- पूर्णप्रसाद चौलागाईं -
विश्व अहिले कोरोना भाइरस (कोभिड १९) बाट आक्रान्त छ। चीनको वुहानबाट गत डिसेम्बरदेखि फैलिएको कोरोनाले विश्वव्यापी रुप लिएपछि विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई विश्वव्यापी महामारी घोषणा गरेको छ।
संसार कोरोनाबाट त्रसित भइरहँदा म भने पूर्व निर्धारित कार्यक्रमअन्तर्गत मार्च ८ मा फ्रान्स भ्रमणमा निस्किएँ। भ्रमणमा निस्किँदा कोरोनाको प्रकोप चीनमा धेरै थियो। युरोपतिर पनि फैलने क्रममा थियो। फ्रान्ससँग सीमा जोडिएको इटालीमा प्रभाव देखिन थालेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर प्रस्थान गर्दै गर्दा हल्लाहरु धेरै सुनेको थिएँ। धेरैले नजान सुझाव दिए पनि। तर, हल्लाबीच मैले इन्टरनेटमार्फत् सम्पूर्ण अध्ययन गर्दा कुनै कार्यक्रम स्थगित नभएकाले फ्रान्स उडेँ।
८ मार्चको मध्यरात उडेको मेरो विमानको ट्रान्जिट कतारको दोहामा थियो। ४ घण्टाको ट्रान्जिट। त्यहाँ उत्रिँदा कुनै परीक्षण थिएन। नेपालमा उड्दा जाँच हुने, दोहाबाट फर्काउने, क्वारेन्टाइनमा बस्नुपर्ने जस्ता हल्ला सुनेको मैले त्यहाँ पुग्दा यी कुनै कुरा व्यहोर्नु परेन। अवस्था सामान्य थियो अरुबेला जस्तै। दोहाबाट करिब ७ घण्टाको यात्रापछि पेरिसको चार्लेस डे गाउली विमानस्थलमा अवतरण गरेँ। विमानस्थलमा अवस्था सामान्य थियो। नेपालमा हल्ला चलेजस्तो फिर्ता गर्ने, क्वारेन्टाइनमा राख्ने त थिएन नै, सामान्य परीक्षण पनि गरिएन। म ट्रेनबाट आफ्नो गन्तव्यमा लागेँ।
पेरिस डे नर्ड गाउड भन्ने ठाउँमा पुगेँ। त्यहाँ कोरोनाको कुनै त्रास र हल्ला थिएन। पहिलेजस्तै चहलपहल र सामान्य जीवन यापन थियो। पर्वतका लोकबहादुर पुनले सञ्चालन गरेको नेपाली रेष्टुरेन्टमा खाना खान जाँदा कोरोनाबारे बुझ्ने प्रयास गरेँ। पुनले इटालीसँग सीमा जोडिएको क्षेत्रमा सामान्य प्रभाव रहेको, अन्यत्र सामान्य रहेको जानकारी दिए। भोलिपल्ट पुन: जाँदा नेपाली रेस्टुरेन्टमा खाना खान आएका फ्रान्सेली सेनामा कार्यरत दुई नेपाली भेटिए। भेटमा उनीहरुले सीमा क्षेत्रमा सामान्य प्रभाव रहेको र अन्यत्र कुनै प्रभाव नभएको बताएपछि म ढुक्क भएँ। उनीहरुको कुरा सुनेपछि ५/७ दिनमा स्वदेश फर्किहाल्छु, खासै अप्ठ्यारो नहुने निष्कर्षमा म पुगेँ। अर्को दिन आइफिल टावर गएँ। त्यहाँ पनि खासै प्रभाव थिएन। भोलिपल्ट पिरामिड भन्ने ठाउँमा पुग्दा मानिसहरुको चहलपहल उत्तिकै पाएँ।
कोरोनाको कुनै परवाह थिएन। मैले आफैले महसुस गर्दा पनि कोरोनाको कुनै त्रास थिएन। सीमा जोडिएको देश इटाली आक्रान्त हुँदा फ्रान्स निश्चिन्त लाग्थ्यो। यतातिर नेपालमा कालोबजारी भएको, कोरोनाको हल्ला बढी भएको समाचार देख्थेँ। तुलना गर्दै नेपाल त हल्लै हल्लाको देश रहेछ भन्ने निष्कर्षमा पुग्थेँ।
भोलिपल्ट नर्वेको ओस्लो गएँ। दुई दिन बस्दा त्यहाँ त झन कोरोनाको 'क' पनि थिएन। नर्वेमा यो मेरो पहिलो भ्रमण थियो। नर्वेबाट फर्केर फेरि पेरिस आएँ। किनकी मेरो फर्किने रुट पेरिसबाट थियो। १७ मार्चमा म पेरिसबाट स्वदेश फर्किएँ। फर्किँदा नेपालमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको छ, के गर्छौं भन्ने प्रश्न विमानस्थल काउन्टरका कर्मचारीले गरेका थिए। मैले हुन्छ भनेपछि उनीहरुले विना कुनै परीक्षण विमानस्थलभित्र प्रवेश गराए।
