PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कोरोना प्रभाव : धमाधम हिरासतमुक्त हुँदै थुनुवाहरु



सुमित मिश्र

कोरोना प्रभाव : धमाधम हिरासतमुक्त हुँदै थुनुवाहरु

जनकपुरधाम : प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले गम्भीर प्रकृतिको मुद्दा बाहेकका थुनुवालाई हिरासतमुक्त गरेको छ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको जोखिम कम गर्न प्रहरी प्रशासनले थुनुवाको संख्या घटाउन लागेको हो। कोरोना भाइरसको संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने भएकाले तत्कालै कैदीको संख्या घटाउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

उनले भने, ‘सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै सामान्य प्रकृतिको आपराधिक घटनामा संलग्न भएर प्रहरी हिरासतमा रहेका थुनुवालाई घर पठाउने तयारी थालेपछि हामीले सामान्य प्रकृतिका बन्दीहरुलाई रिहा गरेका हौं।’

कोरोना संक्रमण भइसकेको अवस्थामा आइपर्ने जटिल अवस्थालाई मध्यनजर गरेर सामान्य प्रकृतिका अपराधमा संलग्नहरुलाई छाडिएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डिएसपी कार्कीले आइतवार सामान्य प्रकृतिका १२ जनालाई रिहा गरिएको जानकारी दिए। उनले सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागुऔषध लगायतको सामान्य प्रकृतिका घटनामा संलग्न भई हिरासतमा रहेका थुनुवाहरुलाई छाडिएको बताए।

सोमवार समेत १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरेर कानुन बमोजिम हिरासतमुक्त गर्न लागिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय धनुषामा अहिले विभिन्न प्रकृतिका मुद्दाका ६० जना बन्दीहरु हिरासतमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell