PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश नम्बर २ मा विदेशबाट आएका २३२ जना क्वारेन्टाइनमा



सुमित मिश्र

प्रदेश नम्बर २ मा विदेशबाट आएका २३२ जना क्वारेन्टाइनमा

जनकपुरधाम : प्रदेश नम्बर २ मा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा २३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। केही दिनयता भारत तथा तेस्रो मुलुकबाट फर्केर नेपाल आएका २३२ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा सबैभन्दा बढी ६५ जना क्वारेन्टाइनमा राखिएको छ। रौतहटको चन्द्रनगर नगरपालिकास्थित चन्द्रपुर हस्पिटल प्रालिमा भर्ना भएका तीन जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

यसैगरी सप्तरीस्थित विभिन्न क्वारेन्टाइनमा १२२ र सिरहामा १५ जना तथा ६ जना होम क्वारेन्टाइनमा रहेको झाले बताए। धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा ११ जना र होम क्वारेन्टाइनमा २ जना रहेको उनले जानकारी दिए। हालसम्म महोत्तरीस्थित क्वारेन्टाइनमा कोही शंकास्पद आएका छैनन्। महोत्तरीमा दुईवटा क्वारेन्टाइन रहेकोमा हालसम्म कसैलाई नराखिएको निर्देशनालयले जनाएको छ।

यता सर्लाहीमा दुई जनालाई क्वारेन्टाइन, १९ जना होम क्वारेन्टाइनमा तथा पर्सामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयले जनाएको छ। बारामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ।

रौतहट र बाराका ६ जनाको स्वाब परीक्षणका लागि शुक्रवारै काठमाडौं पठाइए पनि हालसम्म रिपोर्ट आइनसकेको निर्देशनालयले जनाएको छ। प्रदेश २ मा हालसम्म कोरोनाको शंका गरिएका कसैमा पनि पोजिटिभ नदेखिएको निर्देशनालयले बताएको छ। निर्देशनालयका अनुसार क्वारेन्टाइनमा शंकास्पदहरु भर्ना गरिएपनि प्रदेश २ मा हालसम्म परीक्षणको लागि आवश्यक किटको अझै अभाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell