PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोना विरुद्ध कलाकारहरुको भिडियो सन्देश, भन्छन् 'घरभित्रै बसौं, भ्रामक हल्लाको पछि नलागौं'



कोरोना विरुद्ध कलाकारहरुको भिडियो सन्देश, भन्छन् 'घरभित्रै बसौं, भ्रामक हल्लाको पछि नलागौं'

कोरोना भाइरस (कोभिड -१९)को संक्रमण विश्वव्यापी रुपमा फैलिएको छ। भाइरसको त्रासका कारण विश्वभर फिल्म क्षेत्र प्रभावित भएको छ। नेपाली फिल्म क्षेत्रपनि भाइरसको त्रासबाट अछुतो छैन। सरकारले हलहरु बन्द गर्न निर्देशन दिएपछि प्रदर्शनरत् फिल्महरु हलबाट उत्रिए। केही फिल्मको छायांकन स्थगित भएको छ। कलाकारहरु अहिले कोरोना भाइरसका बारेमा जनचेतना जुटाउन सक्रिय भएका छन्।

यसैबीच फिल्मका छायांकन स्थगित हुँदा अधिकांश कलाकारहरु फुर्सदमा हुँदा सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्। सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै नेपाली कलाकारहरुले नेपाली नागरिकहरुलाई कोरोनाको संक्रमणबाट बच्न आग्रह गरिरहेका छन्।

आइतबार फेसबुक लाइभ गर्दै कलाकार दीपकराज गिरीले कोरोणाको संक्रमणबाट बच्न घरमा परिवारको साथमा बस्न र सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरेका छन्। उनले भनेका छन् 'हामीहरु सबैजना प्राय कामको सिलसिलामा घर परिवारबाट निकै टाढा रहन्छौं। व्यस्तताको कारण परिवारलाई समय दिन पनि भ्याँउदैनौं। त्यसैले अहिले यो समयमा परिवारसँग सुरक्षित भएर बसौं।'

त्यस्तै अभिनेत्री वर्षा सिवाकोटी पनि शनिबारदेखि 'सेल्फ क्वारेन्टाइन'मा बस्न थालेकी छिन्। सीवाकोटीले आफ्नो फेसबुक अकाउन्टमा भिडियो पोष्ट गर्दै विश्वभरी कोरोना भाइरस फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहरेको बताएकी छिन्। उनले नेपालमा हालसम्म संक्रमण नदेखिए पनि मानिसहरुलाई सतर्कता अपनाउन आग्रह गरेकी छिन्। उनले भनिन् 'संक्रमणबाट बच्न साबुन पानीले हात धुने, भिडभाडमा नजाने, स्यानिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, लामो यात्रा अहिले नगर्नुस। साथै भ्रमित र त्रसित हल्लाहरुको पछि नलागौं।'

 

अभिनेता राजेश हमालले पनि भिडियो सन्देश मार्फत कोरोनाबाट बच्नलाई सतर्कता अपनाउनु पर्ने बताएका छन्। 'कोरोनाको संक्रमणबाट बच्न सतर्कता अपनाउनु होला।' उनले भने 'यसको औषधी पत्ता लागेको छैन्। त्यसैले सतर्कता अपनाउनु बाहेक अरु कुनै उपाय छैन्।'

कोरोनाको संक्रमणबाट बच्न आफू घरमा परिवारकै साथमा बसिरहेको उनले भिडियोमा भनेका छन्। 'अहिले म घरमै परिवारसँग समय बिताइरहेको छु। संक्रमणबाट बच्न सरसफाईमा ध्यान दिनुहोला। बाहिर निस्कनु पर्दा ह्यान्ड स्यानिटाइजर, मास्क लगाएर सुरक्षित भएर हिड्नु होला।'

त्यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै कोरोनाको संक्रमणबाट बच्न मास्क, लगाउन साबुन पानीले हात धुन र भिडभाडमा नजान आग्रह गरेकी छिन्।

उनले भनेकी छिन् 'कोरोना भाइरसले विश्व आतंकित बनाईरहदा सबैजनालाई घरमा बस्न अनुरोध गर्दछु। नमस्कार गर्ने बानी बसालौं। सकेसम्म घरमै बसौं। भिडभाडमा जाँदा मास्क लगाएर हिडौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell