PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भिसा अर्कै देशको, काम जर्मनीमा : कोरोना लागे न जर्मनीले हेर्छ न नेपालले



भिसा अर्कै देशको, काम जर्मनीमा : कोरोना लागे न जर्मनीले हेर्छ न नेपालले
फोटो : Getty Image

  • दीपक देवकोटा

ह्यामबर्ग, जर्मनी : पोल्यान्डको भिसामा युरोप आएका इटहरीका सरोज राउत अहिले जर्मनीमा छन्। युरोपियन युनियनका मुलुकहरुमा कुनै एक देशको भिसा लिएर अर्को मुलुक जान पाइन्छ। पोल्यान्ड छिरेका राउत त्यहाँबाट राम्रो कामको खोजीमा जर्मनी छिरे। जर्मनीमा पुगेर एउटा होटेलमा काम गर्दै आएका छन् उनी।

कोभिड-१९ को संक्रमण फैलिँदै गर्दा स्वस्थ रहनु त छँदै छ तर, उनमा अर्को चिन्ता पनि थपिएको छ। काम गर्दै आएको रेष्टुरेन्ट बन्द हुने भएसँगै उनले रोजगारीसमेत गुमाउँदै छन्। ‘कथम कदाचित हामीलाई संक्रमण भई हाल्यो भने हाम्रो स्वास्थ्य उपचार प्रक्रिया के हुन्छ?’ उनी चिन्ता व्यक्त गर्दै थिए।

जर्मनीमा करिब २५ हजारको हाराहारीमा नेपालीहरु छन्। राउत जस्तै कैयौँ नेपाली पोल्यान्ड, पोर्चुगल, इटाली, स्पेनको भिसा लिएर यहाँको इजाजत पत्र बिना काम गर्न आएका छन्। उनीहरुको एकीन तथ्यांक बर्लिनस्थित नेपाली दूतावाससँग पनि छैन। अरु देशको भिसाले यहाँ काम गर्न अनुमति पाइँदैन। साथै अरु देशको भिसाले जर्मनीमा स्वास्थ्य उपचारको बीमा पनि पाइदैन।

यदि उनमा कोभिड-१९ को संक्रमण देखिए के हुने? सरोजलाई जस्तै चिन्ता बुटवलका बुद्‍धि चालिसेलाई पनि छ। उनको पनि भिसा पोल्यान्डको छ। उनी जर्मनीमा काम गरिरहेका छन्।

'अर्को देशको भिसामा रहेकालाई जर्मनीमा नि:शूल्क उपचार हुँदैन। सशुल्क उपचार ज्यादै महंगो छ,' उनले भने, 'सामान्य रुघा लाग्दा ज्वरो आउँदा अस्पताल जान सकिँदैन। सामान्य बिरामीलाई अस्पतालले पनि हेरिरहेका छैनन्। हाम्रो अवस्था के होला?'

भाषालगायतको समस्याका कारण पनि यहाँको सरकारले नियम के बनाई रहेको छ भन्ने विस्तृत जानकारी प्राप्त गर्न कठिनाई भइरहेको छ। कथमकदाचित उनीहरुमा संक्रमण देखिए उनीहरुको उपचार प्रकृया के हुन्छ भन्ने कुरामा न यहाँस्थित दूतावासलाई चासो छ न त यहाँको एनआरएनएलाई नै।

पोल्यान्ड, पोर्चुगललगायतको देशहरुमा आउजाउका लागि पनि यहाँको सरकारले पूर्ण रुपमा नाकामा रोक लगाएपछि उनीहरु आफ्नो भिसा भएको देशमा फर्किनबाट पनि बच्चित भएका छन्। 'अब पोल्यान्ड नै फर्किउँ भने पनि नाका बन्द भइसकेको छ,' राउतले भने, 'काम गर्ने होटल पनि बन्द हुने भन्दै छन्। यहाँ महंगो भाडा तिरेर बस्न पनि समस्या छ।'

जर्मनीबाट नेपाल फर्किन पाउने आशा पनि छैन। नेपालले युरोपसहित संक्रमणमा रहेका देशहरुबाट नेपाल प्रवेशमा रोक लगाएको छ। हवाइ उडान पनि बन्द गरेको छ। 'हामी न नेपाल फर्किन सक्छौँ, न त पोल्यान्ड नै,' राउतले भने, 'भगवान भरोसा। पशुपतिनाथकै भर।'

रोगको महामारी फैलि रहेको बेला घर परिवारबाट टाढा रहनु पर्दाको चिन्ता एकातिर छ भने अर्कोतिर आफूले गर्दै आएको नोकरी गुम्दाको चिन्ता। यहाँको अधिकांश होटल रेस्टुरेन्टमा ग्राहकको कमी भएसँगै होटल रेस्टुरेन्टहरु धमाधम बन्द हुन थालेपछि यहाँ रहेका अधिकांश नेपालीहरुले रोजगारी पनि गुमाउँदै छन्।

कोरोनाको असरले नेपाली विद्यार्थीहरुमा अझ धेरै असर परेको देखिन्छ। सानो कोठा भाडामा लिए पनि महिनाको दुई सय-तीन सय युरो बुझाउनु पर्ने हुन्छ। अधिकांश विद्यार्थीहरु होटल रेस्टुरेन्टमा पार्ट टाइम काम गर्दै आफ्नो दैनिक खर्च चलाउने गरेका थिए। अधिकांश होटल, रेस्टुरेन्टहरु अनिश्चितकालको लागि बन्द भएसँगै विद्यार्थीहरुको अवस्था नाजुक बन्ने देखिन्छ।

चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को प्रकोप यतिबेला युरोपमा बढिरहेको छ। इटाली युरोपको आउटब्रेक इपिसेन्टरको रुपमा अगाडि आएको छ।

हालसम्म विश्वमा तीन लाख ११ हजार नौ सय ९८ जनामा कोभिड-१९ संक्रमण देखिएको छ। चीनमा ८१ हजार तीन सय ९४ जनामा संक्रमण देखिँदा इटालीमा मात्र ५३ हजार पाँच सय ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यसपछि संयुक्त राज्य अमेरिकामा २६ हजार सात सय ४७ जना, स्पेनमा २८ हजार पाँच सय २७ मा संक्रमण देखिएको छ।

त्यसपछि सबैभन्दा बढी संक्रमण जर्मनीमा भएको छ। यो आलेख लेख्दै गर्दा जर्मनीमा २३ हजार १२९ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। यहाँ कोभिड-१९ को संक्रमणबाट ९३ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको प्रकोप जर्मनीमा एक्कासी बढेसँगै यहाँको दैनिक चहलपहल ठप्प जस्तै छ। जर्मनीको अति संक्रमित क्षेत्र भनेको ओएस्ट फालेन भन्ने ठाउँ हो, जहाँ झन्डै ७ हजारको हाराहारीमा संक्रमित छन् भने २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। जर्मनीमा अहिलेसम्म कोही पनि नेपाली संक्रमित नभएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालीहरुको बाहुल्य रहेको क्षेत्र भनेको ह्याम्बर्ग, फ्रयाङ्कफर्ट, म्युनिखलगायतका क्षेत्र हुन्। जहाँ अहिलेसम्म कोही पनि नेपालीलाई संक्रमणको पुष्टि भएको छैन। नेपालीको सबैभन्दा बढी बाहुल्य रहेको क्षेत्र ह्याम्बर्गमा संक्रमितको संख्या ६६४ पुगेको छ।

कोरोनाको संक्रमण तीब्र गतिमा फैलिएसँगै यहाँको सरकारले निश्चित संख्याभन्दा बढी मानिस जम्मा हुन रोक लगाएको छ। स्कुल, कलेज, बार, क्लब, चर्चहरु पूर्ण रुपमा बन्द गरिसकेको छ। रेस्टुरेन्टलाई पनि डेलिभरी सर्भिसबाहेक अन्य सेवाहरु बन्द गर्न लगाएको छ। अटेर गर्नेलाई जरिवानासहित कारबाही गर्ने चेतावनी दिएको छ। कोरोना भाइरसका कारण यहाँका व्यापार व्यवसायहरु ठप्प भएसँगै यहाँ रहेका अधिकांश नेपालीहरु दोहोरो चिन्ताको मारमा परेका छन्।

अन्य छिमेकी देशको भिसा लिएर यहाँ आएर काम गर्ने नेपालीको संख्या कति छ भन्ने कुरा न दूतावासलाई नै एकिन जानकारी छ न त यहाँको एनआरएनएलाई नै थाहा छ।

नेपालीहरुमा संक्रमण देखिहाले के गर्ने? कुन उपाय अपनाउने? भन्ने कुरा पनि बर्लिनस्थित दूतावासले खासै चासो दिएको देखिँदैन। भलै एनआरएनले नेपालीहरुको समस्या समाधान गर्नका लागि भन्दै एउटा कार्यदल बनाएको छ।

एनआरएन जर्मनीका अध्यक्ष हरि न्यौपानेले नेपालीहरुको समस्या समाधानका लागि कार्यदल बनाएको भन्दै कार्यदलले समस्यामा परेकाहरू अध्ययन गर्ने त्यसपश्चात स्थानीय क्षेत्रबाट कसरी समस्याको हल गर्ने भन्ने छलफल गर्दै प्रभावकारी ढङ्गबाट सहयोग पीडितसम्म पुर्‍याउने बताए।

'पुरानो कथनअनुसार घाँटी हेरेर हाड निल्नु भन्ने कुरालाई कसैले नकार्न सकिन्न। शक्ति सम्पन्न राष्ट्रहरु समेत यो महामारीमा लम्पसार परेका छन्, हामी त के नै पो हौ र! होइन र?,' उनले भनेका छन्, 'यस अभियानमा संस्थामा रहनुभएका वा नरहनुभएका सबै सबैले आफ्नो उपस्थिति कसरी देखाउने भन्ने कुरामा भरपर्छ! यस कार्यदलमा जोसुकै नेपाली पनि बस्न सक्नुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell