PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

झापाको मेचीनगरमा सुरु भयो 'फुड बैंक': कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्, 'चुनौति सामना गर्ने सहकार्य'



झापाको मेचीनगरमा सुरु भयो 'फुड बैंक':  कांग्रेस प्रवक्ता विश्वप्रकाश भन्छन्, 'चुनौति सामना गर्ने सहकार्य'
फोटो : रेडियो साथी

काठमाडौं : झापाको मेचीनगरमा आजबाट 'फुड बैंक' शुरु भएको छ।

सोमवार बिहान कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे ट्वीट्मार्फत जानकारी दिएका हुन्। शर्माले ट्वीट गर्दै भनेका छन्,'फुड बैंक घोषणा गर्दै जुट्यौं मेचीनगरमा, भूकम्पको बेला बनाएको `मेची अभियान´ ब्युँताउँदै। विगतमाझैं सबै दल र संघसंस्था यो अभियानमा एक साथ उभिएका छौं। जान्दछौं पहिले देशका हौं हामी अनि दलका। आउनोस् कोरोना सृजित सबै प्रकृतिका चुनौती सामना गर्न यस्तै सहकार्यलाई देशब्यापी बनाऔं!'

मेचीनगरमा शुरु भएको फुड बैंक दैनिक ज्यालादारी गर्ने श्रमिकको हितमा शुरु भएको अभियान भएको उनले बताए।

भूकम्पको बेला पनि मेचीनगर अभियान सहयोगमा जुटेको उनको भनाई थियो।

अभियानमा मेचीनगरका सम्पूर्ण राजनीतिक दलका नेताहरु र स्थानीय संघसंस्थाको संलग्नता रहेका छन्। अभियानमा मेचीनगरका नगर सभापति इन्द्र बुढाथोकी, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, राप्रपाका नगर अध्यक्ष सुशील आचार्यदेखि संघीय समाजवादीका नगर अध्यक्ष ओमप्रसाद खापुङसमेत रहेका छन्। त्यसैगरी फुड बैंक अभियानमा उक्त क्षेत्रका विभिन्न राजनीतिक नेताहरु पनि संलग्न रहेका छन्।

मेचीनगर अभियानले भूकम्पको समयमा पनि दलगत स्वार्थभन्दा माथि उठेर काम गरेको उल्लेख गर्दै शर्माले यसपटक पनि सहयोगी अभियान शुरु भएको बताए।

अभियान सानो प्रयास भएको शर्माको भनाई थियो। 'हामीले सानो रकमबाट शुरु गरेका हौं,' उनले भने, 'श्रमिक र ज्यालादरीमा काम गर्नेहरु जसको घरमा खाद्यन्न अभाव छ। उनीहरुको घरघरमै खाद्यन्न पुर्‍याउने उद्देश्य हो।'

अभियानका संयोजक वाणिज्य संघ मेचीनगरका पूर्वअध्यक्ष विजय डालमिया हुन्।

कोरोना भाइरस नियन्त्रणका लागि सरकार लकडाउन गरेकाले काम गर्न नपाएका विपन्न तथा दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुले बिहान बेलुका छाक टार्न नपाउने अवस्था आएकाले उनीहरुको जीवनरक्षाका लागि पनि फुड बैंक स्थापना गरेको अभियानले जनाएको छ।

विपदको बेला अत्यावश्यक खाद्य सामाग्री संकलन गरी भण्डारण गरिने र त्यसलाई नगरपालिकाको ब्यवस्थापनमा एकद्वार प्रणालीबाट वितरण गर्ने योजना अभियानको रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell