काठमाडौं : मानिसहरुको चर्को भिड र चहलपहल हुने ठाउँमा एकाएक सुनसान हुन थाल्यो। वसन्तपुर आसपासको क्षेत्र परेवाहरुको राम्रो बासस्थान। मानिसको चहलपहल कम हुँदै गएपछि निर्धक्क सडकमै देखिएन थाले परेवा। तर, लकडाउनको प्रभाव मानिसमा जस्तै यिनमा पनि पर्न थाल्यो।
लकडाउनसँगै मानिसको भिड हरायो, मोटरको आवाज पनि सुन्न परेन। चारा खाइराख्दा कुदेर हुलमा छिर्नेहरुसँग डराउने अवस्था पनि हट्यो। तर, बचेकुचेका चारा चाहिँ सकियो। चारा बेच्ने मानिस पनि आउन छाडे अनि चारा दिनेहरु पनि। यी चराहरु संकटमा होलान्!
यस्तैयस्तै तर्कनाहरु खेलिरहे रुपक दर्शनधारीको मनमा। उनीसँगै लुट्पुटेर निदाइरहेका दुई कुकुरमा पालैपालो आँखा डुलाए। एकछिन अघि मासु, भात पकाएर दिएका थिए तीनलाई। पेट पुटुस्स निस्किएका थिए। तर, सडकमा कति कुकुर अलपत्र परे होलान् जो हरेक दिन खानाका लागि रुपकको बाटो हेर्छन्?
अनि कसरी भोक सहेका होलान् ती कुकुरले जो आम मानिसले खाएर फालेको, दयाले दिएको, होटल/रेस्टुरेन्टबाट मिल्किएका खानेकुरा खाएर बाँचिरहेका थिए?
एकएक गरी प्रश्न खेलिरहे उनका मनमा।
रुपक ती मानिस हुन् जो जनावरलाई औधी प्रेम गर्छन्। उनको जीवनमा जनावर र चराचुरुङ्गी सबैभन्दा नजिक छन्। हरेक बिहान कागलाई मासु अनि परेवालाई चारा दिएर सुरु हुन्छ उनको। दिउँसो न्युरोड, बसपार्क, रत्नपार्क, नारायणहिटी आसपास भेटिने कुकुरलाई बिस्कुट र मासु खुवाउँदै लखरलखर हिँड्छन्। अनि रात परेपछि सडकमा छाडिएका गाई र मन्दिरमा चढाइएका बोकाहरूको पालो।
यिनलाई खुवाउनका लागि पैसाको जोहो आफैँ गर्छन्। वसन्तपुरको एउटा कुनामा पसल चलाउँछन्। मोबाइल फोनका कभर, इयरफोन, चार्जर, डाटा केबल आदि बेच्छन्। त्यहीँको आम्दानीले नै हो जनावरको पेट भर्ने मेलो जोर्ने।
लकडाउनले मनिसको गतिविधि बन्द भएपछि कुकुर र चराहरुको हालत सहन सकेनन्। अनि घोषित लकडाउनले रुपकलाई बाँधी राख्न सकेन। अघिल्लो दिन किनेर राखेको कुखुराका खुट्टा र टाउकोको झोला पोको पारे। एउटा कपडाको झोलामा केही गिलास चामल हाले। थिनआरारोट बिस्कुटको एउटा प्याकेट थियो, त्यो पनि बोके।
धोएर राखेको कपडाको मास्क लगाए र निस्किए वसन्तपुर दरबार परिसरतर्फ।
त्यहाँ खटिएका प्रहरीसँग खुवाउन निस्कने अनुमति मागे। पाए पनि। त्यसपछि आह… आह… आह… भन्दै चारा छर्न थाले। परेवाहरु कुनकुन कुनाबाट भुर्र उड्दै आए पत्तो पाएनन्।
‘मनमा शान्ति भयो। निकै गुम्सिएको थिएँ म। ती उडेर आउँदा म आफै उडेको महसुस भयो,’ रुपकले सुनाए।
उनलाई देखेपछि भोकले कुना पसेका कुकुरहरु पनि एकएक गर्दै बाहिर निस्किए। अनि उनको झोलातिर झुम्मिन थाले। तिनैलाई खुवाउँदै अघि बढ्दै गए, न्यूरोडतर्फ। बाटोमा निदाइरहेका कुकुरहरु उनी आएको चाल पाउनासाथ जुरुक्क उठे, केहीलाई उनैले उठाए र खुवाए।
नेपाल वायुसेवा निगमको कार्यालय नजिकै पुगेका थिए उनी। एक ट्राफिक प्रहरीले बोलाए। रुपक सरासर उनको छेउमा गए। उनलाई थाहा थियो, लकडाउनको उल्लङ्घन किन गरेको? भन्ने प्रश्न सोझिन्छ भन्ने। जवाफ थियो उनीसँग – प्रहरीको अनुमति लिएरै निस्किएको हुँ। जनावरलाई खुवाउन।
ती प्रहरीले चाहिँ रुपकको जवाफलाई छुट दिएनन्। ‘रुखो वचन लगाए। फर्कन निर्देशन दिए। अपमानित महसुस भयो। त्यहाँबाट हस् भनेर आफ्नो बाटो लागेँ,’ उनले भने।
रुपकको मन किन मान्थ्यो र?
बाटोमा भेटिएका, देखिएका कुकुर, गाई सबैलाई खुवाउँदै कोठा फर्किए।
बाँकी खानेकुरा पोको पारे। अनि एक पटक लामो सास फेरे। सुगरको समस्या छ उनलाई। प्रेसरको पनि। केहीबेर हिँडेर फर्कँदा थाकेको महसुस गरे। पल्टिएर सिलिङतर्फ हेर्दा ती ट्राफिक प्रहरीको अनुहार सम्झिए जसले उनलाई वचनवाण लगाएका थिए। अनि रुपकका वरपर झुम्मिएका कुकुरहरुलाई लखेटेका थिए।
‘मान्छे आफू बच्नका लागि घरभित्र थुनिएर संघर्ष गरिरहेका छन्। तर उ आफूजस्तै अन्य प्राणीको बारेमा किन सोच्दैन होला?,’ उनी निकै गम्भीर सुनिए, 'सामान्य अवस्थामा त ती कुकुरहरुले पनि जसोतसो पेट पाल्छन्। तर बन्द सटर, सुनसान सडक यस्तोमा के गरुन्?’
उनलाई लाग्छ कुकुरहरु दैनिक उनको बाटो हेर्छन्।
त्यसैले उनी लकडाउनको दोस्रो दिनदेखि नै कुकुर, परेवा लगायतलाई खुवाउन निस्किए। आफ्नो सुरक्षाका लागि मास्क लगाए। कुनै उदार हृदय भएका मानिसले स्यानिटाइजर पनि दिएका छन् उनलाई। त्यो पनि बोक्छन्। मानिसहरु ननिस्किएकाले कतै भिडसँग ठोक्किन पर्दैन।
लकडाउनको चौथो दिनसम्म उनीसँग केही रकम थियो। दैनिक आवश्य मासु, कुखुराको टाउको र खुट्टा आदि पकाएरै कुकुर खुवाउदै हिँडे। चामल पनि थियो। परेवालाई खुवाउन पाए। तर, अब उनलाई थाहा छैन बाँकी सीमित पैसा, केही पोका बिस्कुट र चामलले कति दिन पुग्छ? उनलाई यो पनि थाहा छैन लकडाउन कतिन्जेल लम्बिन्छ। लकडाउनकै कारण उनले सामान बेच्न पाएका छैनन्। सामान नबेचेपछि पैसा कहाँबाट हुनु?
‘यी जनावर मेरा साथी हुन्। यी भोकै पर्दा मलाई खाना रुच्दैन। तर अब म नै रित्तो हुँदैछु,’ उनी एकछिन मौन रहे र बोले,'तर म निश्चिन्त छु। मैले नसके अरु कसैले गर्छ। पक्कै गर्छ। किनकि यो माहामारीले मान्छेलाई बुझाएको छ प्राण रहनुको अर्थ।'
उनले भने झै हामीले उनलाई भेटेकै दिन, एक हुल युवा सडकमा मास्कसहित उत्रिएको थियो। उनी वसन्तुपरमा थकाइ मार्न बेन्चमा बसिरहेक थिए, ती युवकहरु पकाएको भात कागजको प्लेटमा हालेर कुकुर खोज्दै हिँडिरहेका थिए। परेवाको वथान खोज्दै चामल छर्दै थिए।
कुकुर परेवाको बेहाल वसन्तुपरमा मात्र भएक होइन, सबैतिर उस्तै संकट। त्यसैले पछिल्लो समय कुकुरले खेद्ने र टोक्ने क्रम बढेको छ। भोक लाग्यो भन्ने जनाउ दिन कुकुरले अरु के नै गर्न सक्छ र? त्यसैले काठमाडौं महानगरपालिकाले आफ्ना हरेक वडालाई कुकुर र चराहरुलाई गाँसको प्रवन्ध मिलाउन निर्देशन दिइसकेको छ। त्यसैले रुपकलाई थप निश्चित बनाएको छ - अब भोककै कारण यिनीहरुको प्राण नजाला।