नै रोकिएको थियो। त्यस लगत्तै फेरि सञ्चालन भएको  मतदान सौहार्दपूर्ण रुपमा सम्पन्न भयो।

‘मधेश’ प्रदेशका लागि सत्तारुढ समाजवादी पार्टी र राजापाले संयुक्त रुपमा प्रस्तुत गरेको थिय। समाजवादी पार्टीको ३० जना प्रदेश सभा सदस्य छन् भने राजपासँग २५ प्रदेश सभा सदस्य छन्। दुवै दलसँग कुल ५५ मत छ। संघीय समाजवादी पार्टीका एक जना प्रदेश सभा सदस्यले समेत समर्थन जनाएछि कुल ५६ मत सत्तारुढ दलहरुको प्रस्तावको पक्षमा थियो। यद्यपि सो प्रस्तावले ६० मत प्राप्त गर्न सफल रह्यो।

‘मध्य मधेश’का लागि प्रदेश सभामा प्रस्ताव दर्ता गराउँदा केही प्रदेश सभा सदस्य मात्रै समर्थनमा देखिएका थिए। तर मतदानमा भने सो प्रस्तावले कुल ४२ मत प्राप्त गयो।

त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभामा कुल १९ जना प्रदेशसभा सदस्य छन्। जबकि नेपाली कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा’को पक्षमा २८ मत खसेको थियो।

नेकपासँग प्रदेश सभामा कुल ३२ सदस्यहरु छन्। जबकि नेकपाको नामका लागि भएको प्रस्ताव ‘जानकी’को पक्षमा कुल ३७ मत खसेको थियो। यसले प्रदेशको नामको सवालमा प्रदेश सभा सदस्यहरुले आआफ्नो दलको प्रस्ताव बाहिर पनि मत खसालेको पुष्टी हुन्छ।

यसैबीच, प्रदेश २ को राजधानी चयनको लागि भएको मतदानमा ‘जनकपुर’को पक्षमा ५२ र विपक्षमा पनि ५२ मत खसेको छ। खसेको कुल १०७ मतमध्ये भने ३ वटा मत वदर भएको छ। प्रदेशको नामाकरण मधेश प्रदेश हुन नसक्दा सत्तरूढ दलका अधिकांश सांसदहरूले जनकपुरको विपक्षमा मतदान गरेका हुन्। अहिले ‘वीरगंज’को लागि मतदान हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell