मैया परिनीको श्रीमान् प्यारालाइसिसबाट पीडित थिए दश वर्ष अघिदेखि। त्यसैले कमाएर घर चलाउनेदेखि उनको औषधोपचारसम्मको जिम्मा मैयाकै काँधमा आइलाग्यो।
मैया काठमाडौं महानगरपालिकाको जागिरे हुन्। उनको काम सडक सर- सफाई। कमाइ त हुन्थ्य्यो तर दुई छोराको पढाई, रासन पानी, महङ्गो औषधीलाई खर्च पुर्याउन धौधौ।
झन् केही वर्षयता मैयालाई दमको समस्याले गाँजेपछि श्रीमान, छोरा, घरधन्दा र कामलाई बराबर समय दिन सकिनन्। गाह्रो हुँदा काममा जान पनि सकिनन्। बिदा बसेको दिनको पैसा काटिन्थ्यो। त्यसैले कहिले काहीँ त शरीर लतारेरै सडक बडार्न पुगिन्।
आखिर बाँच्न त पर्यो नि!
५१ दिन अघि भने उनको श्रीमान् बिते। सोमवार ४५ दिनको संस्कार पूरा भयो। त्यही साँझ सुनिन् – भोलिदेखि देश पूरै बन्द। कोही पनि घरबाट बाहिर निस्कन पाइँदैन।
सोचेकी थिइन् – केही दिन आराम मिल्ने भयो। तर, लगत्तै अर्को खबर आयो – सरसफाईका लागि बिहान अनिवार्य निस्कनु पर्छ।
भोलिपल्ट बिहान झिसमिसै सधैंजस्तै काममा निस्किइन् उनी। श्रीमानको मृत्युको 'जुठो' बारिरहेकाले सेतो पहिरन नियमित बनेको छ। महानगरपालिकाले दिएको मास्क र पन्जा सेतो रङको नभएकै कारण लगाएकी थिइनन् उनले। नाक र मुख भने घप्लक्क पछ्यौराले छोपेकी थियन्। मुल सडकमा निस्किएपछि भने उनलाई डर लाग्यो। किनकि सडक सुनसान थियो। सधैं भिडभाड हुने ठाउँमा गाडी र मान्छेको चहलपहल थिएन।
'काम हो गर्दिन भन्न मिलेन। रोगबाट बच्न सबैजना घर बसेका छन्। आफू मात्र निस्किएको थाहा पाउँदा आत्तिएँ,' मैयाले लकडाउनको पहिलो दिनको अनुभव सुनाइन्।
उनले सफा गर्ने 'एरिया' जयबागेश्वरी मन्दिरदेखि मित्रपार्क पिपलबोटसम्म पर्छ। त्यहाँसम्म पुग्दा साथीहरु थपिए। उनको मनबाट थोरै भए पनि त्रास घट्यो। सरासर काम थालिन्। सडक सुनसान भएकाले कामको रफ्तार बढ्यो। सोचिन् – मान्छे नभएपछि त फोहोर पनि हुँदैन। भोलिदेखि झन् सहज हुने भयो।
'वर्षौदेखि यही सडकको धुँवाधुलो खाएर काम गरेँ। अहिले दमको समस्याले हम्मेहम्मे पारेको छ। एकछिनमै थाकिन्छ। गाह्रो हुन्छ। झन् बिरामी मान्छेलाई चाँडो समात्छ भन्छन्,' उनले भनिन्। र, फेरि जिज्ञासु बनिन् - 'साँच्चै हो त?'
काठमाडौंको सडकमा पहिलो पटक कुच्चो लगाउँदा उनी १५ वर्षकी थिइन्। शहरमा मानिस बढे। गाडी थपिए। फोहोर बढ्दै गयो शहरमा। सायद् धुँवा, धुलो केही कम हुन्थ्यो भने उनलाई दम आउने थिएन। आज रोगी मान्छेलाई कोरोना भाइरस संक्रमणको सम्भावना ज्यादा हुन्छ भन्ने डर बोक्नु पर्थेन।
लकडाउनका कारण छाएको शून्यता चाहिँ उनका लागि नयाँ अनुभव बन्यो।
'४० वर्ष भयो यस्तो शान्ति छाएको थिएन,' मैयाले भनिन्, 'शान्ति सडकमा त छ तर मनमा छैन नि। रोगले सबैलाई तर्साएको छ।'
सबै कोरोना भाइरस संक्रमणको त्रासमा रहँदा मैयाहरु भने हरेक बिहान सडकमा उत्रिएकै छन्।
उनकी साथी पञ्चरत्न देउला ५८ वर्षकी भइन्। २ वर्षपछि त सडक सफा गर्ने सेवाबाट अवकाश पाउँदैछिन्। त्यसैले उनलाई सारा शहर लकडाउन हुँदा पनि काममा खटिनु पर्ने बाध्यताप्रति गुनासो छैन। 'यही कामको लागि तलब दिने हो सरकारले। फेरि हामी नै सफा नगरी बिदामा बस्दा फोहोर बढ्ला। किटाणु फैलिएला,' देउलाले भनिन्।
उनको कुरामा सहमति जनाए शालिकराम पुडासैनीले। उनी पञ्चरत्नले सोहोरेको पात पतिङ्गर ठेलामा हाल्दै थिए। भने, 'माधव नेपाल प्रधानमन्त्री हुँदा भएको १९ दिने कर्फ्युमा (नोट: १९ दिन हड्ताल जुन बीचमै टुङ्गिएको थियो) पनि यस्तो शान्ति थिएन। फरक यत्ति हो त्यतिखेर आन्दोलनकारीको डर थियो अहिले कोरोनाको।'
डराएर बिदा लिँदा पैसा काटिन्छ। पैसा काटिए खाना जुट्दैन। यही सोचेर खटिएका छन् पुडासैनी पनि।
सुन्धारादेखि भद्रकालीसम्मको सडक पेटी सफा गर्ने जिम्मेवारी पाएकी सुनिता देउला भने अप्ठ्यारोमा जिम्मेवारीबाट भाग्न नहुने तर्क गर्छिन्। भन्छिन्, 'हामीले सफा नगरे कसले गर्छ? सफा भएन भने माहामारी फैलिन्छ।'
लकडाउनका कारण आफूहरुको काम केही सहज भएको बताउँछिन् उनी। अन्य समय साढे आठ बजेदेखि नौ बजेसम्म काम हुन्थ्यो। त्यसपछि महानगरपालिकाले नै अन्य क्षेत्रमा लगेर सर सफाइ वा घाँस उखल्ने काममा लगाउने बताउँछिन् कालधाराकी रेश्मा देउला।
'अहिले बिहानको मात्र काम छ। दिउँसो आराम,' उनले भनिन्।
नगरपालिकाले सर सफाइमा खटिने यी कामदारहरलाई आवश्यक मास्क, पन्जा, स्यानिटाइजर आदि उपलब्ध गराएको छ।
'सावधानी अपनाउने हो। ३२ वर्षदेखि यहीँको फोहोरको थुप्रोमा खटिएका छौं। अप्ठ्यारो परेपछि सरकारले नै नआउन भन्ला नि,' शहीद गेटमा सफा गरिरहेका पवन नेपालीले भने।