PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपाली व्यवसायीको कोरोनाविरुद्ध आक्रमक अभियान : आफ्नै पहलमा हात धुने स्टल

नेपाली व्यवसायीको कोरोनाविरुद्ध आक्रमक अभियान : आफ्नै पहलमा हात धुने स्टल

स्वेच्छा राउत/पहिलोपोस्ट


दुई साता अघि मोबाइल फोनको कारोबार गर्दै आएका व्यवसायी विवेक शर्मा टिभी हेर्दै थिए। समाचारमा कोरोना भाइरसको संक्रमणको खबर घन्किरहेको थियो। किनकि सञ्चार माध्यममा कोरोना भाइरसले विश्वव्यापी रुपमा पारेको असरको चर्चा हुन थालेकै तीन महिना भइसकेको थियो। नियमित त्यस्तै खबरका कारण त्रास र भय पनि बढेको थियो। साथै 'नियमित हात धोऔं', 'सफा रहौं', 'मास्क लगाऔं' जस्ता जनचेतना मूलक सामाग्रीहरु पनि मिडियाबाट बजिरहेका थिए।

तर, बजारमा मास्क, स्यानिटाइजर लगायत सामानको कृत्रिम अभाव पनि शुरु भइसकेको थियो। आयात बन्द हुँदै जानु र भएका सामग्रीसमेत अभाव गराउने प्रवृत्तिले एक किसिमको संकट नै निम्त्याइरहेको थियो।

मिडियाबाट आएका सामग्री सुनिरहँदा भने विवेकले आफ्नो मोबाइल पसल रहेको पाको रोड सम्झिए। त्यहाँ हरेक दिन हजारौं मानिसको आवत् जावत् गर्छन्। तर, एउटा सार्वजनिक शौचालय समेत् छैन। उपत्यकाका अधिकांश ठाउँहरुको हालत त्यस्तै हो।

'काम विशेषले बाहिर रहने आम मानिसले नियमति हात कहाँ र कसरी धुने?'

उनले आफैँसँग प्रश्न सोधे। जहीतहीँ समस्या र प्रश्नमात्र। त्यसैले आफ्नो तर्फबाट हुनसक्ने समाधानबारे सोचे।

'हात धुने व्यवस्था त मिलाउन सकिन्छ भन्ने लाग्यो र तत्काल वीरगंजबाट पानी ट्याङ्की मगाएँ,' उनले सुनाए।

पानी प्रशोधन व्यवसायमा पनि संलग्न रहेका उनले १२ वटा ट्याङ्की मगाए। ती ट्याङ्कीका लागि फलामे स्ट्यान्ड बनाउन लगाए। उनको यो प्रयासमा साथ दिन तयार भएका पाकोका अन्य मोबाइल व्यवसायीहरु पनि।

स्थानीय युवा क्लबले पनि स्टल जडानमा सक्रियता देखायो। श्रीराज महर्जन, महेन्द्र शाही, अमृत मानन्धर लगायतले पानी, साबुन, ह्यान्डवास लगायत सहयोग गरे। त्यसरी ट्याङ्की मगाएको २४ घण्टाभित्र पाको रोडमा हात धुने स्टलहरु उद्घाटन भए।

दुई साता अघिदेखि पाकोमा हात धुने धारा र साबुनको व्यवस्था छ, व्यवासायीकै पहलमा। हरेक दिन बिहान भरिएको पानी र आवश्यकता अनुसार साबुन फेर्ने काम हुन्छ यहाँ।

'होलीको दुई दिन पानीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले ट्याङ्की नै राखेनौं। नत्र मानिसहरुले नियमित प्रयोग गर्नुभएकै छ,' विवेकले भने।

यस्तो आपतकालीन अवस्थामा समस्याबारे चर्चा र 'सरकारले केही गरेन' भन्ने गुनासोभन्दा माथि उठेर आफ्नै तबरबाट हुनसक्ने सहयोग सबैले गर्नुपर्ने उनको तर्क छ।

'सरकारले सचेत गराइरहेको छ। एकपछि अर्को आवश्यक निर्णय र निर्देशन दिइरहेको छ। संक्रमण फैलिइहाले राज्यको तर्फबाट जिम्मेवारी बहन भइहाल्छ। हाललाई हाम्रो जिम्मेवारी संक्रमणको रोकथाम नै हो,' उनले भने।

हात धुने, स्यानिटाइजर प्रयोग गर्ने लगायत सेवा एक ठाउँमा उपलब्ध भएको देख्दा अर्को ठाउँमा पनि राखिने उनको विश्वास छ। यस्तो कुराको सिको जति धेरै भयो, उती कोरोनाको कहरबाट बच्ने सम्भावना रहन्छ। भयो पनि त्यस्तै। हालसम्म मैतिदेवी, कोटेश्वर, भोटेबहाल लगायत ठाउँमा हात धुने स्टल राखिएका छन्। कहीँ व्यक्तिगत प्रयासमा त कहीँ सामूहिक एवं संस्थागत् प्रयासमा यस्ता स्टलहरु थपिएका हुन्।

तीन दिनअघि साबुत्री अगरबत्ती उद्योगले मैतिदेवी, चारखाल लगायत ठाउँमा हात धुने स्टल सञ्चालनमा ल्याएका हुन्। अगरबत्ती उद्योगका निर्देशक मनिष मुन्द्राले भने, 'केही दिनभित्रै मानिसका चहलपहल बढी हुने पन्ध्र ठाउँमा स्टल सेट गर्ने लक्ष्य राखेका छौं। काठमाडौं बाहिरका मुख्य शहरहरुमा पनि गरी कुल ५० स्टल राख्छौं।'

उनका अनुसार हरेक स्टलको खर्च बाह्र हजार रहेको छ।

'यस्तो आपतको अवस्थामा खर्चभन्दा महत्वपूर्ण मानिसलाई संक्रमणबाट टाढा राख्नु हो। हामीले त्यसैको प्रयत्न गरेका हौं,' उनले भने।

यसरी जडान गरिएका हात धुने स्टलहरुलाई स्थानीय, व्यापारी वा क्लबहरुलाई जिम्मा दिइएको उनले बताए। जिम्मेवार व्यक्ति, संस्‍था वा समूहले धारा, ट्याङ्की लगायतको सुरक्षा गर्नेछन्। नियमित पानी भर्ने र साबुन राख्नेछन्।

'आम मानिसले ती पानी र साबुनको सक्दो उपयोग गरुन्। मजाले हात धोउन्,' मनिषले भने।



ट्रेन्डिङ पोस्ट

Ncell