म निर्वाध रुपमा पेरिसबाट काठमाडौंका लागि उडेँ। दोहामा १ घण्टे ट्रान्जिट थियो। त्यहाँ पनि कुनै जाँच थिएन। तर, नेपालमा भने विमानस्थलमा जाँचमात्र होइन लक्षण नै नदेखिए पनि सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको रहेछ। जाँदा परीक्षणविना गए पनि फर्किँदा भने मलाई स्प्रे गरिदिने, ज्वरो नाप्ने सहित क्वारेन्टाइनको व्यवस्था पालन गर्नुपर्यो। म फर्केपछि इटालीमा कोरोना संक्रमण बढ्दो छ। इटालीमा स्थिति नियन्त्रण बाहिर गएका बेला फ्रान्समा राष्ट्रपति इमानुयल म्याक्रोले सतर्कता अपनाउन विभिन्न उपायहरु अवलम्बन गरेका छन्। इटालीसँगको नाकामा कडाई, विद्यालय बन्द, सार्वजनिक स्थानमा भेला हुन प्रतिवन्ध, अत्यावश्यक कामबाहेक बाहिर निस्किए नियन्त्रणमा लिएर १२५ युरो जरिवाना लगायतका नियम कडाईंका साथ लागु गरिएको छ। विपदको घडीमा घरभाडा तिरिदिने, पारिश्रमिक पनि दिने घोषणा पनि फ्रान्सले गरेको छ। हप्ताको तीन दिन बिहान ८ देखि १२ बजेदेखि सरकारको सुपथ मूल्य पसल सञ्चालन ल्याइएको छ।
कोरोना फैलियो भने युरोपबाट सिक्ने पाठ के होला?
युरोप तथा विश्वकै एक शक्तिशाली देश फ्रान्सले कोरोना भाइरसविरुद्ध नआत्तिकन गरेको तयारी तथा सतर्कता र नागरिक संयमतापूर्वक साथलाई हेरेर नेपालले पनि अनुशरण गर्नसक्छ जुन विपदको बेलामा उपयोगी हुनसक्छ। त्यहाँका जनताको संयमता नेपालका लागि पाठ बन्न सक्छ।
हुन त नेपाल सरकारले कोरोना संक्रमण रोक्न तयारी गरिरहेको छ। तर, त्यो हल्लामा बढी भइरहेको छ। यसमा नागरिकहरु सचेत नहुँदा अझै प्रश्रय पाएको छ। कोरोनाभन्दा कोरोनाको मानसिक तनाव अहिले नेपालीहरुका लागि खतरनाक बनेको छ। १० दिने युरोप भ्रमणमा त्यहाँका मानिसमा वेपरवाह र नेपालीहरुको हल्ला तुलना गर्न लायक छ। हल्लाले त्रसित नेपालीलाई संयमित बनाउन नेपाल सरकारको भूमिका हुनुपर्छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अभिव्यक्ति तथा कतिपय सञ्चारमाध्यमबाट छरिएको भ्रमले कोरोनाको डरलाई अझै बढावा दिएको छ।
यद्यपि, सरकारले बुधवार गरेका निर्णयहरु कोरोना संक्रमण रोक्नका लागि महत्वपूर्ण छन्। यसलाई आम नागरिकले कार्यान्वयन गरेमा कोरोनाको रोकथाममा मद्दत पुग्नेछ।
यातायात क्षेत्र बन्द गराउने, उद्योगधन्दा, मलहरु, सिनेमाहरु बन्द गर्ने तथा दैनिक उपभोग्य वस्तु चोकचोकमा राखेर सुपथ मूल्य पसलमा दिनुपर्छ। सरकारले निम्न वर्गीय जो काम गरेर हातमुख जोर्छन, तिनीहरुलाई पारिश्रमिक भत्ताको व्यवस्था एक दुइ महिनालाई गरिदिए राम्रो हुन्थ्यो।
युरोपमा संक्रमणदेखिएसँगै धेरै शहरहरु लकडाउन गरिएका छन्। तर, उनीहरु हल्ला र अनिर्णयको बन्दी बनेका छैनन्। अन्तमा फ्रान्सका राष्ट्रपति म्याक्रोले भनेजस्तै नेपाल पनि कोरोनाविरुद्धको युद्धमा होमिइसकेको छ। युद्धमा राज्यको अनुभूति गराउने काम सरकारले गर्नुपर्छ।
(लेखक भलिबलको अन्तर्राष्ट्रिय रेफ्री हुन्।)