PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आविष्कार केन्द्रको पीपीई मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक छ भनेको हुँ : डाक्टर भगवान कोइराला



स्वेच्छा राउत

आविष्कार केन्द्रको पीपीई मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक छ भनेको हुँ : डाक्टर भगवान कोइराला

काठमाडौं : डाक्टर भगवान कोइरालाले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले तयार परेको पीपीई मेडकल काउन्सलको गाइडलाइन अनुसार ठीक रहेको बताएका छन्। कोइराला नेपाल मेडिकल काउन्सिलका अध्यक्ष हुन्।

'उहाँले मलाई नमूना देखाएर सोध्नु भएको हो। मैले नेपाल मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक छ भन्ने धारणा राखेको हुँ', कोइरालाले पहिलोपोस्टसँग भने।

डाक्टर कोइरालाले उक्त धारणालाई आफ्नो व्यक्तिगत भएको बताए।

'नेपालमा संक्रामक रोगबाट बच्न सुरक्षा उपकरण बन्नु खुशीको कुरा हो। यसको गुणस्तर राम्रो, नराम्रो चाहिँ हामीले भन्ने होइन। सरकारले गुणस्तर तथा नाप तौल विभाग अन्तर्गत गठन गरेको समितिले तय गर्छ,' उनले भने।

कोरोना संक्रमण बढ्दै जाँदा पीपीईको अभाव हुन थालेपछि सरकारी अस्पतालहरुकै अनुरोधमा महावीर पुनले पीपीईको नमुना तयार पारेका हुन्। त्यसलाई हेरेपछि डाक्टर कोइरालाले नेपाल मेडिकल काउन्सिलको गाइडलाइन अनुसार ठीक रहेको बताएका थिए। त्यसपछिमात्रै महावीर पुनले ४ सय वटा पीपीई सिलाउने प्रकृया अगाडि बढाएका हुन्।

पुनले डाक्टर कोइरालाले ठीक छ भनेपछिमात्र आफूले काम अगाडि बढाएको बताएका थिए। 

पीपीईको चरम अभाव भएकै अवस्थामा महावीर पुनले उत्पादन थालेपछि केही चिकित्सकहरु नै यसको गुणस्तरलाई लिएर सोसल मिडियामा उत्रिएका थिए। पुनले तयार गर्नुअघि नै पाटन अस्पतालमा यस्तै प्रकृतिको पीपीई उत्पादन हुँदै आएको छ जुन त्यहाँका चिकित्सकहरुले प्रयोग गर्दै आएका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि यस्तै पीपीई उत्पादन गर्दै आएको छ।

अस्पतालका निर्देशक सागरकुमार भण्डारीका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप सुरक्षा उपकरण उत्पादन गरिएको छ। उनले भने, 'हामी उच्च जोखिममा रहेर काम गरिरहेका छौं। यस्तोमा आफू र हाम्रा स्वास्थ्यकर्मीको सुरक्षाका लागि सक्दो संयमित र संवेदनशील बनेर मात्र उत्पादन थालेका हौं।'

आविष्कार केन्द्रले शिक्षण अस्पताल, काठमाडौं र वीपी कोइराला अस्पताल धरानका लागि पिपिई बनाइरहेको छ। ती पिपिई अस्पतालकै प्रयोगका लागि हो।

यसरी छोटो समयमा सहज ढङ्गले तयार पारिएका पिपिईको गुणस्तर कस्तो हुन्छ? सामाजिक सञ्जालमा आम मानिसदेखि स्वास्थ्यकर्मी समेतका लागि जिज्ञासाको विषय बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell