PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश २ का अधिकांश सरकारी कार्यालय सूचना टाँस गरी बन्द 



सुमित मिश्र

प्रदेश २ का अधिकांश सरकारी कार्यालय सूचना टाँस गरी बन्द 

जनकपुरधाम : विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट बच्न प्रदेश २ का अधिकांश सरकारी कार्यालयहरु चैत २१ गतेसम्मको लागि बन्द गरिएको छ।

भारतको बिहार राज्यमा कोराना संक्रमणबाट एकजनाको मृत्यु भएपछि प्रदेश २ का स्थानीयहरु त्रसित भएका बेला नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनीकरण गर्न चैत ९ गतेदेखि २१ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको हो। प्रदेश २ का  सम्बिन्धत जिल्ला प्रशासन कार्यालयहरुले सूचना टाँस गरी सरकारी कार्यालयहरुको अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिएको जनाइएको छ।

नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिक रुपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरुपमा जोडिएका सम्पूर्ण कार्यहरु तत्कालका लागि बन्द गरिएको कार्यालयमा सूचना टाँस गरी जनाइएको छ। तर, प्रहरी कार्यालय, स्वास्थ्य निर्देशनालय, अस्पताल जस्ता अत्यावश्यक कार्यालयहरू भने खुला छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले अत्यावश्यक सेवा बाहेक सबै कार्य प्रवाह २१ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ। त्यस्तै, महोत्तरीको जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरी कैदबाट छाड्न निवेदनहरुमा सुनुवाई बाहेकका यस कार्यालयबाट दिने सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको विज्ञप्तिमा भनिएको छ।

यसैगरी कोरोनाको संक्रमणबाट जोगिन प्रदेश २ मै पहिलोपटक कटहरिया नगरपालिकाले हाटबजार नलगाउन आह्वान गरेको छ। भाइरसबाट जोगिन २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा नहुन सरकारले गरेको आह्वानलाई पालना गर्दै नगरप्रमुख सियाराम कुश्वाहाले हाटबजार नलगाउन आग्रह गरेका हुन्। मेयर कुश्वाहाले माइकिङ र स्थानीय रेडियोमार्फत सूचना प्रवाह गरी नगरक्षेत्र अन्तर्गतको सबै बजार नलगाउन अनुरोध गरे।

यस्तै धनुषाको शहीद नगरपालिकाले समेत जनचेतनाको लागि माइकिङ र विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको नगरपालिकाका प्रमुख उदय बरबरियाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell