PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश २ सरकारको निर्णय : लकडाउन अवधिभर दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई खानाको व्यवस्था गर्ने



सुमित मिश्र

प्रदेश २ सरकारको निर्णय : लकडाउन अवधिभर दैनिक ज्यालादारीमा खट्ने मजदुरलाई खानाको व्यवस्था गर्ने

जनकपुरधाम : प्रदेश २ को सरकारले लकडाउन अवधिभर प्रदेश रका गरिव, तथा दैनिक ज्यालादारीमा खट्ने मजदुरहरुको खानाको व्यवस्था गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आज सम्पन्न बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवनरक्षाको लागि खानाको व्यवस्था प्रदेश सरकारको तर्फबाट गरिने निर्णय गरेको हो। प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि महानगरलाई २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले यादवले जानकारी दिए।

यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरिने कार्यविधि बनाइएको यादवले बताए।

यसका साथै कोरोनाको उपचारमा खटिने चिकित्सकहरुको जीवनबीमाका साथै शत प्रतिशत प्रोत्साहन भत्तासमेत दिइने भएको छ।

सरकारले कोरोना रोकथामका लागि हालसम्म गरेको प्रयास र अगामी दिनमा लिइने नीति बारे जानकारी गराउन सर्वदलीय बैठकसमेत बोलाएको थियो।

सर्बदलीय बैठकमा मुख्यमन्त्री लालबाबु राउतसहितका मन्त्रीहरु, काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका नेताहरु शत्रुधन महतो, किशोरी साह कमल, विभिन्न मन्त्रालयका सचिवहरु समेतको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell