PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जुम्लाले सार्वजनिक गर्‍यो विदेशबाट आएका नेपालीको संख्या, ३ जना आइसोलेसनमा



जुम्लाले सार्वजनिक गर्‍यो विदेशबाट आएका नेपालीको संख्या, ३ जना आइसोलेसनमा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय जुम्लाले भारत र अन्य मुलुकबाट आएकाहरुको तथ्यांक सार्वजनिक गरेको छ। चैत १ देखि १७ गते दिउँसो ४ बजेसम्म जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकामा आएका नेपाली नागरिकहरुको सूची सार्वजनिक गरिएको हो।

जिल्ला प्रशासनका अनुसार भारतबाट ३ सय ७१ जना फर्किएका छन् भने अन्य मुलुकबाट १३ जना जुम्ला भित्रिएका छन्। उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य बताइएको छ।

भारतबाट आउनेहरुका लागि मात्र जुम्लाका विभिन्न गाउँपालिकाले क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ। अन्य मुलुकबाट आउने सबै होम क्वारेन्टाइनमा बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए।

देवकोटाका अनुसार हालको अवस्थामा क्वारेन्टाइनमा बस्ने हिमा गाउँपालिकामा २९ जना, पातारासी गाउँपालिकामा ९ जना र तातोपानीमा दुईजना रहेका छन्। त्यस्तै तिला गाउँपालिकामा १० जना छन्। उनीहरु १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा रहनेछन्।

त्यस्तै जुम्लाबाट आजैमात्र तीन जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको देवकोटाले जानकारी दिए। कोरोना भाइरसको लक्षण देखिएका तीन जनाको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उच्च ज्वरो देखिएको थियो।

‘उहाँहरुको नमुना संकलन गरी एम्बुलेन्समा आजै नेपालगञ्ज पठाइसकेको हुँदा एम्बुलेन्स भोलि बिहान नेपालगञ्ज पुग्नेछ र त्यहीँबाट प्लेनमा काठमाडौं लगिनेछ,’ देवकोटाले भने।

भारतबाट आएका तीनैजना हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत् छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell