PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई वडाध्यक्षको राहत



सुमित मिश्र

विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई वडाध्यक्षको राहत

जनकपुरधाम : विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएकाहरुको परिवारलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले राहत वितरण गरेका छन्।

वडाध्यक्ष साहले एक साता अगाडि घरेलु मदिरा सेवन गरी ज्यान गुमाएका सात जना मृतकका परिवारलाई राहत समाग्री सहित केही रकम उपलब्ध गराएका हुन्। वडाध्यक्ष साहसहितको टोलीले मृतकका परिवारलाई भेटेर खाद्यान्न र नगद २ हजार ५ सय सहयोग गरेका छन्।

राहत वितरण कार्यक्रममा वडाध्यक्ष साहले मृतक परिवारलाई यो राहत तत्कालका लागि आफूहरुले मिलेर उपलब्ध गराएको र थप सहयोगका लागि उपमहानगर र प्रदेश सरकारसँग पनि आफूले समन्वय गरिरहेको बताए। उनले अब उपरान्त मदिरा सेवन नगर्न मुसहरी टोलका सबैलाई आग्रह समेत गरे।

मदिरा सेवनका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा फागुन २९ गतेदेखि चैत ४ गतेसम्मको अवधिमा मिथिला सदा, झगरु सदा, बनारसी देवी सदा, जितेन्द्र सदा, दिनेश सदा, रामोदेवी सदा र रामरती देवी सदा लगायत ७ जनाको मृत्यु भइसकेको छ।

मृतक रामोदेवी सदाका परिवारका एकजनाले भने, ‘हामी अहिले धेरै दुःखको घडीमा छौं। हामी मध्येका अधिकांश व्यक्तिले आफ्नो परिवारको अभिभावकलाई नै गुमाएपछि हाम्रो घर परिवारका सदस्यलाई हेर्ने कोही छैन। तर, यस्तो संकटको समयमा पनि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह अहिलेसम्म हामीलाई एकचोटी हेर्न समेत आएका छैनन्।’

राहत वितरण कार्यक्रममा वडाध्यक्ष साहसँगै वडासदस्यहरु नाजिर हुसैन, संतोष सरवरिया, रामराजी देवी दास लगायतकाको समेत उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell