PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

महावीर पुन र सेनाले बनाएको पीपीईलाई गुणस्तर तथा नापतौलको ग्रिन सिग्नल, तीन दिनमा तयार हुँदै गाइडलाइन



स्वेच्छा राउत

महावीर पुन र सेनाले बनाएको पीपीईलाई गुणस्तर तथा नापतौलको ग्रिन सिग्नल, तीन दिनमा तयार हुँदै गाइडलाइन

काठमाडौँ : गुणस्तर तथा नापतौल विभागले गरेको परीक्षणबाट राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) प्रयोग गर्नका लागि उपयुक्त देखिएको छ। विभागका प्रमुख विश्वबाबु पुडासैनीको संयोजकत्वमा गठित उप समितिको आज बसेको बैठकले 'सीम सिलिङ' गरेपछि केन्द्रले तयार गरेको पीपीई सुरक्षित रुपमा प्रयोग गर्न सकिने ठहर्‍याएको हो। उप समितिमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरु छन्।

‘महावीर पुनको आविष्कार केन्द्र र नेपाली सेना दुवैको पीपीई परीक्षणका लागि विभागमा आइपुगेको छ। हामीले हेर्दा दुवैले प्रयोग गरेको सामान गुणस्तरीय रहेको पाएका छौँ,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक पुडासैनीले पहिलोपोस्टसँग भने, ‘आविष्कार केन्द्रकोमा सीम सिलिङ गरेमा प्रयोग गर्न मिल्ने देखेका छौँ।‘

पीपीई सिलाउँदा सियोले पारेको प्वाललाई सिलाइसँगै टाल्ने काम (सीम सिलिङ)  हो।

परीक्षणका लागि नमूना तयार पारिएको पीपीईमा सीम सिलिङ राखिएको थिएन। तर केन्द्रले प्रयोगका लागि उत्पादित पीपीइमा सीम सिलिङ गर्न थालिएको छ। पुनले एउटा मात्रै मेसिन भएकाले समस्या भएको बताउँदै थप मेसिन प्राप्त हुन सके उत्पादन बढाउन सकिने दाबी गरे।

गाइडलाइन तीन दिनभित्र

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएसँगै कारण स्वास्थ्य सम्बन्धी सामाग्रीको अभाव हुन थालेपछि स्वदेशमै उत्पादनको काम तीब्र भएको छ। मास्क, स्यानिटाइजर र पीपीईको उत्पादन हुन थाले पनि गुणस्तर भने तोकिएको थिएन। यसभन्दा अघि यी सबै सामान विदेशबाट आयात हुन्थे भने कतिपय कुनै मापदण्ड बिना नै नेपालमा बन्ने गरेका थिए। तर कोरोना संक्रमणको महामारीसँगै विश्वमै यस्ता सामाग्रीको अभाव हुन थाल्यो।

अभावसँगै स्वदेशमै मास्क, स्यानिटाइजर र पीपीई उत्पादन हुन थाल्यो। तर उत्पादित सामाग्रीको गुणस्तर जाँचको मापदण्ड नभएपछि विभागले निश्चित मापदण्ड बनाउन लागेको हो।

विभागको आइतबार बसेको गुणस्तर परिषद्को आकस्मिक बैठकले गाइडलाइन तयार गर्न महानिर्देशक पुडासैनीको संयोजकत्वमा उपसमिति गठन गरेको हो।

उपसमितिमा स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि सदस्य छन्। यो समितिले तीन दिनभित्र यी सबै बस्तुको मापदण्ड बनाउने छन्। त्यही मापदण्डका आधारमा मास्क, स्यानिटाइजर र पीपीई उत्पादन गर्नु पर्नेछ। उपसमितिका संयोजक पुडासैनीले युरोपेली मापदण्डकै आधारमा ती वस्तु उत्पादन गर्नुपर्ने मापदण्ड तयार पारिने बताए।

‘यी सबै स्वास्थ्यसँग जोडिएका संवेदनशील बस्तु हुन्। अझ स्वास्थ्यकर्मीको सुरक्षासँग जोडिएका वस्तुको मापदण्डमा कुनै सम्झौता हुनु हुँदैन भन्नेमा हामी सचेत छौँ,’ उनले भने, ‘विदेशको हकमा सम्बन्धित कम्पनीले सर्टिफाइड गरेको आधारमा आयात गर्न पाउँछ भने हाम्रो हकमा सुरक्षाको सबै मापदण्ड पूरा गरेको हुनुपर्छ।’

चर्को अभाव सुरु भएपछि राष्ट्रिय आविष्कार केन्द्रले पीपीई उत्पादन थालेको हो। महावीर पुनले आफूले तयार परेको नमुना नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइरालालाई देखाएका थिए। नमूना हेरेपछि काउन्सिलको मापदण्ड अनुसार पीपीई ठीक भएको कोइरालाले बताएपछि केन्द्रले ४ सय थान पीपीई सिलाउन सुरु गरेको थियो।

पुनले थालेको पीपीई उत्पादन धेरैका लागि सुखद् खबर बन्यो। चिकित्सकसँगै कोरोना भाइरसविरुद्ध मैदानमा उत्रिएका नेपाल प्रहरी र नेपाली सेनामा पनि यसको अभाव भोगिरहेको छ। त्यसैले नेपाल प्रहरी र नेपाली सेना पनि अनुसन्धान केन्द्र पुगे। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण परीक्षण, उपचारदेखि रोकथामका क्रममा पीपीईलाई अत्यावश्यक ठहर गरेको छ। प्रहरी र सेना चाहिँ कसरी सुरक्षित रुपमा यसको उत्पादन गर्न सकिन्छ भन्ने बुझ्नका लागि पुगेका हुन्। महावीर पुनले उनीहरुसँग यसबारे छलफल गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्।

के हो पीपीई?

पीपीईलाई सोझो अर्थमा बुझ्ने हो भने यो चिकित्सक एवम् स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग हुने कवच हो। यसमा हेयर क्याप, भाइजर, विशेष किसिमको चश्मा, एन ९५ मास्क, पन्जा, शरीर ढपक्क ढाक्ने गाउन, त्यस्तै कपडाको मोजा, बुट, रेस्पिरेटर आवश्यक हुन्छ।

कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएपछि स्वास्थ्य सेवामा उत्कृष्ट भएका देशदेखि अन्य विकसित मुलुकमा पनि यसको अभाव छ।

कस्तो हुनुपर्छ यो?

पीपीईको गुणस्तर कस्तो हुन्छ? सामाजिक सञ्जालमा आम मानिसदेखि स्वास्थ्यकर्मी समेतका लागि जिज्ञासाको विषय बनेको छ।

सामान्य कपडा वा रेनकोट बनाउने कपडाको पीपीई हुँदैन। यसका लागि सिन्थेटिक वा टफेटा कपडाको प्रयोग हुनेगर्छ। पीपीईमा कपालदेखि घाँटीसम्मको भाग ढाक्ने सुरक्षित क्याप, भाइजर र विशेष किसिमको चश्मा पनि आवश्यक पर्छ।

यसरी नाक, आँखा, कान, मुख ढपक्कै ढाकेर बन्द कोठा र एयर कन्डिसनमा काम गर्दा स्वास प्रस्वासमा समस्या आउन सक्छ। चिकित्सक वा स्वास्थ्यकर्मीलाई 'सफोकेसन' भएको अवस्थामा प्रयोग गर्ने 'रेस्पिरेटर' पीपीई सेटमा अत्यावश्यक सामाग्री हो। त्यस्तै हेयरिङ एड पनि चाहिन्छ।

पीपीईको सेटमा सामान्य मेडिकल मास्क प्रयोग गर्न नहुने बताउँछन्, जनस्वास्थ्य विज्ञ डाक्टर रवीन्द्र पाण्डे। उनका अनुसार एन ९५ मास्क पीपीई सेटमा अनिवार्य चाहिन्छ। मास्कसँगै सुरक्षित पन्जा र सुरक्षित सोलसहित बुट अत्यावश्यक पर्छ।

'पीपीईका सामाग्रीहरु त पूर्ण गुणस्तरीय हुनुपर्छ नै। त्यस्तै, सुरक्षित र प्राविधिक हिसाबले बलियो हुन आवश्यक छ सेट तयार पार्ने प्रक्रिया पनि,' उनले भने, 'यसका लागि गम्भीर अध्ययन, अनुसन्धान हुनुपर्छ।'

स्वभाविक रुपमा कोरोनाजस्तो महामारी फैलिएको अवस्थामा फ्रन्ट लाइनमा रहने चिकित्सकहरु गुणस्तरीय पीपीई बिना उत्रिन मिल्दैन। त्यसैले यसको गुणस्तरमाथि बहस सुरु भएको हो।

'मापदण्ड पूरा भए नभएको जाँच गर्ने गुणस्तर तथा नापतौल विभागले हो। तर, हाम्रोमा पीपीईको गुणस्तर जाँच गर्ने प्राविधिक, विज्ञ छैनन्,' डाक्टर पाण्डेले भने, 'त्यसैले नेपालमा बनेका पीपीईको नमूना विदेश पठाएर जाँच गर्नु वा नेपालमै विज्ञ ल्याएर देखाउनुको विकल्प छैन।'

उनका अनुसार कपडाको गुणस्तरदेखि सिलाइमा नै समस्या छ, नेपालमा। पीपीई सामान्य मेडिकल गाउन नभएको उल्लेख गर्दै जिल्ला जिल्लामा 'रेनकोट'का लागि प्रयोग हुने कपडाबाट पीपीई बनिरहेको बताए। 'यसले निकै ठूलो समस्या सिर्जना गर्नसक्छ,' उनले भने।

डाक्टर पाण्डे कोरोना संक्रमितका लागि विदेशबाट आयातित प्लान्टेड पीपीई नै प्रयोग गर्नुपर्ने सुझाव दिन्छन्।

'हाललाई कोरोना संक्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र आइसोलेसनमा राखिएकाहरुको वरपर रहनेलाई विदेशबाट आयातित प्लान्टेड पीपीई नै प्रयोग गर्नुपर्छ,' उनले भने।

आयातित पीपीईमा वारेन्टी र बीमासमेत हुन्छ जुन प्रयोग गरेका चिकित्सक वा स्वास्थ्यकर्मीलाई कुनै पनि किसिमको संक्रमण देखिएको खण्डमा उत्पादक जिम्मेवार ठहरिन्छ।

कुनै लुगा वा एप्रोन सिलाए जसरी सिलाइएका पीपीईमा मुख्य समस्या सियोले पार्ने प्वाल, फस्नरको छिद्र हुने गर्छ। यसबाट निकै साना भाइरसहरु सजिलै छिर्न सक्छन्। त्यसलै यसलाई बनाउन विशेष मेसिन चाहिन्छ।

'यस्तै प्राविधिक कमजोरी र त्रुटिहरुका कारण हो विश्व यस माहामारीको मारमा परेको। गुणस्तरहीन सुरक्षा सामग्रीले विरामी वा स्वास्थ्यकर्मीलाई मात्र होइन, एकपछि अर्को गर्दै धेरैलाई संक्रमित बनाउँछ,' उनले भने।

तत्काललाई नेपाल सरकारले विदेशबाट सक्दो पीपीई आयात गर्नुपर्ने उनको तर्क छ। वा, यतै उत्पादन गरिरहेका संस्थाले बायोमेडिकल इन्जिनियर, भाइरोलोजिस्टको तालिम र निरीक्षणमा पीपीई उत्पादन गर्नुपर्ने सुझाव उनको छ। 'प्राविधिक रुपमा बलियो नमूना बनेपछि बल्ल कुनै निकाय वा सरकारले स्वीकृति दिनुपर्छ,' उनले भने।

उनका अनुसार अमेरिका, चीन, बेलायत लगायतका देशले नेशनल इन्स्टिच्युट अफ अकुपेसनल हेल्थमार्फत् अनुसन्धान भएपछि मात्र पीपीई उत्पादनको स्वीकृति पाइन्छ।

नेपालमै तयार भएका पीपीई कति सुरक्षित?

नेपालमा पाटन अस्पतालले पीपीई उत्पादन गरिरहेको छ। त्यस्तै शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालले पनि यसको उत्पादन गरिरहेको छ। महावीर पुनले त्रिवि शिक्षण अस्पतालको अनुरोधमा यसको उत्पादन थालेका हुन। सेना र प्रहरीले पनि यसको उत्पादन थालेका छन्।

पाटन अस्पतालले कोरोना संक्रमितको उपचारका लागि विदेशबाट आयात गरिएकै पीपीई तयारी अवस्थामा राखेको छ भने त्यसबाहेकका चिकित्सक र स्वास्थ्यकर्मीलाई आफैँले उत्पादन गरेको पीपीई प्रयोग गर्न दिइरहेको छ। सुरक्षाका लागि त्यहाँ उत्पादित पीपीईमा तीनपटक स्टिचिङ गरिएको छ ता कि भाइरसको संक्रमण छिर्न नसकोस्।

शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालले आफ्ना चिकित्सकको सुरक्षा जोखिमलाई ध्यानमा राखेर उपकरणहरुको उत्पादन गरेको जनाएको छ। अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप सुरक्षा उपकरण उत्पादन गरिएको हो।

'हामी उच्च जोखिममा रहेर काम गरिरहेका छौं। यस्तोमा आफू र हाम्रा स्वास्थ्यकर्मीको सुरक्षाका लागि सक्दो संयमित र संवेदनशील बनेरमात्र उत्पादन थालेका हौं,' उनले भने।

यता राष्ट्रिय आविष्कार केन्द्रले पनि ट्यापिङ मेसिनको प्रयोग गरेर पीपीई तयार पारिरहेको छ। सीम सिलिङ मेसिन भनिने ट्यापिङ मेसिनले धागोले सिलाई गर्दा सियोले प्वाल पार्ने ठाउँलाई टाल्ने काम गर्छ। यसरी टालेपछि हावा र पानी छिर्न सक्दैन।

तर, केन्द्रसँग अहिले एउटामात्र यस्तो मेसिन रहेको पुनले जनाएका छन्। उनले फेसबुक पोस्टबाट आह्वान गरेका छन् - अहिले सिल गर्ने यो मेसिन एउटामात्र भएकाले अपुग भएको छ र काम ढिलो भइरहेको छ। यदि कसैसँग यस्तो मेसिन छ भने सहयोग गर्नुहोला। यस्तै अर्को मेसिन पनि पाइयो भने पीपीई बनाउने काम धेरै छिटो हुन्थ्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell