शुक्रवार लकडाउनका कारण सुनसान वसन्तपुरको झोंछे गल्लीमा हिँड्दै थिए एक युवक। एउटा हातमा मिनरल वाटरको झोला। अर्कोमा दुईवटा भिन्नाभिन्नै पोका। दुवैमा प्याकिङ गरिएका खानेकुराको बट्टा। लकडाउन अवज्ञा गर्दै हिँडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिइरहेको अवस्थामा उनी भने गल्लीबाट मुख्य सडकतर्फ निस्किँदै थिए जहाँ ट्राफिक प्रहरी, नेपाल प्रहरीदेखि सशस्त्रसम्म तैनाथ थिए।
हामीले उनलाई सतर्क गर्न केही नजिक पुग्यौं। उनी त आफ्नै साथी पो रहेछन्।
सेरफ मोक्तान। सँगै मास्टर्स गर्दैछन्। २४ वर्षीय उनी वसन्तपुरमा रेस्टुरेन्ट पनि सञ्चालन गर्छन्।
सोध्यौं : 'कता हिँडेको? पुलिसले पक्रेलान् नि।'
'खाना पुर्याउन हिँडेको। पुलिसलाई नै हो।'
उनी धेरै बोल्न चाहेनन्। तर, हाम्रो प्रश्नको श्रृङ्खला पनि कहाँ टुंगिनु? उनीसँग कुरा गर्दै अघि बढ्यौं।
लकडाउनको तेस्रो दिन झोंछेस्थित आफ्नो 'ब्याक यार्ड रेस्ट्रो'मा बसेर समाचार पोर्टलहरु हेर्दै रहेछन्। ध्यान खिचेछ एउटा समाचारले जसमा पाउरोटी र चाउचाउकै भरमा प्रहरी खटिनु परेको जानकारी थियो।
लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्थाबारे खबर पढ्दा दु:खी भए उनी। उचित व्यवस्थापनका लागि उभिएकाहरुका लागि आवश्यक खानपानको प्रबन्ध समेत त्यति कमजोर?
'खिन्न महसुस भयो। किन कुनै व्यवस्थापनविना निर्णयहरु हुन्छन् होला? एउटालाई जोगाउन किन अर्कोको बारेमा सोचिदैन होला? यस्तै कुरा मनमा खेल्यो', उनले सुनाए।
समाचार पढिसकेर जुरुक्क उठे र रेस्टुरेन्टको फ्रिजदेखि स्टक राख्ने ठाउँ एकएक हेरे। सामान टन्नै थिए। तर, रेस्टुरेन्ट बन्द। त्यो अवस्थामा केही दिनमै ती सामाग्री बिग्रन सुरु हुने निश्चित थियो। त्यसैले कामदार भाइहरुलाई बोलाए र धमाधम खाना बनाउन सुरु गरे। फ्राइड राइस, म:म र फ्रेन्च फ्राइज। उनको एउटै योजना – दिनभर गर्मी सहेर सुरक्षामा खटिने प्रहरीहरुलाई खाजा पुर्याउने।
'लकडाउनमा धेरै परसम्म पुग्न त सकिँदैन तर वरपर खटिनु भएका सर म्यामहरुलाई पुर्याउन सकिएला भन्ने थियो', उनले सुनाए।
प्रहरीलाई नसोधी सिधैं खाजा पुर्याउँदा कुनै समस्या हुन्छ कि भन्ने डर पनि थियो उनको मनमा।
'ट्राइ त गरौं' भन्ने सोचले डोहोर्यायो। लकडाउनको तेस्रो दिन १२ प्याकेट खाजा बोकेर निस्किए। गल्ली पच्छ्याउँदै बन्दै गरेको धरहरा अगाडि पुगे। महानगरीय प्रहरी परिषद् काठमाडौंबाट खटिएका केही प्रहरी भेटे। उनीहरुले सोध्नुअघि आफू त्यहाँ पुग्नुको कारण बताए। प्रतिक्रिया सामान्य रह्यो।
प्रहरीले सेरफले लगेको खाजा र पानी स्वीकारे। बद्लामा हाँसो र धन्यवाद दिए।
'रिसाउनु होला भन्ने ठानेको थिएँ। खुशी हुनुभयो। मलाई पनि खुशी लाग्यो। सामान रहुन्जेल भद्रकाली आसपास खटिनु भएका सुरक्षाकर्मीलाई सकेको सहयोग गर्छु भन्ने सोचेरै फर्किएँ,' उनले भने। उनी आसपास रहने ट्राफिक प्रहरी र नेपाल प्रहरी कति छन्? बुझेर फर्किएका थिए।
शुक्रबार पहिलो दिनको भन्दा दोब्बर बट्टा बनाएर निस्किए। फिस फ्राइज र स्माइली पोट्याटो बनाए। आलु चपमा हाँसी रहेको मुहारको आकृतिसहित। थकान मेटाउन्, खुशी होइन् भन्ने सोचेर त्यो मिहेनत गरेका थिए उनले।
शहीद गेटदेखि वीर अस्पतालसम्मको मुख्य सडकमा भेटिएका सुरक्षाकर्मीलाई खाजा र पानी बाँडे।
'अन्तिम प्याकेट बाँकी थियो। एक जना प्रहरीले – 'भोक लागिराथ्यो खाजा आइपुग्यो' भन्दै खाजा लिँदा म दङ्ग परेँ', उनले भने।
गत सोमबार सामान थपेका केही घण्टामै लकडाउन घोषणा भएको थियो।
'बेक्कार सामान थपिएछ भन्ने सोचेको थिएँ। अहिले लाग्छ - थपेर दामी गरेँ,' केही उत्साहित सुनिए उनी।
शनिवार हामीले उनलाई स्माइली पोट्याटोको फोटो माग्न सम्पर्क गर्यौं। बाटोमै रहेछन्। खाजा पुर्याएर फर्किरहेको। सोध्यौं – आज के लगियो त?
'फ्राइड राइस। भोलि चाहिँ चाउमिन बनाउने प्लान छ।'
प्रहरीले घरमै बस्नु भन्दै निर्देशन दिइराख्दा किन यत्रो जाँगर?
'यो एकअर्काको लागि जसरी सकिन्छ त्यसरी सहयोग गर्ने समय हो। अनि यसरी हरेक दिन के पकाउने? भन्ने बारे प्लान गर्दा मलाई निकै आनन्द मिलेको छ', उनले भने।
साथीले गरेको काम देख्दा म भने दङ्ग।