
जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकामा श्रीमानको हत्यामा संलग्न रहेको अभियोगमा श्रीमती पक्राउ परेकी छिन्। श्रीमतीसँगै प्रहरीले एक पुरुषलाई पनि पक्राउ गरेको छ।
धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ३ का ६० वर्षीय राजकिशोर मण्डलकी श्रीमती कौशिलादेवी र सोही नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षीय राकेशकुमार पक्राउ परेका हुन्। शहीदनगरको डिहवारस्थित आफ्नै घरको कोठामा सुतिरहेका राजकिशोरमाथि कंक्रिट प्रहार गरेर कौशिलादेवी र राकेशले हत्या गरेको प्रहरीले जनाएको छ।
फागुन २७ गते होलीको दिन कोशिलादेवी र राकेशबीच टेलिफोनमा कुराकानी भई योजनाबद्द ढंगले राजकिशोरको हत्या भएको प्रहरीको दावी छ। राजकिशोरलाई राति खानामा नसालु ट्याब्लेट मिसाएर खुवाइएको र नसामा मातेर सुतिरहेको अवस्थामा कौशिलादेवीले राकेशलाई घरमा बोलाएर हत्या गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। राजकिशोर सुतिरहेका बेला दुवैजना मिलेर कंक्रिट प्रहार गरी हत्या गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
राजकिशोरको निधारमा पटक–पटक प्रहार गरी बीभत्स तरिकाले हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको कार्कीले बताए। घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरीले कौशिलादेवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई निजको घरबाट पक्राउ गरेको छ। राकेशको कौशिलादेवीसँग प्रेम सम्बन्ध रहेको समेत प्रहरीको दावी छ।
प्रहरी नियन्त्रणमा रहेका उनीहरुले पत्थरले टाउकोमा प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन्। नियन्त्रणमा लिएका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।