PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कोरोनाविरुद्ध जुध्न तयार पाटन अस्पताल : व्यवस्थित आइसोलेसनदेखि आफै सिलाउँदै पिपिई

कोरोनाविरुद्ध जुध्न तयार पाटन अस्पताल : व्यवस्थित आइसोलेसनदेखि आफै सिलाउँदै पिपिई

स्वेच्छा राउत/पहिलोपोस्ट


काठमाडौं : कोरोनाको संक्रमण ह्वात्तै बढ्यो भने के गर्ने? चिकित्सकदेखि सर्वसाधारणसम्मले यस्तै प्रश्न गर्छन्। धेरैले नेपालमा स्वास्थ्य क्षेत्र कोरोनासँग भिड्न सक्दैन भन्ने धेरैको अनुमान छ। तर, एउटा अस्पताल कोरोनाविरुद्ध तम्तयार भइसकेको छ। धेरैजसो अस्पतालका डाक्टरहरुसमेत भयभित छन् कोरोनासँग। तर, दुई वर्षअघि नै 'संक्रामक रोग रोकथाम अभ्यास' गरिसकेकाले यहाँका चिकित्सक तुलनात्मक हिसाबले निर्धक्क लाग्छन्। कुन हो त यो अस्पताल?

तीन महिनाअघि चीनको वुहानबाट नयाँ भाइरस आउटब्रेक भयो। त्यसपछि स्वास्थ्य मन्त्रालयले तत्काल बैठक डाक्यो। र, नोवल कोरोना भाइरस संक्रमणविरुद्ध लड्न आवश्यक तयारी गर्ने निर्देशन दियो। सबै अस्पतालले यस्तो निर्देशन पाएका थिए।

तर, निर्देशन अनुसार आक्रमक रुपमा काम अघि बढायो, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) ले। अस्पतालको पहिलो प्राथमिकता आइसोलेसन वार्डको व्यवस्थापन। जसका लागि शुरुवातमै पाँच वटा शय्या छुट्याइयो। दुई वर्षअघि पाटन अस्पतालकै संक्रामक रोग रोकथाम समितिको संयोजनमा गरिएको ग्रिल (संक्रामक रोग रोकथाम अभ्यास)ले निकै काम गर्‍यो यतिबेला।

'संक्रामक रोग जहिले जहाँबाट पनि फैलन सक्छ भन्नेमा हामी सतर्क थियौं। फेरि यो भूकम्प वा सडक दुर्घटनामा परेका घाइतेको उपचारजस्तो एउटाले मात्र भोग्दैन। एउटाबाट अर्कोमा सर्छ। त्यस्तो अवस्था आइपरे के गर्ने? भन्नेबारे अभ्यास गरेका थियौं,' पाटन अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले भने।

कोरोना भाइरस संक्रमण (कोभिड १९) विश्वव्यापी बन्दै गयो। त्यसका लक्षणसँग मिल्दो समस्या देखिएका मानिसहरु आत्तिन थाले। परीक्षणका लागि अस्पताल पुग्नेहरु बढे। स्वास्थ्य मन्त्रालयले सयभन्दा बढी शय्या भएका निजी अस्पताललाई शंकास्पद् बिरामीको उपचार गर्न निर्देशन दियो।

तर, अधिकांश अस्पतालहरुले पूर्वाधार नभएको भन्दै पन्छिए। यसका कारण बिरामी सँगसँगै स्वास्थ्यकर्मी पनि आत्तिन पुगे। केही अस्पतालले ज्वरो आएको, लहरे खोकी लागेको, स्वास प्रस्वासमा समस्या देखिएका बिरामीलाई सामान्य जाँच समेत नगरी सिधैं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अथवा पाटन अस्पताल नै रेफर गर्न थाले।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त संक्रमण शंकास्पद् व्यक्तिको ल्याब परीक्षण हुन्थ्यो। सँगै, पाटन अस्पताल रेफर हुनुको कारण चाहिँ - कोरोना संक्रमितको उपचारका लागि भएको विशेष व्यवस्थापन।

कोरोना संक्रमणको शंका गरेर पाटन अस्पताल पुगेका बिरामीलाई सुरुमा 'फेवर क्लिनिकमा' परीक्षण गरिन्छ। उनीहरुमा कोभिड १९ का लक्षण नदेखिए सतर्क रहने सुझावसहित फर्काइन्छ। यदि कसैमा लक्षण देखिए अस्पतालमै भर्ना गरिन्छ। यसका लागि अस्पतालको नयाँ भवनमा ६ वटा आइसोलेसन शैय्या राखिएका छन्। उनीहरु स्वास्थ्य परीक्षणका लागि तीनदेखि चार दिन त्यहीँ रहन्छन्। संक्रमण परीक्षणको नतिजा आएपछिका लागि दुई विकल्प छन् - पहिलो, रिपोर्ट पोजिटिभ आएको खण्डमा 'इन्फेक्टेड बेड'मा सार्ने। जसका लागि १५ वटा शैय्या र २० वटा आइसियू तयार छन्।

दोस्रो, रिपोर्ट नेगेटिभ आएको खण्डमा सेल्फ क्वारेन्टाइनमा बस्ने सुझावसहित फर्काउने।

हालसम्म पाटन अस्पतालमा जाँच गराएका कसैमा पनि यस्तो संक्रमण देखिएको छैन।

'नदेखिनुको मतलव भविष्यमा पनि सुरक्षित छौं भन्ने होइन। त्यसैले हामीले आवश्यक तयारी गर्‍यौं,' निर्देशक शर्माले भने, 'जसका कारण बिरामीलाई अन्यत्र रेफर गर्नु परेन र अन्य स्वास्थ्य सेवा ठप्प पार्नु पनि परेन।'

उनले अस्पतालमा उपलब्ध सम्पूर्ण स्रोतको प्रयोग गरेर कोरोनाविरुद्धको अभियानमा जुटिरहेको बताए। कोरोनाविरुद्धको यो लडाईमा सरकारलाई मात्र उनीहरुले साथ दिएका होइनन्, आम मानिसका लागि मेहनत गरिरहेका हुन्। किनकि सरकारको काममात्र भए 'सरकारको काम कहिले जाला घाम' भने झै हुनसक्छ।

'अहिले नियन्त्रणमा ध्यान नपुर्‍याए भयावह अवस्था निम्तन सक्छ। त्यसपछि कुनै संयन्त्रले काम गर्न मुश्किल पर्छ,' डाक्टर शर्माले भने। उनले अस्पताल प्रशासन लगायत चिकित्सक, स्वास्थ्यकर्मी एवम् अन्य कर्मचारीहरुले यही कुरालाई ध्यानमा राख्दै सेवामा खटिएको बताए।

आइसोलेसन शैय्यादेखि आइसोलेसन आइसीयूमात्र तयार गरेर कोभिड १९ सँग भिड्न सकिन्छ त? पक्कै सकिन्न किनभने त्यहाँ उपचारमा संलग्नहरु पनि जोगिन आवश्यक छ। त्यसको तयार पनि कम सजिलो होइन, अहिलेको अवस्थामा।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ संक्रमितको उपचार गर्नका लागि पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिई) आवश्यक रहने जनाएको भए पनि नेपालमा त्यसको अभाव छ। संक्रमितको उपचार गर्दा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र आइसोलेसन वार्डमा रहने सबैले अनिवार्य पिपिई लगाउनुपर्छ। टाउकोदेखि खुट्टासम्म छोपिने गरी मास्क, गाउन, फेस सिल्ड, जुत्ता लगाउनुपर्छ।

यस्ता अनिवार्य सामग्रीको विश्वव्यापी अभावको खबर सार्वजनिक भएका छन्। विश्व स्वास्थ्य संगठनले त उत्पादकहरुले ४० प्रतिशतसम्म उत्पादन नबढाए अभाव यथावत् रहने समेत जनाएको छ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसनले २५ सेट पिपिई उपलब्ध गराएको थियो, अस्पताललाई जुन पर्याप्त थिएन। त्यसैले त्यो आइसोलेसन वार्डमा रहेका बिरामी जाँच गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गरे। यस्तो अवस्थामा अन्य वार्ड र अस्पताल परिसरमा काम खट्ने स्वास्थ्यकर्मीदेखि कर्मचारीसम्मका लागि आवश्यक उपकरण आफै बनाउँदैछ, पाटन अस्पताल। जुन पिपिई उनीहरु पाटन अस्पतालमा मात्र प्रयोग गर्छन्। अन्त सप्लाइ गर्दैनन्। 

अस्पतालका नियमित कालिगढले पिपिई गाउन, टाउकोदेखि घाँटीसम्म ढपक्कै ढाँक्ने टोपी, पन्जा, मास्क, भाइजर र बुट बनाउन थालेका हुन्। बजारमा उपलब्ध टफेटा कपडाले बनेको गाउन पूर्ण रुपमा पानी र हावा प्रतिरोधात्मक छ। अस्पतालका हाउसकिपिङ विभागका प्रमुख मोहन पौडेलका अनुसार पिपिईको पूर्ण अन्तर्राष्ट्रिय डिजाइन् र गुणस्तर हेरेर तयार पारिएको छ।

एक सातादेखि हरेक दिन सातदेखि आठ वटासम्म पिपिई सेट तयार भइरहेको छ। पुन: प्रयोग गर्न सकिने त्यहीँ उत्पादित पिपिई लगाएर अस्पताल परिसरमा डिस्इन्पेक्सन स्प्रे छर्दै देखिए, त्यहाँका कर्मचारी।

पौडेल भन्छन्, 'हामीले संक्रमण फैलन नदिन सक्दो सावधानी त अपनाइरहेका छौं नै। साथै, आवश्यक सुरक्षा सामाग्री पनि आफै उत्पादन गरिरहेका छौं। किनकी यस समय सरकार अथवा कुनै निकायले केही गरेन भन्दै प्रश्न गर्नेभन्दा बढी आफ्नो ठाउँबाट के सकिन्छ त्यही गर्ने समय हो।'

अस्पतालले सरसफाइमा विशेष ध्यान दिएको छ। मुख्य गेटबाट भित्र छिर्नासाथ हात धुनका लागि पर्याप्त पानी र साबुनको व्यवस्था गरिएको छ। साथै विभिन्न विभाग र कक्षहरुमा स्यानिटाइजर राखिएका छन्। डाक्टर, नर्स एवं सुरक्षाकर्मी एवं अन्य कर्मचारी एकअर्का वा सेवाग्रहीलाई भेट्दा सोध्छन् – हात धुनु भयो?

यसरी अस्पतालको वातावरणदेखि व्यवस्थापनसम्मले कोरोना भाइरसविरुद्ध सावधानी अपनाउन घच्घच्याउँछ। निर्देशक शर्मा भन्छन्, 'आखिर हामी सबैलाई थाहा छ त्यो स्थिति आउनुभन्दा अगाडि नै नियन्त्रण गर्नतर्फ लाग्नु उचित हुन्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell