PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘लक डाउन’ पछि सानो घेरामा प्रकृतिप्रेमी, 'नबुझ्नेलाई केही मतलब छैन, पढ्नेलाई तनाव बढी’



‘लक डाउन’ पछि सानो घेरामा प्रकृतिप्रेमी, 'नबुझ्नेलाई केही मतलब छैन, पढ्नेलाई तनाव बढी’

  • राजु आचार्य -

अनुसन्धान र संरक्षणमा समय बिताएका अनुसन्धानकर्मी र संरक्षणकर्मीहरु अहिले भने सानो घेरामा सीमित भएका छन्। कहिले तराई, कहिले पहाड, कहिले खोला अनि कहिले हिमाल तिर डुलिरहने यिनलाई आफ्नो बास निकै साँघुरो लाग्न थालेको छ। तर प्राय सबैले सरकारको लक डाउनलाई पूर्ण समर्थन र  अक्षरशः पालना गरेका छन्l यिनबाट समग्र नेपालले सिक्ने पाठहरू धेरै छन्।

प्रकृतिका साथीहरू संस्थाका  संरक्षण अधिकृत विकाश   घिमिरे भन्छन्, ‘कहिले कोरोना सकिएला र फिल्ड तिर जाउँला जस्तो मात्रै भएको छ।’ लामो समयपछि घर परिवारसँग समय बिताउन पाउँदा भने उनी खुसी छन्। उनले थपे, ‘फिल्डको काम रोकिए पनि, प्रस्तावना लेख्ने, प्रतिवेदन लेख्ने, फिल्डको लागि तयारी गर्ने काम अनलाइनबाट भएको छ। ढिलै भए पनि सरकारको राम्रो निर्णय आएको छ। यसलाई कडाइका साथ पालना गर्नुपर्छ।’

जिलोजिकल सोसाइटी अफ लन्डन, नेपालका राष्ट्रिय व्यबस्थापक  डा. हेमसागर बराल पनि लामो समय पछि परिवारसँग बस्न पाउँदा खुसी छन्। उनले नेपाल सरकारको लक डाउनलाई अक्षरशः पालना गरेका छन्। उनी थप्छन्, ‘यो पालना मैले कसैको लागि भन्दा पनि आफ्नै लागि हो। यसबाट म पनि जोगिन्छु र अरूलाई पनि जोगाउँछु।’ उनले थपे ‘हाम्रा फिल्डका धेरै  कामहरू रोकिएका छन्। तर भर्चुअल बैठक र अनलाइन छलफल भइरहेको छ। लेख्ने काममा व्यस्त छौँ।’

वरिष्ठ वन्यजन्तु विज्ञ एवम् प्राध्यापक  करनबहादुर शाह भर्खरै सिजनल रुघा खोकीबाट तङ्ग्रिएका छन्। उनी भन्छन् ‘दिनभरि बारीमा बिरुवाको रेखदेख गर्‍यो, मोबाइल चलायो, पत्रिका पढ्यो, डेड लाइन भएका प्रतिवेदन लेख्यो, आफन्तहरूसँग फोनमा कुरा गरेर बितेको छ,’ उनले भने ‘सरकारले लक डाउन भने पछि बाहिर निस्केको छैन।’

शाह भन्छन्, ‘नबुझ्नेलाई बरु केही मतलब छैन, पढ्नेलाई सबै कुरा थाहा छ त्यही भएर तनाव पनि बढी छ।’ उनी अलि बढी चिन्तित छन् र भन्छन् ‘ यदि लक डाउनलाई राम्ररी पालना गरिएन भने, यसले भयाभय स्थिति पैदा गर्छ। थाहा भएकाले थाहा नभएकोलाई बुझाउनु पर्छ। पूर्ण रूपमा सीमाहरू बन्द गरिनु पर्छl सुरक्षाको प्रत्याभूति भएन भने अस्पताल र प्रहरी चौकी पनि खाली हुन् सक्छन्। त्यसैले चिकित्सक, प्रहरी, सेना, सशत्र प्रहरी को स्वस्थ  सुरक्षा पहिलो प्राथमिकतामा रहनु पर्छ।’

दक्षिण एसियामा चरा अवलोकन गराउने संरक्षण विद् सोम जिसीका ६ वटा समूहले आफ्नो कार्यक्रम रद्द गरेपछि उनी फुर्सदिला भएका छन्। हाल उनी किताब  पढ्ने, बच्चाहरूसँग कार्टुन फिल्म हेर्ने र परिवारलाई समय दिएर समय बिताई रहेका छन्। सरकारको लक डाउनमा मानिसहरूले अनुशासित भएर सहयोग नगरेको उनको ठम्याई छ। उनी भन्छन्, ‘मानिसहरू बिहान र बेलुकी हिँड्न निस्केका छन्, समूहमा भेला भएर रमाइलो गरेका छन्। कहिले हिँड्न ननिस्कने मानिसहरू पनि प्रतिरक्षा प्रणाली मजबुत बनाउने भन्दै हिँड्न थालेका छन्। मानिसहरूले कोरोनालाई साधारण रुवा खोकी जस्तै ठानेका छन्।’ उनी आफू भने एक हप्ता देखि बाहिर निस्किएका छैनन्। भन्छन् ‘मेरो घरमात्र सुरक्षित भएर के गर्ने? कर्फ्यु नलगाई हुन्न। ‘

वनस्पति विज्ञ डा. दीपेश प्याकुरेल भन्छन्, ‘काठमाडौँमा आत्तिएको छु। फिल्डमा जानु पर्ने थियो। तर संसार भरिको समस्या हो के गर्ने? सरकारको प्रयास राम्रो छ। मैले र मेरो परिवारले पालना गरेका छौँ । तर केही अति जान्ने सुन्ने बाठाहरू लक डाउन सफल भयो कि भएन भनेर बाहिर निस्कँदा केही समस्या देखिएका  छन्। लक डाउनलाई थप कडाइका साथ लागू गरिनु पर्छ। उनी भन्छन्, ‘धेरै कार्यक्रमहरू पछि धकेलिएका छन्। जसले गर्दा असार मसान्तमा असर गर्ने छ।’  हाल उनी नेपालमा जडीबुटीको वर्तमान अवस्था नामक वैज्ञानिक लेख लेखेर तथा अन्य पुस्तकहरू पढेर समय बिताई रहेका छन्।

अहिलेको लक डाउन अरू बेलाको नेपाल बन्द जस्तो होइन। इटालीको जस्तो भयाभय स्थिति नेपालमा पनि हुन सक्थ्यो। इटाली र अमेरिकाको स्थितिले गर्दा हामीलाई तयारी हुने अवसर दिएको छ। यही अवसरलाई प्रयोग गरियो भने थोरै नोक्सानीले पनि यो  रोगसँग लड्न सक्छौ। यस्तो बेला सरकारलाई सहयोग गरौँl हैन भने तपाई हामीलाई पशुपतिनाथले पनि जोगाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell